ती सिपाही, यी किसान

सुर्खेत: तिलकबहादुर बुढाक्षेत्री नेपाली सेनाका हवल्दार थिए । भेरीगंगा नगरपालिका–३ का ३६ वर्षीय उनको पेसा र परिचय दुवै फेरिएको छ । पहिलेका सिपाही उनी अहिले किसान बनेका छन् । तीन वर्षयता बुढाक्षेत्रीको मुख्य पेसा कृषि हो । उनी व्यावसायिक कृषक बनेका हुन् ।

तीन वर्षअघि नेपाली सेनाको जागिरबाट अवकाश पाए । घरमा फर्किन बित्तिकै कृषि कर्ममा लाग्ने सोच बनाए । हिजोआज उनी त्यहीँ कृषि कर्ममै रमाएका छन् । उनलाई यसैबाट नाम र दाम पनि मिलेको छ । पशुपालन र घाँसको बेर्ना उत्पादन गर्छन् । यो अलि यहाँका लागि नौलो कृषि व्यवसाय नै हो । धेरैजसो किसानले गाईभैसी र बाख्रा, कुखुरा पाल्ने र त्यसैबाट जीविकोपार्जन गर्ने गरेको पाइन्छ । उनी भन्छन्, ‘गाईभैसी त सबैले पालेकै छन् । खेती पनि गरेकै छन् । मैले नयाँ जुक्ति लगाए । गाईवस्तुको आहार र बिउका बेर्ना उत्पादन गर्ने ।’

घरमा पुस्तौंदेखि पहिलेदेखि परम्परागत रूपमा नै खेती–किसानी गरिँदै आएको थियो । उनले यसलाई व्यावसायिक योजनासहित आधुनिक तरिकाले अघि बढाए । जागिरबाट पाएको अवकाशको समय र रकमलाई उनले कृषि पेसामा सदुपयोग गरे । ‘झण्डै सात लाखको लगानीमा सुरुमा बाख्रा फर्म गरेँ । ४० वटा उन्नत जातका बाख्रा किनेँ । सुरुका दिनमा केही प्राविधिक समस्याहरू पनि झेल्नुप¥यो,’ उनले सुनाए, ‘कृषिमा सुरु–सुरुमा घाटा भए पनि विस्तारै राम्रो आम्दानी हुँदै जाने रहेछ ।’ सेनाको जागिरबाट अवकाश पाएपछि कृषिमै केही गर्नुपर्छ भनेर यसैमा लगानी गरेको बुढाक्षेत्री बताउँछन् । पछिल्लो समय बाख्रापालनसँगै घाँस उत्पादनमा लागेका उनले घाँसका बेर्ना उत्पादन गर्न नर्सरी नै बनाएका छन् । उनले भने, ‘एक त म किसानकै छोरा, झनै मेहेनत गर्ने बानी पल्टनमा सिकियो । अहिले काम लाग्दैछ ।’

उनले सञ्चालन गरेको धरमपानी कृषि तथा बाख्रा फर्ममा अहिले २५ वटा बाख्रा छन् । बाख्रापालनसँगै डेढ वर्षदेखि घाँसको बेर्ना उत्पादनको काम पनि चलिरहेको छ । सात रोपनी जग्गामा सुपर नेपियर जातको घाँस छ । झण्डै तीन–चार रोपनीमा धान, मकै र त्यही बारीको आलीमा घाँस रोपिएको छ । पहिले अन्य खाद्यबाली लगाउँदा परिवारलाई नै खान पु¥याउन हम्मेहम्मे पर्ने गरेकोमा अहिले यसलाई व्यावसायिक रूपमै गर्दा राम्रो आम्दानी हुने गरेको छ । उनी सुपर नेपियर घाँससँगै सियोखोर, किमु, मोरंगा, बकाइनो लगायतका घाँसका बेर्नाहरू उत्पादन गर्छन् । ‘बिउ–बेर्नाको माग अत्याधिक छ । माग अनुसारको उत्पादन गर्नै सकिएको छैन,’ उनले भने । अहिले उनले उत्पादन गरेकोे किमुको बेर्ना सकिएको छ । किसानहरूले अझै माग गरिरहेका छन् । उनले बेर्नाबाट यो सिजनमा मात्रै ७० देखि ८० हजार आम्दानी गरेका हुन् । अघिल्लो वर्ष उनले घाँसका बेर्ना बिक्री गरेर ७५ हजार आम्दानी गरेका थिए ।

घाँसको बेर्ना दैलेख, सल्यान, रुकुम–पश्चिमसम्म बिक्री गर्ने गरेको बुढाक्षेत्रीले बताए । उसो त उनी कतिपय किसानलाई पैसा नलिएर पनि बेर्ना सहयोग गर्छन् । उनले भने, ‘यस सिजनमा मात्र झण्डै तीन लाख बराबरको घाँसको बेर्ना त मैले किसानलाई निःशुल्क वितरण गरेहुँुुला ।’ उनका अनुसार वर्षभरी खेती लगाउँदा चालिस–पचास हजार हाराहारी मात्रै उत्पादन हुन्छ । तीन महिना मात्रै घाँसको बेर्ना उत्पादन गरेर बिक्री गरे त्यसको दोब्बरभन्दा बढी आम्दानी लिन सकिन्छ । कुनै बेलाका नेपाली लाहुरे उनले व्यावसायिक कृषि र यसलाई अझै बृहत बनाउने योजना पनि सुनाए ।

उनको कृषि कर्ममा सरकारी निकायको पनि सहयोग छ । बुढाक्षेत्रीले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयबाट कृषि वन कार्यक्रममार्फत आठ लाख ८५ हजार र आफूले नौ लाख रूपैयाँ लगानी गरेर कृषि वन कार्यक्रम सञ्चालन गरेका हुन् । यस कार्यक्रममार्फत पाएको अनुदान तरकारी खेतीका लागि दुई वटा टनेल, कृषि सामग्री, सिँचाइलगायतमा लगानी गरेका छन् । उनले घाँसको बेर्ना उत्पादनसँगै फलफूल र तरकारी खेतीलाई पनि जोड दिने बताएका हुन् । यसै कार्यक्रममार्फत तीन लाख बराबरको घाँसको बेर्ना झण्डै पाँच सय किसानलाई निःशुल्क रूपमा वितरण गरेको जनाए । ती बेर्ना भेरीगंगा नगरपालिकाका किसानहरूलाई वितरण गरिएको हो ।

उनको कृषि कर्मबाट प्रभावित भएर अहिले अरु युवाहरू पनि व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । उनका छिमेकी युवाहरूले खाली जग्गामा घाँस लगाउन थालेका हुन् । उनी भन्छन्, ‘सबैका घरमा गाईवस्तु छन् । घाँस नपाएर गाईभैसी बेच्नुपर्ने अवस्था आउँछ । पहिले पशुको आहारमा हामी आत्मनिर्भर हुन जरुरी छ ।’ कृषि उत्पादनको बजारीकरणमा समस्या देखेका उनले बजारको सुनिश्चित गर्न सके अबको पुस्ताको व्यवसायिक कृषिमा आकर्षण बढ्दै जाने बताए ।

प्रकाशित मितिः   १७ श्रावण २०७७, शनिबार ०६:१०