गाइज

पहिरोमुनीको भविष्य

महेश नेपाली

‘हलो तँ ठीक छस् नि ? यसपालीको बर्खा उखापात भयो । हुन त कुन चाहिँ बर्खा पो नेपालका लागि शान्त बनेको होला र ? मलाई पहाडको औधि चिन्ता लागेर आउँछ । दिदीको हाल खबर के छ ?’ मलाई रातभरी निद्रा नै लागेन हेर न ?’

रहिनाको चिन्तित आवाज आइतेको फोनमा मसिनो गरी आइपुग्यो ।

‘कालिकोटको दुःखद् समाचार पढिस् कि क्या हो ? सेन्टी दिइराछेस् त ! अब तराईको हालत पनि उही त हो नि, डुबानमा परेर । कुन दिन सीमानाका बाँध फेरि फुट्छन् र बिचल्ली हुने हो । डर सबैतिर एकैनासको छ यार ।’

‘I’m serious । मलाई अहिले तिमीहरूको चिन्ता लागिरहेछ । समाचार कालिकोटको मात्रै कहाँ हो र देशैभरीको आइरहेको छ । पहाड जोखिममा छ । पहाडका मान्छेहरू अकालमै मृत्युवरण गरिरहेका छन् । तराईको हालत पनि उही हो थाहा छ । तर अहिले पहाडी इलाकामै क्षति बढी भइरहेको छ ।
कलेजको सिनियर ब्याजको बिदाइ कार्यक्रममा तैले एउटा गीत गाएको थिइस नि ! के रे त्यो गीत ? कस्तो नआएको । त्यो ‘नआयै बाढीअ’ भन्नेवाला के थियो नि ।’
‘एए त्यो गीत …?’

‘अँ–अँ त्यही भन त एक छिन ।’

‘हिउँदमास चिसो हुन्छ, एकसारो राडीअ ।

घर मेरो पहाडको छेउमा, नआयै बाडीअ ।।’

‘Yes ! यही गीत त हो नि । हेर त डर बोकेको यो गीतले । नभन्दै बर्खामा तनाव सुरु भइसक्यो । यसो गरौं न आइते । तँ जुम स्टार्स गर्दै गर । लिङ्क हामीलाई पठाउने बेलासम्म म सबैलाई फोन गरेर आउन भन्छु । सबैको बोली सुन्न नपाएको पनि दुई हप्तै भइसक्यो । अस्ति तेरो सपनाले समय खायो ।’

‘ओके ओके’

रहिनाले फोन लगाउँछे उताबाट एउटी केटी रिप्लाई दिरहिछ, ‘हाल लकडाउन खुले पनि कोरोनाका जोखिम….।’

यै बेला रहिना सोच्छे ‘अब यो कोरोनाको बढी भइसक्यो । बरु पहाडमा जोखिम छ । तराई डुबानमा पर्न सक्छ वा अरु यस्तै खालका रिप्लाई गरे पनि हुन्थ्यो नि ।’
उसले एक सासमा सबैलाई फोन गर्न भ्याई ।

‘हाई आइते ।’ बक्राम, महाशंकर, झुमाको रिमिक्स टोन सुनिन्छ ।

‘हेलो गाइज ! के छ नि तिमीहरू सबैको खबर ?’

‘म र आइते त के को हाइ हलो गर्नु र है ।’

‘किन भेटिस क्या हो आइतेलाई ।’

‘होइन भर्खर फोन गरेकी थिइ, जुम मिटिङ गरौं भनेर ।’

‘मलाई तिमीहरू तीन जनाको चिन्ता लाग्यो । पहाडमा पहिरो आएको आयै छ । तिमीहरू सबै उतै छौं । फेसबुकमा विभत्स तस्विरहरू देखिन थालेका छन् । त्यसमा तिमीहरू कोही पर्‍यौ कि भनेर आङ सिरिङ्ग हुन्छ । अब त फेसबुक चलाउन पनि डर लाग्न थालिसक्यो । कतिसम्म हेर्न सकिन्छ र यस्ता तस्बिर ?’

‘ओ ओ ! कुरा यस्तो ? तँलाई हाम्रो चिन्ता पनि लाग्ने रहेछ है । भनेपछि माया गरिरहेकी छेस् ?’

‘चुप लाग टुप्पी । यहाँ देश रोइराछ तँ मजाक गरिराछस् है । हुनत यी बाहुनहरू कहिले पो सिरियस भए र ? मान्छे मरेको बेला पनि देलान र खाउँला भनेर कुरी बसेका हुन्छन् । सत्ताको सबैतिर यिनीहरूकै हाडखोड छन् ।

गाउँमा जुनसुकै जातमा मान्छे भए पनि उनीहरूको मगजमा यिनीहरूको कानेगुजी भरिएर बसेको छ । विकासको नाममा माटो मासेका छन्, आमाको छाती चिरेसरी । अनि हरेक वर्ष बर्खा लागेसँगै बाढी आउँछ मान्छे मर्छन् । तँ काट्ठो काट्टो खालास् । किन सिरियस हुनुप¥यो र है ?’

‘महाशंकरलाई तँ जहिले टोक्छेस् यार । यसको स्वभावै यस्तै त हो नि । तँ सँग ठट्टा नगरी यसलाई खाएकै पच्दैन ।’ बक्राम ।

‘म यसलाई कति पटक भनुँ ? मलाई बाहुन भनेर नपेल भनेर । द्वन्द्वकालमा माओवादीले शरीरमा मुसो दले भन्दा बढी पीडा हुने गरी शब्दले पेल्छे । कहिलेकाहीँ त लाग्छ यो सँगको सङ्गतै छोडिदिउँ ।

मेरो पछाडिजात झुण्डिएको मात्र त हो नि बाँकी मसँग बाहुन हुँ भन्नलाई के नै छ र ? मैले जनै त्यागिदिएको छुँ । अब मसँग अवशेष के नै छ र ? सत्तासँग मेरो साइनो नै के छ र ? जति यसको आवेग सत्तासँग छ उति मेरो पनि छ । दिदी सम्झाउनु न यसलाई । कुन दिन यसले मेरो रगत चुसेर सकाउँछे ।’

अघिसम्म मौन ब्रत बसेकी झुमा बोली, ‘गर गर तिमीहरूको झगडा भएन भने पनि कोरोना र बाढी पहिरोको कुरा सुन्दा सुन्दा पाकेको कान सञ्चो हुँदैन । रहिनाको चिन्ता जायज छ । महाशंकरले यति गरेन भने मज्जा पनि आएन नि । कस्सो आइते ?’

‘हो नि दिदी ।’

‘दिदी हुनुहुन्छ र यी ३६ हरूलाई ६३ बनाइदिनुहुन्छ ।’ बक्राम बोल्छ ।

‘बाजे गल्ती आफै गरिबक्सन्छ अनि आफ्नो हात माथि पार्न खोजिसिन्छ ।’

‘सरी यार । अब तँसँग ठट्ठा गर्दिन ।’

‘हाय ! हाय !! बाजे भयो भयो, एक दिन मात्र बित्न दिउँ हजुरको इगो कति टिक्दो रहेछ हेरौंला ।’

‘ल ल भयो–भयो तिमीहरूका कुरा सकाउ । बरु यसो गरौंन, आज हामी यही विषयमा छलफल गरौं न ।’

‘हुन्छ’ सबैजनाको एक स्वर ।

‘ल आज महाशंकर नै भन न । तिमी यतिबेला फेसबुकमा कालिकोटबारे लेखिरहेका छौं । त्यहाँको केही अपडेट गराउ । त्यो एउटा नानीको डायरीको कुरा पनि लेखिरहेका थियौ । के हो सबै भन् न । बाँकी अरु साथीहरूले पनि छलफलमा भाग लिउ है, आज ।’

झुमाले यति भनेपछि सबै चुप लागे । आइते थोरै बोल्न थाल्छ ।

‘पहिरोले सबैभन्दा बढी क्षति गरेको ठाउँ नरहरिनाथ गाउँपालिकाको बागा हो । जहाँ एकै परिवारका सात जानको ज्यान गयो । वडा नं. ४ मा पनि क्षति भएको छ त्यहाँ एकै घरको दुई जनाको ज्यान गयो । धेरै कुरा मलाई पनि थाहा छैन । त्यहाँको एकजना साथीसँग कुरा भएको थियो । उसले मलाई सात जनाको परिवारकी नातिनी चन्द्रिका बुढाको डायरी बारे भनेको थियो ।

उनी १० वर्षकी भइन ४ कक्षामा पढिरहेकी । साथीले उनले कापीमा लेखेको भविष्यको योजनाबारे सुनाएको थियो ।’

‘के थियो डायरीमा ? तैंले थाहा पाइँस ? छ भने भन न प्लिज ।’ रहिना हतारिन्छ ।

‘कति हतार गरेको म भन्दैछु छ त ।’

‘घर पुरै बगाएकोले त्यहाँ बचेको केही थिएन । लास सबै हिलोमा डुबेका थिए । सामान सबै हिलाम्मे । त्यही बीच एउटा झोला भेटियो । आधा आधी भिजेको झोलामा नबुझिने अक्षरमा थियो रे, चन्द्रिकाको डायरी । साथीले भने अनुसार त्यसमा केही कविता थिए । केही उनका टिपोटहरू थिए ।’

‘भनेपछि चन्द्रिका साहित्यमा रुचि राख्ने थिइन् ।’ बक्राम ।

‘पढ्न दे न डायरीमा के छ ?’ ठूला आँखा बनाउँदै बक्रामलाई हप्काउँछे ।

‘अँ ! धेरै कुरा नबुझिने भए पनि उनको भविष्यको योजना लेखिएको पाना सफा थियो । त्यसमा यस्तो लेखिएको थियो ।

आज म सानी छु । सानो मान्छेलाई सबैले माया गर्छन् । तर पाइला पाइलामा काम बिगार्ने हुनाले हामीले कहिले गालीत कतिबेला चुटाइ पनि खान्छौं ।

मिसले भन्नुभएको बालबालिकाले धेरै पिटाइ खान थाले भने उनलको दिमागमा असर पर्छ र मनमा डर पनि पस्छ । जसले उनीहरूको सिकाइमा नराम्रो असर पर्छ । बेलाबेलामा काँप्ने, सपनामा पनि बर्बराउने हुन्छ रे । त्यसैले बालबालिकालाई सिक्ने वातावरण घरदेखि स्कुलसम्म सबै ठाउँमा उस्तै हुनुपर्छ ।

मेरो कक्षाका सबै साथीहरूको इच्छा पाइलट, डाक्टर, इन्जिनियर बन्ने छ । तर हामी सबै साथीहरू गरिब परिवारका छौं । हामीलाई गणित पढाउने सरले भन्नुभएको डाक्टर, इन्जिनियर पढ्न धेरै पैसा लाग्छ रे । तर हामी कसैको घरमा पनि त्यतिका पैसा छैन ।

यो सुनेपछि मलाई, लाग्यो हाम्रा साथीहरूको दिमागमा असर पोर्न चक्र सुरु भइसकोको छ । पैसा नहुने हामी गरिबका छोराछोरी सुरुदेखि नै बिग्रन लागेका छौं । हाम्रो भविष्य सुरुदेखि नै बिग्रने रहेछ ।

यी कुरा थाहा पाएदेखि मलाई लाग्न थालेको छ । म ठूली भए भने धेरै पढेर गरिबहरूको विषयमा लेख्नेछु । बच्चैदेखि हाम्रो मानसिकता बिग्रन नदिने गरी लेख्नेछु ।
हाम्रो नेपाली सरले भन्नु भएको राम्रो लेख्यो भने समाज बदल्न सकिन्छ रे । म समाज बदल्ने गरी लेख्नेछु । रुचि हुने र पढ्न जान्नेले पैसा नहुँदा पनि पढ्न पाउनुपर्छ भन्ने विषयमा लेख्छु ।

म लेखक बन्नलाई हर कोसिस गर्नेछु ।

मलाई साथीले यसको फोटो पठाएको थियो ।’

‘चन्द्रिकाको सफा काजगमा लेखिएको उज्यालो भविष्य पहिरोले पुरेछ । यसरी हरेक वर्ष भविष्य पुरिने र बग्ने, डुब्ने भइरहेको छ ।’ झुमाले लामो सास तान्छे ।
‘मलाई बहुत बेचैनी भइरहेको छ । म केही बोल्न सक्दिनँ ।’ रहिना ।

‘मलाई त लाग्छ भविष्य बगाउने काम सरकारले गरिहेको छ ।’ बक्रामको राय ।

‘कसरी ?’ महाशंकरको प्रश्न ।

‘आज गाउँ–गाउँमा सिंहदरबार भन्ने नारा लागेको छ । ती दरबारमा सिंहजस्ता शासकहरू बसेका छन् । उनीहरूको विकासको मूल एजेण्डा भनेकै सडक खन्ने हो । जंगल–गंजलसम्म जोडर हालेर कमिशन खानु हो । एक त खन्ने बित्तिकै त्यसमा पानी पर्दा माटो बगेर जाने सम्भावना रहन्छ भने डोजर जस्तो जमिनलाई बढी भाइब्रेट गराउने साधन प्रयोग गरेपछि बाढी पहिरो आउँछ नै । अहिले सबैभन्दा बढी बाढी पहिरो जोखिम नयाँ सडक खनिएको ठाउँमा छ ।

योगी नरहरिनाथको गाउँमा पुस्तकालय खोल्नुपर्नेमा सडक खनेपछि एक चन्द्रिका मात्रै होइन लाखौं चन्द्रिकाहरूको भविष्य पूरिने नै भयो । आज चन्द्रिकाहरूको भविष्य पुरिनु भोलिका योगी नरहरिनाथहरू पुरिनु हो । कर्णालीले पर्याप्त मात्रामा प्रतिभा जन्माउन नसक्नुको कारण यो पनि एक हुनेछ ।’

‘तिमीले क्या घतलाग्दो कुरा ग¥यौ बक्राम । हाम्रो विकासका खतरा यही नै हो ।’ आइते बोल्छ ।

‘हो नि यो विषयमा त मैले सोचेकै रहेनछु ।’ महाशंकर ।

‘मलाई प्यारी चन्द्रिकाको खुब याद आइरहेको छ दिदी । मैले तपाईंहरूको मात्र चिन्ता गरेकी थिए । तर भविष्य नै गायव भएको रहेछ । जबसम्म विकासको नाममा स्थानीय सिंहहरूको बोलवाला चलिरहन्छ तबसम्म यस्तो भइरहन्छ ।’ रहिनाको आवेग पोखिन्छ ।

‘आज सबैले सक्रियता देखायौं । बक्रामको कुराले मलाई छोयो । योगी नरहरिनाथको गाउँले दुनियाँलाई के सिकाउनु पथ्र्यो त्यही कुरा भुलेपछि यस्ता घटनाहरू दोहोरिरहन्छन् । त्यहाँको पहिरोको कारण भलै डोजर हालेर रोड खन्नु नहोला तर जोखिम त हिजोदेखि नै थियो । यही विषयमा सोच्न नसक्नु नै ठूलो भूल भयो ।’
‘दिदी समय सकियो । के गरौ ?’ होष्टको आवाज ।

‘अब बिदा हुने नि ब्रो !’ बाँकी सबैको बोली ।

नोट ः चन्द्रिकाको डायरी काल्पनिक हो ।

प्रकाशित मितिः   १७ श्रावण २०७७, शनिबार ०६:०५