अनुभूति

यात्राका सकस ‘गाडी–घोडा’

लक्ष्मीप्रसाद पौडेल (अनुरागी)

यात्राहरू अक्सर अविस्मरणीय हुन्छन् । कुनै सकसकै कारण त कुनै रमाइलो अनुभूतिले । जो चाहेर पनि भुल्न नसकिने । यात्रा हरेकका लागि गजबको अनुभूति पनि हो । यात्राको स्वाद उसैले पाउँछ, जसले खुट्टा थाक्दा र शरीर दुख्दा पनि उमङ्गको अनुभव गरेको होस् ।

यो पंक्तिकार पनि ‘हल्का’ स्वाद पाउनेमध्येको मात्र हो, यात्राको । उसले हातखुट्टा लागेदेखि हजारौं यात्रा तय ग¥यो । कति पूरा भए । कति अधुरै पनि रहे । केही यात्रा अनवरत चलिरहेकै छन्, जिन्दगीको राजमार्गमा उत्साहका साथ । फेरि, खुट्टा थाक्यो भन्दैमा यात्रा पूरा भइहाल्ने पनि त होइन् । पुग्न बाँकी ठाउँ, हेर्न लायक दृश्य र भेट्नुपर्ने प्रियहरू पनि त धेरै छन् ।

के–कसो छ, पुगुँ । देखुँ । अनि भेटुँ । यही चक्करमा कहिले सहरको पिर हेर्न यात्रा सुरु हुन्छ कहिले गाउँका भीर देख्न ।

उसो त म ‘यात्री’ हुनुपर्ने हो ‘अनुरागी’ किन भए ? तपाईं पाठकलाई यसखालको जिज्ञासा हुनु स्वाभाविक नै हो ।

त्यो मेटाउने दिन पनि जरुर जुरीजाला । र, लेखुँला ‘अनि म अनुरागी भए …।’ नाममा के छ ? यस बाटोबाट यात्रा गर्ने दुस्साहस आज म गर्दिन । त्यो ल्याकत पनि त राख्दिन । नामका पछाडि अनुरागी पिछा गरेको छ । यसबारे एक दिन पाठकले पढ्न पाउने गरी प्रष्ट्याउने नै छुँ । अहिले यहाँलाई यता अल्मल्याउनु छैन । बस् म यो पटक बसका कुरा गर्नेछु । जीपको कहानी सुनाउने छु । हिँडाइ र भोगाइका अनुभूति मात्र साट्नेछु ।

मैले सुरुवातमै भनें, यात्राका दौरान भोगिने क्षणहरू चाहेर पनि बिर्सन लायक हुँदैनन् । कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बस्छु । तै पनि यसले मलाई आफ्नो कहिल्यै भन्दैन । बेला–बेला गाउँ नजाउँ उसले पनि बिर्सेला ! म यही चिन्ताले जन्मे हुर्केको थातथलोमा टेकिरहन्छु ।

दैलेखको पश्चिम इलाका । जहाँ मेरो स्थायी घर छ । मन न हो, वीरेन्द्रनगरबाट पटक–पटक घर जाउँ–जाउँ लागिरहन्छ । परिवार, बाल्यकालका साथीभाइ, आफन्तजन र तीनैले खोर्सेर गुजरा चलाउने पाँखोबारी अनि डाँडापाखाहरूमा रमाउन मन लाग्ने । तर, जानलाई गाडीघोडाको यात्राले सकस पार्ने । करिब ३–४ वर्ष पहिले चामुण्डादेखि चार घण्टा पैदल हिँड्यो भने दुल्लू डाँडीमाडीमा बस भेटाउन पुगिन्थ्यो । बसमा उठेरै वा छतमा बसेर भए पनि यात्रा सकस हुन्थेन । उतिबेला त्यहाँका मान्छे दैलेख सदरमुकाम करिब सात घण्टा पैदल हिँडेरै पुग्थे । जब गाडी गाउँ पुगे, यात्रा झनै सकस हुन थाल्यो । हुनुपर्ने त सहज थियो ।

उसबेला यातायातका साधन नहुँदा सबैजना हिँड्थे । हिँड्नुको विकल्प पनि त थिएन । अहिले बानी बिग्रियो । घर नजिकै गाडी–घोडा पुगेका छन् । अझै भनौं गाउँका चल्ताफूर्ताले पखेरीका घर–घरमै सडक पु¥याएका छन् । जस्तो कि सहरका रिङ्रोड जस्तै । अहिले सुर्खेतदेखि गाउँ पुग्न धेरै पीडादायी यात्रा हुन्छ । कामको शिलशिलामा जन्मभूमिभन्दा टाढा रहेका जो–कोहीलाई चाडवाड र बिदाहरूमा घर जान रहर लाग्छ नै । तर पनि त्यो यात्रा गर्ने साहस सबैमा हुँदैन् । होस् पनि कसरी जिन्दगी नै दाउमा लगाउनु, जो पर्छ । कहाँनिर गएर गाडी नै पल्टिने हो । यस्तै त्रास भइरहन्छ ।

लकडाउन हुनुभन्दा केही महिना पहिले । मलाई पनि घर जानु थियो । बोलेरो जीपमा जाने निधो गरेँ । चालकसँग सम्पर्क भयो । ८ बजे बजार आउनु भने । बोलेरो नामक जीप गाडीको सीट क्षमता ६ जनाको थियो । पछाडिपट्टि सामान राख्ने ठाउँ । चामुण्डा जाने गाडी त्यसदिन त्यही जीप मात्र रहेछ । पछाडि सामान राखेर चालकले आफू ग्यारेजमा गाडी मर्मत गर्न जाने भन्दै यात्रुलाई कपासे ब्यारेक अर्थात् चेक पोष्टभन्दा अगाडि कुर्न आग्रह गरे । करिब १८ जना यात्रुहरू दिउँसो ३ बजेसम्म उक्त गाडी कुरिरह्यौं । ६ जनाको सीट क्षमता भएको जीपमा १८ जना ! यहीँ त हो गाउँमा गाडी पुगे पनि यात्रुले सास्ती भोगिरहुनको कारण । अगाडि–पछाडि गरेर पनि नअट्ने अनुमान यात्रुहरूको थियो । बिहान ७ बजे चिया खाएर वीरेन्द्रनगर बजारबाट उक्लिएका हामीहरू त्यतिबेलासम्म जंगलमा भोकतिर्खा खटाएरै बसिरह्यौं ।

उहीँ गाडी जसको प्रतिक्षामा हामी थियौं । उसैले अरु १८ जना बोकर ३ बजेतिर आयो । पछाडि यात्रुहरूका ब्याग र अन्य सामानले भरिएको थियो । ६ जना सीट क्षमता भएको सवारीमा जम्मा ३६ जना यात्रु हुने भए । कसरी सम्भव छ ! यात्रुहरू सम्भव नहुने भन्दै विकल्पको खोजी गर्न रिजर्वमा लिन अर्को गाडीलाई सम्पर्क गर्न थाले । उक्त गाडीमा हामीले पहिल्यै सामान राखिसकेका थियौं । चालकले हाम्रो सामान दन मानेनन् । उनले जिद्दी गरे, तपाईंहरू यसमै जानुुपर्छ । सोही गाडीमा आफूले सबैलाई मिलाएर लैजाने अड्डी कसे । बडो फर्साद्मा परियो । जाउँ कसरी, नजाउँ गरौं के ? मिलाउनुको पनि हद हुन्छ कस्तो चालक हो ६ जनाको सीटमा ३६ जना लैजान खोज्दै छ । हाम्रा लागि त त्यो सम्भवै थिएन । पहाडी रुटमा यातायातमा साधन चलाउनेले यस्ता थुप्रै सम्भव देख्छन् र त कैयौंका यात्रा पूरा हुनै पाउँदैनन् । कसैको जिन्दगी र जोखिमसँग खोल्न यिनलाई यति साह्रो रहर किन लाग्दो हो । उनले सम्भव छ, म तपाईंहरूलाई ठाउँमै पु¥याउँछु भन्दै थे । आँ यस्ता हाउडे कुरा कसले पत्याओस् । फेरि हाम्रो ज्यान पनि त उत्ति सस्तो कहाँ थियो, ज्यानै जोखिममा राखेर गाडी चढ्नु ।

त्यो गाडीमा नजाने हाम्रो अड्डीमा अघि उनको केही लागेन । बरु अरु गाडीवालालाई सम्पर्क गरेर अर्काे गाडी बोलाइदेलान् भन्नेसम्म आश गरेका हामीलाई उनले निराश पारे । कुनै सहयोग गरेनन् । दिउँसोको ४ बज्नै आँटेको थियो । एउटा अर्को गाडी पाइयो । एउटा खुट्टा टेक्ने, एक हातले झण्डिने शर्तमा चढियो । थोरै सवारी भएका साधनमा पनि सुर्खेतबाट दैलेखको चामुण्डा पुग्न ६ घण्टाभन्दा बढी समय लाग्छ । बाटो राम्रो नहुनुको कमाल ।

गाडीको अगाडि बसेकाहरूलाई एकअर्कामा च्यापिने र एकमाथि अर्काे बस्नुपर्ने बाध्यता थियो । आफूलाई खुट्टो टेक्न पाए हुन्थ्योझै भइरहेको थियो । हाम्रातिरका गाडीका यात्रा यस्तै छ हुन् सीटमा बस्न भाग्यले जुराउनुपर्छ । कि गाडीवालाको नातेदार हुनुपर्छ । गाडीमा टनाटन सामान पनि थियो । मान्छेको त नाम मात्रै हो हाम्रातिर यात्रु चढ्ने गाडी पनि मालबाहक पो हुन्छन् । गाडीवालको बारम्बारको कर्कश र अल्टिमेटम सुन्दै–सहदै गाउँको यात्रा अघि बढ्यो ।

अनि, त्यसपछि सुरु भयो जिन्दगीको न सम्झन लायक न बिर्सन सकिने यात्रा । ६५ वर्षका पारीगाउँका काप्राकोटे बाजे बिमार परेर उपचार गराउन सहर आएका रहेछन् । उनी भन्दै थिए, ‘यसपाली त मजाले सीटमा बसेर जान पाइने आश थियो । बिरामी हुँदा पनि सीट पाइएन ।’ कसले सीट पाउँथे र उनले पाउन गाडीको । हामीले चढेको के भन्नु टेकेको गाडीमा वृद्ध थिए, सुत्केरी महिला थिए, बालबालिका थिए । ती सबैले सास्ती झेल्नुको विकल्प थिएन ।

साँझ पर्न थालेको थियो । तल्लो डुङ्गेश्वरबाट गाडीले कर्णाली राजमार्ग पक्रियो । कतै खाल्डा–खुल्डी । कतै धुलो । कतै हिलो । यस्तो अवस्थामा पनि यात्रुको भारले गाडी उफ्रिदैनथ्यो । बेला–बेलामा पछाडिको भाग सडकमै ठोक्किन्थ्यो । रातको समय कर्णाली राजमार्गमा रहेका खाल्डा–खुल्डीका कारण दर्जनौं स्थानमा गाडीबाट हुत्तिनबाट बचियो । धन्न राति बाह्र बजे सकुशल ज्यान घरमै पुग्यो ।

प्रहरी चेकपोष्टमा गाडीवालाले गजबको आइडिया लगाउँथे । हामीलाई अलि परसम्म हिँड्न लगाउँथे । करिब पाँच–सात ठाउँमा गरी झण्डै ५ किलोमिटर त पैदलयात्रा नै गरियो होला । पैसाको नास । गाडी चढियो भन्नु मात्रै । सुर्खेत फर्किंदा हिँडेरै आइयो । त्यो यात्रा खासमा गाडीको भन्दा धेरै आरमदायी थियो । लकडाउन हुनुभन्दा अघिको यात्रा अनुभव हो यो । बरु अहिले खास्सा भएको छ रे । कोरोनाका सर्ने त्रासले अचेल तिनै जीपमा थोरै यात्रु राख्छन् । बरु भाडा ८ सय लाग्ने ठाउँमा १५ सय लैजान्छन् । यो सुन्दा साँच्चै खुशी लागेको छ । त्यहीं बोलेरो जीपको सीटमा बसेर एक पटक फेरि गाउँ जाने मन लागेको छ ।

प्रकाशित मितिः   १७ श्रावण २०७७, शनिबार ०६:०८