मास्क नलगाउनेलाई कडाइ

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै कडा रूपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतवार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रूपमा प्रस्तुत हुन भनिएको हो ।

जिल्ला प्रशासन कार्यालयहरूका अनुसार गृह मन्त्रालयले मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशनलाई कडाइका साथ लागू गर्न भनेको छ । पछिल्लो समय जनस्तरबाट लापरवाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको सरकारी अधिकारीहरूको भनाइ छ । सोही अनुरूप कारबाहीको विवरण पनि दैनिक रूपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ । मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले यसअघि मास्क नलगाइ हिँड्नेलाई कारबाहीस्वरूप जनही एक सय रूपैयाँका दरले जरिवाना तिराउँदा एक लाख रूपैयाँ राजस्व उठेको थियो । सम्झाइबुझाइ गर्दा पनि अटेरी गरी स्वास्थ्य सुरक्षामा ध्यान नदिएपछि कारबाही नै गर्नुपरेको प्रशासन कार्यालयले जनाएको छ । यात्रा गर्दा, कार्यालयमा बस्दा र सडकमा निस्कँदा अनिवार्य मास्क लगाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसबाहेक भेटघाट वा छलफल हुँदा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मितिः   १२ श्रावण २०७७, सोमबार ०६:०३