कोरोना प्रभावितलाई उद्यमशील बनाउन पहल

वीरेन्द्रनगरका कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित व्यक्तिहरूलाई उद्यमशील बनाइने भएको छ । कोरोनाका कारण रोजगारी गुमाएका तथा कोराना संक्रमित परिवारलाई आयआर्जनमा जोड्न यस्तो योजना ल्याइएको हो ।

कार्यक्रम अन्तर्गत नगरपालिकाका एक सय ५० जना छनौट गरी उद्यमशीलतासँग जोडिने छ । उनीहरूको आयआर्जन वृद्धि गर्नका लागी कार्यक्रम सञ्चालन गरिएको जिल्ला लघु उद्यमी समूह संघ सुर्खेतकी कार्यक्रम संयोजक अन्जु रानाले जानकारी दिइन् । युनएनडीपीको आर्थिक सहयोगमा कोरोनाबाट प्रभावित अति कमजोर वर्गको आयआर्जन सुरक्षित गर्न कार्यक्रम सुरु गरिएको राष्ट्रिय लघु उद्यमी महासंघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले बताए ।

कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएका, सिमान्तकृत, अति विपन्न वर्गलाई छनौट गरी लघु उद्यममार्फत स्वरोजगार बनाइने छ । उनीहरूको रुची र बजारको माग तथा आवश्यकताका आधारमा तालिम सञ्चालन गरिने खत्रीको भनाई छ । युवालाई व्यवसायिक तथा सिपमुलक तालिम प्रदान गरि नयाँ उद्यमी बनाउने योजना छ ।

युवालाई उद्यमशिलता विकास तालिम सञ्चालनपश्चात उनीहरूले व्यवसाय गर्न इच्छा तथा बजार भएको विषयमा प्राविधिक सिप विकास तालिम प्रदान गरि उद्यमी सिर्जना गरिने खत्रीले जानकारी दिए । नयाँ उद्यमी सिर्जनाका लागि स्थानीय समुदायमा सहभागितात्मक ग्रामीण लेखाजोखा तथा स्रोत सर्वेक्षणबाट पहिचान भएका स्थानीय स्रोत साधन, बजार माग, समुदायको चाहना तथा आकर्षणका आधारमा समुदायले बनाएको योजना अनुसार लक्षित वर्गलाई उद्यमशिलता विकास तालिम प्रदान गरिनेछ ।

संस्थाले व्यवसाय सञ्चालनका लागि व्यवसाय सुरु तथा सुधार सम्बन्धी तालिम सञ्चालन गर्ने, सिप विकास तालिम प्रदान गर्ने, सिपअनुसारको व्यवसाय सञ्चालनका लागि उपयुक्त प्रविधि उपलब्ध गराउने, आवश्यक पर्ने आर्थिक रकमका लागि वित्तीय संस्थासँग समन्वय गर्ने लगायतका सहयोग पनि गर्नेछ ।

प्रकाशित मितिः   १० श्रावण २०७७, शनिबार ०६:०३