होटल खुले, ग्राहक छैनन्

कोरोना भाइरस (कोभिड–१९) ण्का कारण झण्डै पाँच महिनादेखि बन्द रहेका होटल व्यवसाय बिहीवारदेखि खुल्न थालेका छन् । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि देशभर पूर्णरूपमा लकडाउन गरेको थियो । एक सय २० दिनपछि यही साउन ६ गते लकडाउन हटेको थियो । खाजा पसललगायतका केही साना होटलहरू लकडाउन हटाएसँगै खुलेपनि ठूला होटललाई भने सञ्चालनमा रोक लगाइएको थियो । यस्ता होटललाई साउन १५ देखि मात्रै सञ्चालन गर्ने भनिएकोमा सोही अनुसार सुर्खेतका होटलहरू ख्ुलेका हुन् । तर, होटल खुले पनि ग्राहक भने छैनन् । होटल व्यवसायी ग्राहकको प्रतिक्षामा छन् । स्वास्थ्य मापदण्ड अपनाएर सरकारले होटल, रेष्टुरेण्ट खुल्ने भने पनि ग्राहक नहुँदा होटल चल्ने अवस्था नरहेको होटल सञ्चालकहरूले बताएका छन् ।

लकडाउन भएपछि घर गएका कर्मचारीहरू अन्तर जिल्ला सार्वजनिक यातायात नचलेकाले आउन पाएका छैनन् । होटल खोल्न पाए पनि ग्राहक नआउँदा व्यापार भने नभएको वीरेन्द्रनगरस्थित शुभ होटलका सञ्चालक पदमबहादुर शाही बताउँछन् । यातायात पूर्णरूपमा यातायात सञ्चालन नहुँदा र सभा, सम्मेलन नहुने अवस्थासम्म होटलको व्यवसाय राम्रो चल्न नसक्ने देखिएको उनले बताए । अहिले होटल खोलेर मर्मतसम्भारको कामहरू भइरहेको उनले जानकारी दिए । ‘अवस्था सामान्य नभएसम्म होटल व्यवसाय सञ्चालनमा आउने अवस्था देखिएको छैन । ग्राहक नै छैनन् । यस्तो समयमा होटल खोलेर मात्र कसरी व्यवसाय हुन्छ,’ उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका शाहीले भने ।

सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भइसकेपछि होटल व्यवसाय क्षेत्रमा लगानी बढेको छ । वीरेन्द्रनगरमा सानादेखि फोरस्टारसम्मका होटलहरूमा लगानी गरिएको छ । तर कोरोनाका कारण देशभर लकडाउन भएपछि होटल व्यवसायमा नराम्रो गरी असर परेको छ । होटल व्यवसायका गरिएको करोडौंको लगानी डुब्ने चिन्ता व्यवसायीहरूमा देखिएको छ । होटल व्यवसाय बन्द हुँदा धेरैले रोजगारी समेत गुमाएका छन् ।

सुर्खेतमा साना ठूला गरेर एक हजार चार सयको हारहारीमा होटल छन् । ती होटलहरूमा झण्डै १२ हजारले रोजगारी पाएका थिए । व्यवसायीहरूका अनुसार अहिले होटलमा कार्यरत ८० प्रतिशत कर्मचारीको रोजगारी घुमेको छ । लगानी र सुविधाको हिसाबले ठूलोमध्येको एक शुुभ होटलका ५७ जना कर्मचारीमध्ये हाल १८ जनाले मात्रै काम गरिरहेका छन् । कोरोनाले होटल व्यवसायमाथि धेरै असर गरेकाले आफूहरू मर्कामा परेको होटल बुलबुुले भ्यूूका सञ्चालक जनक सिंहले बताए । होटल खोलेर बस्ने काम मात्रै भएको उनले गुनासो गरे । निजी व्यवसायीलाई माथि उठाउने गरी सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने उनले बताए । ‘होटल खोल्ने काम मात्रै भएको छ । ग्राहक नभएर व्यवसाय ठप्प छ । कसरी कर्मचारीलाई तलब दिने ?,’ उनले भने । होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले कोरोनाले प्रभावित गरेपछि २० प्रतिशत होटल पूर्ण रूपमा बन्द हुने अवस्था रहेको बताए । खुलेका होटलहरूमा पनि ग्राहक नआउँदा व्यवसाय धरासायी अवस्थामा पु्गेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १६ श्रावण २०७७, शुक्रबार ०६:०६