वित्तीय साक्षरता र डिजिटल बैंकिङ्ग

खगेन्द्र पुरी

वित्तीय साक्षरता भनेको खासमा रूपैयाँ–पैसा सम्बन्धी शिक्षा हो । हामीले पैसालाई दिगो रूपमा के, कसरी, कहाँ, किन चलायमान गराउने भन्ने कुरा व्यवस्थित रूपले नबुझेकोले गर्दा हामीलाई पैसा कसरी सदुपयोग गर्ने भन्ने विषयमा अन्यौलता भइरहेको छ । आजको समयमा विकसित, समृद्ध र सन्तुष्ट भएका सबै मुलुकहरू वित्तीय सचेतना, साक्षरता एवम् वित्तीय ज्ञानका कारणले नै त्यो अवस्थामा पुगेका हुन् भन्ने कुरामा दुईमत नहोला । त्यसैले हरेक मानिसहरूलाई वित्तीय साक्षरता हुनु आवश्यक रहेको कुरा पुष्टी हुन्छ ।

अहिले स्वीडेन, डेनमार्क जस्ता मुलुकका ७१ प्रतिशत भन्दा बढी जनता वित्तीय रूपमा साक्षर रहेका छन् । नेपालमा भने मुस्किलले १८ प्रतिशत जनतामा वित्तीय साक्षरता पुगेको छ । यसको मतलब १६ वर्षभन्दा माथि र ६० वर्षभन्दा कम उमेर समूहका १८ प्रतिशत नेपालीहरूमा मात्रै वित्तीय सचेतना रहेको छ । जब हामीले वित्तीय शिक्षाबारे बुझ्दैनौ, हामी धनी बन्न सक्दैनौं । वित्तीय सचेतना जति धेरै भयो मानिसले पैसालाई त्यति धेरै परिचालन गर्न सक्छन् ।

नेपालमा आज वित्तीय साक्षरताको अवस्था १८ प्रतिशत मात्रै छ, तर बैंकिङ्ग पहँुचको अवस्था झण्डै ६९ प्रतिशत पुग्न थालेको छ । खाता खोल्नुपर्छ भन्ने थाहा भयो त्यो बैंकिङ्ग पहुँच मात्रै हो । किनकी खाता खोल्दैमा वित्तीय साक्षरता हुँदैन । वित्तीय साक्षरता भनेको पैसालाई बुझेर त्यसको सही रूपले परिचालन गर्नु हो । वित्तीय चेतना भएमा मानिसहरूले उद्यमशीलता सहजै गर्न सक्छन् । आजको समयमा बैंक तथा वित्तीय संस्थाहरू हरेक ठाउँमा पुग्न आवश्यक छ । बैंकहरूको शाखा विस्तार भएर मात्रै पनि हुँदैन । हरेक नागरिकको बैंकिङ्ग गतिविधि संकेत बढ्नुपर्छ । बैंकमा रकम जम्मा गर्ने, उद्यम गर्नका लागि कर्जा निकाल्ने लगायतका कामहरू भइरहनुपर्छ । जस्तै कुनै बैंक तथा वित्तीय संस्थामा जुम्लाको हरि नाम गरेको व्यक्तिले पाँच लाख रूपैयाँ राखे र झापाको रिताले बैंकमा गएर पाँच लाख कर्जाको रूपमा निकालिन् । यदि जुम्लाको हरिले पैसा नराखेको भए झापाको रिताले पैसा निकाल्न पाउँदैन थिइन् । एकातिर, हरिले बचतको ब्याज पाए्, अर्कोतिर, रिताले बैंकलाई कर्जाको ब्याज तिरिन र बैंकले व्याज हरिलाई दियो । बीचमा ३÷४ प्रतिशत बैंकले नाफा राख्यो । यसरी बैंकले हुनेहरूसँगबाट पैसा लिएर आवश्यक हुनेहरूलाई उपलब्ध गराउने काम गर्छ । यी सबै कुराको जानकारी लिनका लागि वित्तीय चेतनाको आवश्यकता पर्दछ ।

वित्तीय चेतना भएमा बैंक खाता खोल्ने, पैसा जम्मा गर्ने र आफूलाई चाहिएको बेला मात्र होइन कर्जा चाहिएमा काम गर्छ भन्ने हिसाबले बैंकलाई फिर्ता हुनेगरी लिखित रूपमा एउटा निवेदन दिएर बैंकसँग सहकार्य गरेर देशमा भएका सबै मानिसहरूले उद्यमशीलता गर्न सक्दछन् । जस्तै, मसँग दुई लाख छ तर मलाई कुनै उद्यम गर्न १० लाख चाहिएको छ भने मैले बैंकबाट कर्जा लिन सक्छु । उक्त उद्यमबाट आर्जन गरेको रकमले विस्तारै बैंकको ऋण तिर्दै म मुनाफामा जान सक्छु । वित्तीय सचेतता हुनु भनेकै अर्थतन्त्र सम्बन्धी जानकारी राख्न पैसालाई परिचालन गर्न सिक्न, सिकाउन पैसाबाट धेरै पैसा आर्जन गर्नु हो । यसका लागि नेपाल रास्ट्र बंैक अन्तर्गत वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र माइक्रोफाइनान्स कम्पनी गरी चार प्रकारका बैंकहरूले सेवा दिइरहेका छन् । राष्ट्र बैंकले यी बैंकहरूका विभिन्न काम, कर्तव्य र अधिकारहरू निर्धारण गरिदिएको छ । हरेक समुदाय, हरेक वर्गलाई, हरेक व्यक्तिलाई लक्षित गरेर यस्ता बैंक तथा वित्तीय संस्थाहरू खुलेका छन् । यसरी सञ्चालनमा रहेका बैंकहरू, बैंकले दिने सेवा, ब्याजदर लगायतका विषयमा जानकारी लिनु पनि वित्तीय चेतनाको पाटो हो ।

अहिलेको लकडाउनले डिजिटल बैंकिङ्गको माग बेस्सरी बढाएको छ । तर, यसले फड्को भने मार्न बाँकी नै छ । २०७६ साल चैत्र मसान्तसम्मको नेपाल राष्ट्र बैंकको तथ्यांक भन्छ, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थासँग जम्मा दुई करोड ७२ लाख ३३ हजार खाता छन् । तर, मोबाइल बैंकिङ्ग सेवा लिने ग्राहक एक करोड ६७ लाख मात्रै छन् । डेबिट कार्ड सेवा लिने ग्राहक ७२ लाख ४३ हजार मात्रै छन् । इन्टरनेट बैंकिङ्ग सेवा लिने ग्राहक त झन् नौ लाख ९३ हजार मात्रै छन् । यही कारणले गर्दा पनि ‘ब्रिक एण्ड मोर्टार’ शाखा नै यस्तो अप्ठ्यारो अवस्थामा खोल्नु परेको हो । मोबाइल बैंकिङ्ग वा कार्ड प्रयोग गरे भइहाल्छ नि भन्नेहरूका लागि माथि उल्लेखित तथ्यांकले आफैं उत्तर दिन्छ । बैंकहरूले ग्राहकको खातामा रकम जम्मा गर्दा र खर्च लेख्दा ग्राहकलाई मोबाइल बैंकिङ्गमार्फत जानकारी दिनु पर्दछ । यो जोखिम न्यूनीकरणका लागि प्रयोग गरिने एउटा महŒवपूर्ण औजार हो । मोबाइल बैंकिङ्गबाट रकम निकालेको जानकारी ग्राहकको पुगेको कारणले गर्दा हालै ठूलो सञ्चालन बैंकिङ्ग जोखिमबाट बैंकहरू बच्न सफल भएका थिए । तर, मोबाइल बैंकिङ्ग सेवा लिने ग्राहक करिब आधा मात्रै हुनुले बैंकहरूले डिजिटल बैंकिङ्गका लागि धेरै काम गर्न बाँकी रहेको तर्फ प्रष्ट संकेत गर्छ । डेबिट कार्ड प्रयोग गर्ने ग्राहक मात्र एक चौथाई हुनुले पनि हामी डिजिटल बैंकिङ्गमा धेरै पछाडिरहेको कुरा देखाउँछ । कनेक्ट आइपीएस सेवाको थालनीले बैंकिङ्गलाई थप सहज बनाएको छ । तर, इन्टरनेट बैंकिङ्ग सेवा लिने ग्राहक नगन्य मात्रामा हुनुले धेरै काम गर्न बाँकी छ भन्ने देखाउँछ । त्यसैले अबको प्राथमिकता डिजिटल बैंकिङ्गलाई दिनुपर्ने प्रष्ट देखिन्छ ।

डिजिटल बैंकिङ्ग सेवा लिने ग्राहक किन थोरै भन्ने कुरामा धेरै साक्षर नभएका व्यक्ति, दृष्टिविहीन, साना नानी–बाबुहरूलगायतको खाता छ यद्यपि अहिले बच्चाबच्चीका अभिभावकले मोबाइल बैंकिङ्ग सेवा लिन थालेका भए तापनि यस्ता ग्राहकलाई सामान्यतया डिजिटल बैंकिङ्ग सेवा प्रदान गरिँदैन । त्यसकारण पनि डिजिटल बैंकिङ्ग सेवा लिने ग्राहक थोरै छन् । नेपाल राष्ट्र बैंकले २०७७ असार मसान्तसम्ममा पूराना खाताहरू अद्यावधिक गर्ने कार्य सक्न बैंकहरूलाई २०७६ माघमै निर्देशन दिएको थियो । तथापि, यो कार्य धेरै बैंकले सम्पन्न गरिसकेका छैनन् । त्यसले गर्दा पनि पूराना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गको दायरामा ल्याउन बैंकहरूले सकेका छैनन् । धेरैजसो बैंकहरूले व्यवहारिक रूपमा डिजिटल बैंकिङ्ग सेवा कसरी प्रयोग गर्ने भनेर ग्राहकलाई सिकाउँदैनन् । सैद्धान्तिक ज्ञानका आधारमा मात्र कतिपय साक्षर व्यक्तिहरूले पनि यस्ता सेवाको उपयोग गर्ने गरेका छैनन् । यस्तै यस्तै कारणले गर्दा डिजिटल बैंकिङ्गले आशातित फड्को मार्न बाँकी नै रहेको छ ।

डिजिटल बैंकिङ्गका लागि वित्तीय साक्षरता सम्बन्धी क्रियाकलाप समय सापेक्ष देखिँदैनन् । बचत गर्न र बैंक खाता खोल्ने कुरा बताउनु वित्तीय साक्षरता हो भन्ने भ्रमबाट पथ प्रदर्शित भए जस्तो देखिन्छ । आजभन्दा १५÷२० वर्ष अगाडि भए त्यो धारणालाई पनि ठीक मान्न सकिन्थ्यो । तर, अहिले परिस्थिति परिवर्तन भइसकेको छ । बैंकिङ्ग सेवा डिजिटल युगमा प्रवेश गरेको छ । पहिले भन्दा कैयौं गुणा धेरै बैंकिङ्ग प्रोडक्ट र सेवा थपिएका छन् । यसले सुविधा मात्रै थपेको छैन, बैंकिङ्गमा सहजता पनि ल्याएको छ । तैपनि, यस्ता सेवा लिने ग्राहक किन बढेका छैनन् भन्ने प्रश्नको उत्तर खोजिनु पर्छ । र, यस्ता प्रडक्ट र सेवाले जोखिम पनि बढाउँदै लगेका छन् भन्ने कुरा पनि बिर्सिनु हुँदैन । त्यसैले, अब बैंकिङ्ग प्रोडक्ट र सेवा कसरी सञ्चालन गर्ने भन्ने कुरालाई बैंकिङ्ग साक्षरता कार्यक्रमको पाठ्यक्रममा समेटिनु पर्दछ । बैंकिङ्ग प्रोडक्ट र सेवाको प्रयोग गर्दा आउन सक्ने जोखिम कसरी न्यूनीकरण गर्ने भन्ने विषयवस्तु पनि त्यसमा समावेश गरिनु पर्छ । बैंकिङ्गका बारेमा थाहा नपाएकालाई बताउनु त छँदैछ, आफ्नै ग्राहकलाई पनि बैंकिङ्ग सेवा उपयोग गर्न र जोखिम न्यूनीकरण सिकाउनु पनि बैंकिङ्ग साक्षरताको एउटा अङ्ग हो । त्यसैले वित्तीय साक्षरताको धारणामा नै परिवर्तन गर्न जरुरी भइसकेको छ ।

बैंकिङ्ग साक्षरता कार्यक्रम एउटा विद्यालयमा गएर गर्दैमा मात्रै पुग्दैन । एउटा गाउँमा गएर छोटो कार्यक्रम गर्दैमा पनि पर्याप्त हुँदैन । यसलाई बैंकभित्र र बाहिर दुवैतिर व्यापकता दिनु पर्छ । शाखा रहित बैंकिङ, आईक्यू कोड, पीओस मेसिन, इ–बैंकिङ्ग, डेबिट÷क्रेडिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ्ग, फोन पे, भाइबर बैंकिङ्ग, कनेक्ट आइपीएस, इसीसी लगायत कसरी कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा ग्राहकलाई पत्र र बुकलेट दिएर मात्रै पुग्दैन । यस्ता सेवा कसरी प्रयोग गर्ने भनेर ग्राहकलाई व्यवहारिक ज्ञान प्रदान गरिनु पर्छ ।

त्यसका लागि सकेसम्म सुरुवाती अवस्थामा छुट्टै कर्मचारीको व्यवस्था गर्नु पर्छ । डमी कारोबार गर्नका लागि आवश्यक स्रोत र साधनको व्यवस्था पनि गरिनुपर्छ । त्यस्तो गर्न नसकिए ग्राहक सेवा विभागका कर्मचारीले यस्ता व्यवहारिक रूपमा कारोबार गर्न लगाएर हेर्नुपर्छ । ग्राहकले अब सजिलै कारोबार गर्न सक्दछन्, जोखिम न्यूनीकरण गर्न सक्दछन् भन्ने कुराको सुनिश्चित गरिनु पर्छ । तब मात्रै डिजिटल बैंकिङ्गको प्रयोगमा व्यापकता आउँछ । डिजिटल बैंकिङ्ग सजिलै प्रयोग गर्न नजान्ने धेरै ग्राहकहरू छन् भन्ने कुरालाई हामीले भुल्नु हुँदैन । डिजिटल बैंकिङ्गले बैंकिङ्गमा सहजता त ल्याउँछ । तर, सँगसँगै उच्च जोखिम पनि लिएर आउँछ भन्ने वास्तविकतालाई पनि बिर्सिनु हुँदैन ।
यी सेवासँग सम्बन्धित जोखिम घटना नियमितरूपमा संकलन गरी रेकर्ड राख्नु पर्छ । त्यसैको आधारमा विश्लेषण गरिनु पर्छ । के कारणले गर्दा यस्ता घटना घटेका छन् भन्ने कुरा पत्ता लगाइनु पर्छ । र, त्यसैको आधारमा स्रोतमै सच्याइनु पर्दछ । सोही अनुसार जोखिम न्यूनीकरण गर्ने औजारको पनि प्रयोग गरिनु पर्छ ।

नेपाल जस्तो विकासोन्मख राष्ट्रमा यस प्रविधिको अनुशरण गर्दै वित्तीय पहुँच र वित्तीय साक्षरतालाई अगाडि बढाउँदै डिजिटल बैंकिङ्ग तीव्र रूपमा विकास तथा विस्तार गर्न निजी तथा सरकारी र सरोकारवालाको दूरदृष्टि जानु पर्दछ र वित्तीय जोखिम व्यवस्थापनको लागि पनि डिजिटल बैंकिङ्ग ठूलो टेवा पुग्ने छ । त्यसको लागि आजैबाट वित्तीय पहुँच र वित्तीय साक्षरतामार्फत डिजिटल बैंकिङ्गको अतुलनीय फाइदाहरू नागरिकलाई नागरिककोे सेवा नागरिककै घरबाट दिन नसकेमा हामी धेरै पछि पर्नैछौं ।

(लेखक ऋति फाउण्डेशनमा आवद्ध छन् ।)