संरक्षित क्षेत्रमा वृक्षारोपण

सुर्खेत : काँक्रेविहार संरक्षित क्षेत्रमा वृक्षारोपण गरिएको छ । शनिवार काँक्रेविहार संरक्षण समूहको आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

काँक्रेविहारमा विभिन्न प्रजातिका करिब पाँच सय बिरुवाहरू लगाइएको छ । संरक्षण समूहकी अध्यक्ष तारा रास्कोटीका अनुसार जंगल मासिने क्रम बढेपछि काँक्रेविहारलाई संरक्षण गर्न र हराभरा राख्नको लागि वृक्षारोपण गरिएको हो । यहाँ केही दिन पहिले टिमुर र सुपर नेपियर घाँसका बिरुवा पनि रोपिएको थियो ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुरेश मानन्धरले वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै काँक्रेविहार जंगल वरिपरि पर्खाल लगाउने तयारी भएको जानकारी दिए । ‘पछिल्लो समय काँक्रेविहारको जंगल र जीवजन्तु मासिने क्रम बढेको छ,’ उनले भने ‘काँक्रेविहारमा रहेका वन्यजन्तुहरूलाई पर्खाल लगाइएपछि सुरक्षित हुने र चरिचरणका लागि पनि राम्रो हुनेछ ।’ मानन्धरले सबै संघ–संस्था तथा व्यक्तिहरूलाई काँक्रेविहारको खाली क्षेत्रमा वृक्षारोपण गर्न आग्रह समेत गरे । कार्यक्रममा लाटीकोइलीका स्थानीय युवा तथा संरक्षण समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । काँक्रेविहार संरक्षित क्षेत्र पुरातात्विक, धार्मिक, ऐतिहासिक र पर्यटनको महत्व बोकेको स्थल हो ।

प्रकाशित मितिः   १८ श्रावण २०७७, आईतवार ०६:०१