तिला नदीमा व्यावसायिक र्‍यापटिङ

तिला नदीमा ¥यापटिङ व्यवसाय सुरु भएको छ । गो कर्णाली ट्राभल एण्ड टूरले तिला नदीमा व्यावसायिक रूपमा ¥यापटिङ सञ्चालनमा ल्याएको हो । चन्दननाथ नगरपालिकाको दानसाँघुदेखि तातोपानी गाउँपालिकाको राकाँसम्म र्‍यापटिङ सञ्चालन गरिनेछ । गो कर्णालीका सञ्चालक ललितजङ्ग महतका अनुसार साउन महिनामा ¥यापटिङ निकै प्रभावकारी भएको छ । तिला नदी भौगोलिक रूपमा निकै उत्तम भएको र पानीको फ्लो पनि ठीक भएको उनले बताए । ‘थुप्रै पटक परीक्षण गरियो । यस पालिबाट व्यावसायिक रूपमा अगाडि बढाइएको छ,’ उनले भने ।

व्यवसाय रूपमा ¥यापटिङ सञ्चालन गर्न कर्णाली प्रदेश सरकारले समेत सहयोग तथा समन्वय गरेको उनले जनाए । ¥यापटिङ चालकको मुख्य जिम्मेवारी जुम्लाकै बिर्ख दमाई र अमृत दमाईले लिएका छन् । लामो समय भारतमा ¥यापटिङ चालकको अनुभव बटुलेका उनीहरूले अहिले जिल्लामै रोजगारी पाएका हुन् ।

सो साहसिक यात्रा गर्ने पर्यटकहरूका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिएको सञ्चालक महतले जानकारी दिए । उनका अनुसार दानसाँघुदेखि तातोपानीसम्म गएर प्राकृतिक तातोपानीले नुहाउन पाइनेछ । योसँगै मार्सी चामलको भात, तिलामा पाइने असला माछा समेत खान पाइनेछ । कोरोना महामारीको अवस्था सामान्य भएपछि यो व्यवसायले पर्यटकहरू निकै तान्ने देखिएको छ । यसका साथै डुङ्गा चढ्दा तिलाको वरवर रहेका मार्सी धानका फाँट र स्याउका बगैंचाहरू पनि पर्यटकले हेर्न पाउने छन् । २४ लाख रूपैयाँ खर्च गरेर ¥यापटिङ व्यवसायलाई व्यवस्थित गर्न लागिएको सञ्चालक महतले बताए ।

प्रकाशित मितिः   १६ श्रावण २०७७, शुक्रबार ०६:०२