सलहले मकै बाली सखाप

किसानलाई राहत दिने मन्त्रीको आश्वासन

सुर्खेत: भेरीगंगा नगरपालिका–१३ स्थित ठूलो करेलीमा आइतवार दिउँसो थुप्रै किसानहरू एकै ठाउँमा जम्मा भएका थिए । सलहले मकै बाली सखाप पारेपछि उनीहरू चिन्तित देखिन्थे । भोकमरी निम्तिने त्रासले अब के गर्र्ने भन्नेबारे सल्लाह गर्न त्यसरी भेला भएको उनीहरूले सुनाए । सलहले रामघाट क्षेत्रमा बढी क्षति गरेको छ । किराले यहाँ ४० प्रतिशत बालीमा क्षति पु¥याएको हो । कोही किसानको भने सबै बाली सखाप पारिदिएको छ ।

वीरेन्द्रनगरबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीसहितको टोली आइतवार उक्त स्थानमा पुग्दा किसानहरूले मन्त्रीलाई सलहले क्षति गरेको बाली देखाए । उनीहरूले मन्त्री समक्ष सलहले बालीमा धेरै क्षति गरेकाले भोकमरीको चिन्ता भएको भन्दै सरकारले राहत दिनुपर्ने माग गरे ।

भेरीगंगा–१३ का पविसरा परियारले मन्त्री केसीलाई सलहले क्षति गरेको बाली देखाउँदै भनिन्, ‘मकै जति सबै सलहले सखाप पा¥यो । वर्षभरी के खाने ? भोकमरीको डर छ ।’ उनले मन्त्री आफैले क्षति भएको बाली हेरेकाले सरकारले केही राहत देलाकी भन्ने आश लागेको सुनाइन् । मन्त्री केसीले किसानका समस्या आफैले देखेकाले राहतको व्यवस्था गर्ने आश्वासन दिइन् । उनले भनिन्, ‘सलहले यहाँ मात्रै होइन प्रदेशका अन्य ठाउँमा पनि क्षति गरेको छ । तपाईंहरूले आफ्नो बाली क्षति भएको यथार्थ विवरण वडामार्फत उपलब्ध गराउनुहोला । क्षतिको विवरण संकलन भएपछि सरकारले राहतका कार्यक्रम ल्याउँछ ।’

सोही ठाउँका कलम कामीले पनि ६ रोपनी जग्गामा लगाएको मकै बाली सलहले क्षति गरेको बताए । उनी भन्छन्, ‘अहिले कमाइका लागि भारत जाने अवस्था पनि छैन । लगाएको बाली किराले खाइदियो । अब कसरी गुजरा चलाउने भन्ने पिर लागेको छ ।’ भेरीगंगा–१३ कै नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाएको बालीमा सलहले क्षति गरेको छ । उक्त ठाउँका किसानले आँप खेती पनि गर्छन् । यस वर्ष कोरोनाका कारण लकडाउन भएपछि आँप पनि राम्रोसँग बिक्री भएन । किलोको १५ देखि २० रूपैयाँमा आँप बेच्नुप¥यो ।

लगाएको बाली सलहले धेरै क्षति गरिदियो । ‘यस वर्ष आँपले पनि मूल्य पाएन,’ कलमले भने, ‘सरकारले हाम्रो केही व्यवस्था गरिदिए हुन्थ्यो । अब भोकै पर्ने अवस्था आउन थाल्यो ।’ सलहले कर्णाली प्रदेशका नौ जिल्लामा क्षति गरेको छ । यद्यपि क्षतिको एकिन विवरण भने संकलन भइसकेको छैन । एकीकृत कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत घनश्याम केसीले क्षतिको विवरण संकलनको काम भइरहेको बताए । उनका अनुसार अहिलेसम्म दैलेखमा एक सय ९० हेक्टरमा लगाइएको मकै, कोदोलगायतको बालीमा सलहले क्षति पु¥याएको छ । दैलेखको नौमूले क्षेत्रमा सलह किराले बढी क्षति भएको छ ।

यस्तै सुर्खेतमा एक सय हेक्टर बालीमा क्षति पुगेको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाट, वीरेन्द्रनगरको गर्पन, चिङ्गाड गाउँपालिकाको केही स्थानमा समेत सलहले ठूलो क्षति गरेको छ । सल्यान, जाजरकोट, जुम्ला, कालीकोटलगायतका जिल्लामा पनि सलहले क्षति गरेको छ । सलहले क्षति गरेको ठाउँहरूमा अहिले सलह नरहेको बाली संरक्षण अधिकृत केसीले बताए ।

केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलहका झुण्ड देखिएका थिए । तिनै सलह बारीमा पसेर मकै तथा अन्य बालीमा क्षति गरेका हुन् । प्रतिकूल मौसमका कारण केही दिनयता सानो झुण्डमा मात्र सलहहरू देखिने गरेका छन् । सलहले क्षति पु¥याउन सक्ने खतरा भने अझै टरी नसकेको कृषि विज्ञहरूले जनाएका छन् ।

प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह पुगेको छैन । अन्य जिल्लामा ठूलो संख्यामा आएको सलहले बाली नोक्सान गर्दा किसानहरू चिन्तित भएका छन् । सलह किराले मकै, धानको बिउ, कोदो र तरकारी नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । एकै पटक हजारौंको संख्यामा झुण्ड बनाएर आउने सलह किराले हरियो वनस्पतिको पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । सलहले बारीमा पसेर बाली नष्ट गर्ने हुँदा यसले भोकमरी निम्त्याउने खतरा रहन्छ ।

प्रकाशित मितिः   १३ श्रावण २०७७, मंगलवार ०८:०८