‘जेठ १५ गते राजतन्त्र फर्काउँछौं’

साझा बिसौनी संवाददाता
काठमाडौं, ११ चैत ।
शाही युवा शक्ति नेपालले आगामी जेठ १५ गतेभित्रमा राजतन्त्र पुनस्र्थापित गर्ने लक्ष्यसहित आन्दोलनको घोषणा गरेको छ । बिहीवार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरेर संस्थाले राजतन्त्र पुनस्र्थापनाका लागि राजधानी केन्द्रीत सडक सङ्घर्षको घोषणा गरेको हो । 
जसको सुरुवात आज चैत्र १२ गते राजधानीमा गणतन्त्रविरुद्ध र राजतन्त्र पुनर्बहालीको पक्षमा विरोधसभा गरेर हुने बताइएको छ । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष पशुपति खड्काले विदेशीले लादेको गणतन्त्रलाई कुनै पनि हालतमा विस्थापित गरी नेपाली माटो सुहाउँदो राजसंस्थाको पुनस्र्थापनाका लागि बलिदान दिन तयार रहेको बताउँदै आवश्यक परे हतियार उठाउने घोषणा गरे । 
‘जनआन्दोलनको एजेण्डा अर्कै थियो । जबरजस्ती जनभावनाविपरित गणतन्त्र ल्याइयो । यसले एउटा द्वन्द्वको अन्त्यको नाममा अर्काे द्वन्द्वको बिउ रोपेको छ’, उनले भने, ‘नेपालको माटो सुहाउँदो व्यवस्था भनेको राजासहितको प्रजातन्त्र हो । त्यसलाई फर्काउन हामी जस्तोसुकै बलिदान दिन तयार छौं ।’ ‘मरिसकेको संसदीय व्यवस्था त पुनस्र्थापना भयो भने राजतन्त्र त अहिले मुर्छित भएको, निदाएको र इन्जेक्सन लगाएर बेहोस बनाएको अवस्थामा मात्रै छ । पुनस्र्थापना हुन्छ हुन्छ’, उनले भने । संस्थाका महासचिव कृष्ण थापाले चैत्र १२ गतेको विरोधसभापछि जेठ १५ भित्र राजतन्त्र पुनस्र्थापना गर्ने गरी जनमत तयार गर्न राजधानी केन्द्रित कार्यक्रमलाई तीव्रता दिन लागेको जानकारी दिए । उनले राजतन्त्रलाई पाखा लगाएर निर्माण गरिएको संविधान कार्यान्वयन हुनै नसक्ने ठोकुवा समेत गरे ।
प्रकाशित मितिः   १२ चैत्र २०७२, शुक्रबार ०३:३६