युवाहरुद्वारा जीर्ण विद्यालयमा रङ्गरोगन

वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीको चाँदनीचौकीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा स्थानीय युवाहरूले रङ्गरोगन गरिदिएका छन् । युवाहरूको समूहले विद्यालयमा सरसफाइ र जीर्ण भएको भवनमा रङ्गरोगन गरेका हुन् ।

२०४४ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले दुई सय १५ जना बालबालिकाहरू अध्ययनरत छन् । रेडियो भेरी एफ.एम. सुर्खेतका प्रबन्ध निर्देशक केशव कोइरालाको आर्थिक सहयोगमा विद्यालयमा रङ्गरोगन गरिएको हो । आफूहरूले गाउँ–टोलमा रहेको विद्यालयमा संरक्षणको अभाव र राज्यको नजर पुग्न नसकेको देखेर रङ्गरोगन तथा सरसफाइ गरेको स्थानीय युवा बसन्त गिरीले बताए । विद्यालयका प्रधानाध्यापक निमबहादुर शाहले युवाहरूले गरेको कामको प्रशंसा गर्दै आभार व्यक्त गरे ।

पछिल्लो समय लाटीकोइलीका युवाहरू सामाजिक काममा अग्रसर हुँदै आएका छन् । उनीहरू सामाजिक सम्पदाहरूको संरक्षणमा समेत लागिपरेका छन् ।
यहाँका युवाहरूको सक्रियतामा केही दिन पहिले काँक्रेविहार संरक्षण क्षेत्रमा जरायोको आहाराका लागि सुपर नेपियर घासँका १५ सय बिरुवा रोपिएको थियो । स्थानीय युवा सुरज केसी र अनिल दाहालले आफूहरू सामाजिक काममा लागिरहँदा जनप्रतिनिधि तथा अग्रज व्यक्तिहरूबाट हौसला र साथ पाइरहेको सुनाए बताए ।

विद्यालय सरसफाइ कार्यक्रममा स्थानीय युवा अनमोल श्रेष्ठ, नारायण थापा, कुशल श्रेष्ठ, कैची ग्याङ समूहका युवाहरू समेतको सहभागिता रहेको थियो । सहभागी ३५ जना युवाहरूको लागि खाना र खाजाको व्यवस्था एकदेव गिरी, रेमश थापा, राजन गिरी र गोविन्द्र गिरीलगायतले गरेका थिए ।

प्रकाशित मितिः   ११ श्रावण २०७७, आईतवार ०६:०२