थप ३१ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । सोमवार गरिएको आरटी–पीसीआर परीक्षणमा दैलेख, सुर्खेत र सल्यानमा थप संक्रमित भेटिएका हुन् । जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा २८ जना, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भएको परीक्षणमा एक जना र चौहजहारी नगरपालिका रुकुम–पश्चिममा गरिएको पीसीआर परीक्षणमा सल्यानका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा देखिएका २८ जना संक्रमित सबै दुल्लू नगरपालिकाका हुन् । त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा चिङ्गाड गाउँपालिकाका र रुकुम–पश्चिममा गरिएको परीक्षणमा कुमाख गाउँपालिका सल्यानका व्यक्तिमा संक्रमण देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या एक हजार नौ सय १० पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक हजार ६ सय ५८ छ । कर्णालीमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

यस्तै, कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्तिष्कघात सम्बन्धी रोगका बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर १८ हजार सात सय ५२ जना संक्रमित भएका छन् । उनीहरूमध्ये १३ हजार सात सय ५४ जना निको भएका छन् ।

प्रकाशित मितिः   १३ श्रावण २०७७, मंगलवार ०८:०६