घटेको छैन जोखिम

करिब चार महिना लामो लकडाउन खुल्यो । जनजीवन सहज बन्यो । केही सीमित बाहेक सबै व्यवसाय सञ्चालनमा आएका छन् । हिँड्डुलमा रोक लगाइएको छैन । लामो समयदेखि थपिएको बजार र जीवनशैली तंग्रिन खोज्दैछ । तर भुल्न नहुने कुरा के छ भने सरकारले लकडाउन खोलेको हो, कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम घटेको होइन । अहिले पनि हरेक दिन संक्रमितहरू फेला परिरहेका छन् । समुदायस्तरमा संक्रमण पुगिसकेका कारण जोखिम झन् बढेको छ । तर उक्त जोखिमलाई बेवास्ता गरिएको छ । अपनाउनुपर्ने सतर्कता अपनाउन हेलचक्य्राइँ गरिएको छ ।

अर्कोतर्फ अवस्था भने थप जोखिमयुक्त बन्दै गइरहेको छ । संक्रमणको बढ्दो दरले त्यही देखाउँछ । कर्णाली प्रदेशमा संक्रमितको संख्या दैनिकजसो बढिरहेको छ । लकडाउन खुलेसँग ठूलो संख्यामा संक्रमितहरू फेला पर्न थालेका हुन् । असार अन्तिमदेखि साउन पहिलो सातासम्म घट्दै गएको संक्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको हो । जसले गर्दा अहिले जोखिमसँगै संक्रमणको दर पनि बढ्दै गएको छ । साउन ६ गते लकडाउन खुलेसँगै संक्रमितहरूको संख्या बढ्न थालेको हो । साउनयता मात्र कर्णालीमा डेढ सय जना भन्दा बढीमा संक्रमण देखिएको छ । जेठ ५ गते पहिलो पटक संक्रमण पुष्टि भएको कर्णालीमा उक्त महिनामा अत्याधिक संक्रमित भेटिएका थिए । जेठमा मात्र नौ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो महिना असारमा भने संक्रमणदर अलि घटेको देखिन्थ्यो । असारमा सात सय ५७ जनामा संक्रमण भेटिएको थियो । यी दुई महिनामा अंक गणितीय दरमा संक्रमण बढेको पाइएको थियो । असार मसान्तदेखि साउन पहिलो सातासम्मको अवधिमा भने संक्रमण केही घटेको थियो । त्यसयता भने दिन प्रतिदिन ठूलो संख्यामा संक्रमित थपिने क्रम जारी छ । हरेक दिन नयाँ संक्रमित थपिएका छन् ।

जोखिम थप किन पनि बढ्दो छ भने सुरुवातमा भेटिएका अधिकांश संक्रमित हालैमात्र भारतबाट आएका र क्वारेन्टाइनमा राखिएका थिए । तर अहिले अवस्था फेरिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू घर गइसकेका छन् । त्यसमाथि समुदायमा पनि संक्रमित भेटिन थालेका छन् । हाल भेटिने संक्रमित अधिकांश समुदायस्तरका हुन् । समुदायमा गएर नखोज्दै धेरै स्थानीय संक्रमित भेटिनु खतराको संकेत भएको चिकित्सकहरूले औंल्याएका छन् । कर्णालीमा पछिल्ला दिनहरूमा भेटिएका अधिकांशको अहिलेसम्म संक्रमण स्रोत भने भेटिने गरेको छैन । जसका कारण यति धेरै स्थानीयमा कहाँबाट कसरी संक्रमण स¥यो भन्ने सवाल खडा भएको छ । अधिकांशको संक्रमण स्रोत नभेटिनुले पनि समुदायमा संक्रमण व्यापक भइसकेको अड्कल काट्न सकिन्छ । किनकी हालसम्म समुदायमा संक्रमण पुष्टि भएकाहरूको न लामो ‘ट्राभल हिस्ट्री’ देखिन्छ, न संक्रमितसँग सम्पर्कमा आएको रेकर्ड नै भेटिएको छ । त्यसैले आगामी दिन अझ तीव्र गतिमा संक्रमित भेटिने सम्भावना छँदैछ । त्यसैले आवश्यक सावधानी अपनाउन हेलचक्य्राइँ गर्नु हुँदैन ।