विद्यालयको पठनपाठन पुनःबन्द

भौतिक दूरी कायम गरेर केही दिनयता पठनपाठन सुरु गरेका वीरेन्द्रनगरका विद्यालयहरू पुनः बन्द गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सूचना जारी गरी विद्यालयहरूमा पठनपाठन नगराउन भनेको हो ।

लामो बन्दाबन्दीका कारण झण्डै पाँच महिनादेखि ठप्प रहेका शैक्षिक संस्था स्वास्थ्य सावधानी अपनाएर खुल्न थालेका थिए । यही साउन ६ गतेदेखि लकडाउन हटे पनि सरकारले विद्यालयको पठनपाठन नियमित गर्ने सम्बन्धमा कुनै आधिकारिक निर्णय भने गरेको छैन ।

संक्रमणको जोखिम बढ्ने देखेर विद्यालयहरू तत्काल सञ्चालन नगर्न भनिएको वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख ललित सिंहले बताए । उनका अनुसार वीरेन्द्रनगरका केही निजी विद्यालयहरू सञ्चालनमा आएका भए पनि सूचना जारी भएपछि बन्द भएका छन् । नगरपालिकाले साउन १३ गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ विपरित कक्षाहरू सञ्चालन भएको भन्दै सूचना जारी गरेको हो ।

उता निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका कर्णाली प्रदेश अध्यक्ष नैनसिंह खत्रीले नेपाल सरकारले ल्याएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकामा भएको व्यवस्था अनुसार केही विद्यालयहरूले पठनपाठन सुरु गरेको बताए । ‘सामाजिक दूरी कायम गरेरै पठनपाठन थालिएको थियो,’ उनले भने, ‘वीरेन्द्रनगर नगरपालिकाले अनुगमन नै नगरी प्रशासनसम्म कुरा पुगेछ ।’ उनले कोरोनाको त्रास सबैलाई भएको भन्दै कक्षा १० का विद्यार्थीहरूलाई केही विद्यालयहरूले भौतिक दूरी कायम गरी अध्यापन गराएको बताए । उनका अनुसार यी विद्यालयले साउन ११ गतेदेखि मात्र कक्षा सञ्चालन गरेका थिए ।

विगत डेढ महिनादेखि दिनमा २० जना मात्रै विद्यार्थीलाई स्वास्थ्य सावधानी अपनाएर अध्यापन गराएको अमरज्योति नमुना माध्यमिक विद्यालयले समेत सूचना जारी भएयता पठनपाठन बन्द गरेको शिक्षक भुपेन्द्र बिसीले जानकारी दिए ।