विपद् व्यवस्थापनमा ध्यान देउ

मनसुन सुरु भएसँगै बाढीपहिरो र डुबानजस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भएको छ । प्राकृतिक प्रकोपले दिनहँु वितण्डा मच्चाएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुगेको छ । बर्खा लागेयता विपद्मा परेर यहाँ ३३ जना बढीको ज्यान गएको छ भने घाइते र बेपत्ताको संख्या पनि अधिक छ । सयौँ घर पहिरोले पुरेको छ । पशु चौपाया र भौतिक संरचनाहरूमा उत्तिकै क्षति पु¥याएको छ । कालीकोट, जाजरकोट, रुकुम–पश्चिम र दैलेखलगायतका जिल्लाहरूमा अधिकांश बस्ती खतराको उच्च जोखिममा छन् । विकट भौगोलिक बनावटका कारण पनि कर्णालीमा प्राकृतिक प्रकोपको जोखिम रहँदै आएको हो । मनसुन सक्रिय भएसँगै यहाँका बस्तीहरूमा पहिरोको त्रास सुरु हुन्छ । बढी भिरालो जमिन र नदी किनारमा रहेका बस्तीहरूले ठूलो जनधनको नोक्सानी व्यहोर्नु पर्छ । प्रत्येक वर्ष प्राकृतिक प्रकोपले निम्त्याउने विभिन्न घटना र परिस्थितिसँग जुध्नु कर्णालीवासीको नियति जस्तै बनेको छ ।

कर्णालीका लागि हरेक वर्ष मनसुन अभिषाप बनेर आउँछ । हुन त प्राकृतिक विपद् पूर्व सूचना दिएर आउँदैन । तर पनि यसबाट जोगिन थुप्रै पूर्वतयारीहरू भने गर्न सकिन्छ । त्यसतर्फ सरोकारवाला निकायको ध्यान उत्तिसारो पुगेको देखिदैंन । घटना हुनुपूर्व सतर्कता अपनाउन चुकेकै कारण यहाँ अकल्पनीय क्षति व्यहोरिरहेको अवस्था विद्यमान छ । घटना पछि पनि समयमै उद्धार, उपचार र राहत पु¥याउन नसक्नु अर्को कमजोरी हो । प्राकृतिक प्रकोप रोक्न नसकिए पनि त्यसबाट हुने क्षति भने अवश्यै कम गर्न सकिन्छ । अहिले गाउँ–गाउँमा स्थानीय सरकार छन् । उनीहरूले आफ्नो क्षेत्रभित्र पर्ने बस्तीहरूको जोखिम समयमै आँकलन गरेर सोही अनुरुपको विपद् प्रतिकार्य योजना बनाउँन सक्छन् । विडम्बना नै भन्नु पर्छ, यस खालका पूर्वतयारीहरू स्थानीय सरकारहरूले समेत गर्ने गरेको पाइँदैन । प्राकृतिक विपत्तिबाट बढी जोखिमपूर्ण स्थानहरूको पहिचान गरी स्थानीय सरकारले नै त्यसको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न सके विपद् प्रतिकार्यका काम बढी प्रभावकारी हुन सक्छन् । उद्धार र राहत आवश्यक भए माथिल्ला सरकारहरूको सहयोग लिन सकिन्छ । यस विषयमा प्रदेश र संघीय सरकारको संवेदनशीलता पनि निकै कम देखिने गरेको छ ।

तीन तहकै सरकारले विपद् व्यवस्थापनका लागि मनसुन सुरु हुनु अगावै कार्ययोजनासहित आवश्यक तयारी गर्नुपथ्र्यो । तर, प्रतिकार्यका योजना बनाउनमै ढिलाइ गर्ने परिपाटीका कारण क्षति न्यूनीकरणमा समेत सरोकारवाला निकाय चुक्दै आएका छन् । कोरोना कहरकाबीच आएको प्राकृतिक विपद्ले आम नागरिकहरूमा थप त्रास र पीडा दिएको छ । प्राकृतिक प्रकोपलाई स्वभाविक रूपमा ग्रहणगरी त्यसबाट हुनसक्ने क्षतीलाई न्यूनीकरण गर्नु नै यसको व्यवस्थापन हो । सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको सहज पहुँचका कारण अहिले पूर्वसूचना दिने माध्यहरूको समस्या छैन । त्यसैेले जनधनको ठूलो क्षति हुन नदिन जल तथा मौसम विज्ञानसँग सम्बन्धित कार्यालयहरूले वर्षा र बाढीको पूर्वानुमान गरी पूर्वसूचना छिटो दिने र जोखिमको स्थितिबारे समय–समयमा जानकारी दिनुपर्छ । यतिबेला सबै तहका सरकारहरूले विपद् प्रतिकार्य र व्यवस्थापनमा सहकार्य गर्दै विपद् न्यूनीकरणका उपाय अवलम्बन गर्नु आवश्यक छ ।

प्रकाशित मितिः   १६ श्रावण २०७७, शुक्रबार ०६:०३