अब कर्णालीबाटै ‘इम्बोस्ड नम्बर’

कर्णाली प्रदेशमा दर्ता भएका सवारी साधनको इम्बोस्ड नम्बर प्लेट जडानको काम सुरु गर्ने तयारी गरिएको छ । इम्बोस्ड प्लेटको विरुद्धमा परेको रिट खारेजीको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि यातायात व्यवस्था विभागले शुक्रवारदेखि बाग्मती प्रदेशबाट इम्बोस्ड प्लेटको वितरण सुरु गरेको हो । यसअघि सर्वोच्चले अन्तरिम आदेश दिएपछि इम्बोस्ड प्लेटको वितरण रोकिएको थियो । इम्बोस्डमा प्रयोग भएको अंग्रेजी भाषाका विषयमा मुद्दा परेपछि काम अगाडि बढ्न सकेको थिएन ।

तत्कालका लागि बागमती प्रदेशमा दर्ता रहेका सवारीहरूले मात्रै इम्बेस्ड प्लेट जडानको सुविधा पाउनेछन् । प्लेटको जडानपछि यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले नाकाकरण भइसकेका कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा पनि इम्बोस्ड प्लेट जडानको काम सुरु गर्ने तयारी गरिएको जनाए ।

इम्बोस्ड प्लेट जडान गर्न चाहाने सवारी धनीले विभागको वेबसाइटमा गएर अनलाइन आवेदन दिनसक्नेछन् । त्यसका लागि सवारीका अन्य करहरू चुक्ता गरेको हुनुपर्ने छ ।

यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । धातुको प्लेटमा लेखिएका अक्षरहरू बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । सवारीको अगाडि भाग जोडिने सुरक्षात्मक स्टिकरमा सवारीको डिटेल विवरण टाँसिएको हुन्छ । यो प्लेट कार्यान्वयनपछि सवारी प्रयोग गरेर हुने अपराधमा कमी आउने र सवारी चोरीको घटना नहुने विभागको दावी छ ।

प्रकाशित मितिः   १० श्रावण २०७७, शनिबार ०६:०१