तारेख छुटेकाको तालिका सार्वजनिक

जिल्ला अदालत सुर्खेतले लकडाउनको अवधिमा तारेख छुटेकाहरूको लागि व्यवस्थापन तथा सहजीकरण गर्न तालिका सार्वजनिक गरेको छ । अदालतले तारेखको तालिकासँगै कार्यसम्पादनलाई व्यवस्थित, छिटो–छरितो र सुशासन एवम् सेवाग्राहीमैत्री बनाउन विभिन्न आठ वटा निर्णयहरू गरेको हो ।

नेपालको न्यायिक इतिहासमै पहिलो पटक प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सबै १९ जना न्यायाधीशको बृहत पूर्ण इजलास बसेर लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई हदम्यादको सुविधा दिने फैसला सुनाएको थियो । सोही अनुरूप जिल्ला अदालत सुर्खेतले अदालत उपस्थित हुन नसकेका सेवाग्राहीका लागि लकडाउन खुलेपछि तारेख बोक्ने नयाँ तालिका सार्वजनिक गरेको हो । सरकारले कोरोना महामारीविरुद्ध गरेको लडकाउनको अवधिलाई अदालतले ‘शून्य’ समय मानेर न्यायिक कामकारवाही सुरु हुने भएका हुन् । लकडाउनका कारण अदालती प्रक्रिया नचल्दा हदम्याद गुज्रिएका, तारेख छुटेका, पेशी वा प्रतिवादी दिन नपाएका सबैले यस्तो सुविधा पाएका छन् ।

२०७६ चैत महिना र २०७७ वैशाख महिनाको तारेख पुनः तोकिएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए । उनका अनुसार लकडाउनको कारण अदालतका काम कारबाहीहरू रोकिएको र २०७७ साउन ६ गतेबाट पूर्णरूपमा लकडाउन खुलेकोले साउन १५ गतेदेखि तारेख खुल्ला गर्ने निर्णय गरी तारेख तालिका समेत सार्वजनिक गरिएको हो । यसअघि २०७६ चैत महिनाको ६, ७ र ९ गते तारेख तोकिएकाहरूको साउन १५ गते, चैत १०, ११ र १२ गते तारेख तोकिएकाहरूको १६ गते, १३, १४ र १६ गते तारेख तोकिएकाहरूको १८ गते, १७, १८ र १९ गते तारेख तोकिएकाहरूको १९ गते पुनः तारेख तोकिएको छ ।

त्यस्तै जिल्ला अदालत सुर्खेतले चैत २०, २१ र २३ गते तारेख तोकिएकाहरूको साउन २० गते, चैत २४, २५ र २६ गते तारेख तोकिएकाहरूको २१ गते र २७, २८ तथा ३० गते तारेख तोकिएकाहरूको साउन २२ गतेका लागि पुनः तारेख तोकिएको छ ।

यसैगरी, २०७७ साल वैशाख २, ३ र ४ गते तारेख तोकिएकाहरूको लागि साउन २३ गते, ५, ७ र ८ गतेको २५ गते, वैशाख ९, १०, ११ र १२ गतेको साउन २६ गते, १३, १४, १५ र १६ गतेको २७ गते १७, १८, १९, २० र २१ गतेको २८ गते, वैशाख २२, २३, २५, २६ र २७ गतेको २९ गते र २८, २९, ३० र ३१ गतेभन्दा पछाडिको मितिका लागि साउन ३० गते तारेखको मिति तोकिएको श्रेस्तेदार बास्कोटाले बताए । तारेखका लागि तोकिएको समय तालिका बाहिरी जिल्लाका सेवाग्राहीका हकमा भने अनिवार्य नहुने जानकारी दिए ।

यस्तै, २०७७ कार्तिक १६ गतेदेखि २०७७ माघ १५ गतेसम्म फिराद तथा प्रतिउत्तर दर्ता दिनको २ बजेसम्म र अन्य समयमा दिनको ३ बजेसम्म मात्र दर्ता हुने (हदम्याद बाहेक) र शुक्रवारको हकमा १ बजेसम्म हुने निर्णय गरिएको श्रेस्तेदार बास्केटाले जनाए ।

साउन ११ गतेदेखि फिराददर्ता दैनिक पाँच रूपैयाँका दरले खुला गर्ने, प्रतिउत्तर समेत सोही मितिबाट खुल्ला गर्ने, जिल्ला अदालतको नियमित प्रयोगकर्ता (लेखनदास) तथा वारेसहरूको परिचय–पत्र बनाउने तथा अदालतभित्र सेवा लिन आउँदा अनिवार्य रूपमा उक्त परिचय–पत्र लगाएर आउनुपर्ने, कानुन व्यवसायीहरूले आफ्नो पक्षको मुद्दाको बहस गर्दा आफूले बहस गरेको कुरा/बहस गर्ने कुरा टिपोट गरी पेश इजलाश वा इजलाश सहायक समक्ष पेश गर्ने निर्णय गरिएको अदालतले जनाएको छ । अंश मुद्दामा अनिवार्य रूपमा फिराद/प्रतिउत्तर पत्रमा पुस्तावारी देखिने गरी चित्रगत रूपमा उल्लेख गर्नुपर्ने र कानुन व्यवसायीहरूले अदालतमा पेश गर्ने फिराद, प्रतिउत्तर पत्र, रिट निवेदन, लिखित जवाफ दर्ता सम्बन्धित पक्षको स्व–घोषणा फारम अनिवार्य रूपमा पेश गर्नुपर्ने समेत निर्णय गरिएको छ ।

प्रकाशित मितिः   ११ श्रावण २०७७, आईतवार ०६:०३