भयावह बन्दै सम्बन्ध विच्छेद

केही वर्षयता सम्बन्ध विच्छेद भयावह बन्दै गएको छ । वर्षेनी सम्बन्ध विच्छेद गराउनेको संख्या डरलाग्दो रूपले वृद्धि हुँदै गएको हो । अदालतमा आउने मुद्दामध्ये सबैभन्दा बढी पारपाचुके अर्थात् सम्बन्ध विच्छेदका छन् ।

गएको आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्म जिल्ला अदालत सुर्खेतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन् । अदालतमा दर्ता भएका एक हजार ६ सय नौ मुद्दामध्ये तीन सय २७ मुद्दा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार यामप्रसाद बाँस्कोटा बताउँछन् । उनी भन्छन्, ‘सुर्खेतमा मात्रै होइन । देशभरी नै सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।’

महिलाहरूमा आएको चेतना, वैदेशिक रोजगारलगायतका कारणले पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएको हुन सक्ने बाँस्कोटाले बताए । उनले अदालतमा सबै किसिमका मुद्दा आउने गरे पनि दुनियाँवादी देवानी अन्तर्गत पारिवारिक विवादका घटना उल्लेख्य आउने गरेको बताए ।

अदालतका अनुसार आर्थिक वर्ष २०७६÷७७ को जेठसम्म दर्ता भएका तीन सय २७ सम्बन्ध विच्छेदका घटनामध्ये एक सय ८४ फछ्र्यौट भएका छन् भने एक सय ४३ मुद्दा बाँकी रहेका छन् ।
जिल्ला अदालत सुर्खेतमा अन्य मुद्दाको चाप पनि उस्तै छ । गत जेठसम्म जबर्जस्ती करणीका ८७ मुद्दा दर्ता भएका छन् । जसमध्ये ४७ मुद्दा फछ्यौट भएको र ४० वटा मुद्दा अझै बाँकी रहेको अदालतले जनाएको छ । हाडनाता करणीका सात मुद्दा दर्ता भएकोमा चार फछ्र्यौट भएका छन् भने तीन वटा बाँकी छन् ।

त्यस्तै जबर्जस्ती करणी उद्योगका २४ मुद्दा दर्ता भएकोमा १५ फछ्र्यौट भइ नौ वटा मुद्दा बाँकी रहेको अदालतको तथ्याङ्क छ । लागूऔषधका ८५ मुद्दा दर्ता भएकोमा ५७ फछ्र्यौट भएका छन् । बहुविवाहका २७ मुद्दा दर्ता भएकोमा १४ फछ्र्यौट भइ १३ बाँकी रहेको जनाइएको छ । ज्यान सम्बन्धी कसूरका ८३ मुद्दा दर्ता भएकोमा ५२ मुद्दा फछ्र्यौट भएका छन् । ३१ मुद्दा भने बाँकी रहेको अदालतले जनाएको छ ।

बालविवाहको पाँच मुद्दा दर्ता भएकोमा चार मुद्दा फछ्र्यौट भइ एक वटा मुद्दा मात्र बाँकी रहेको, छुवाछूत तथा भेदभावका दुई वटा मुद्दा दर्ता भएकोमा एक वटा फछ्र्यौट भइ एक वटा मुद्दा बाँकी रहेको, अपहरण सम्बन्धी कसूरका ११ मुद्दामा तीन वटा फछ्र्यौट र आठ वटा बाँकी, चोरी तथा डाँका कसूरका ८९ वटा मुद्दा दर्ता भएकोमा ४७ वटा फछ्र्यौट भइ ४२ वटा बाँकी रहेका छन् ।

यस्तै, जिल्ला अदाल सुर्खेतमा आपराधिक लाभ सम्बन्धी कसूरका २१ वटा मुद्दा दर्ता भएकोमा चार वटा फछ्र्यौट भएका छन् भने १७ वटा मुद्दा बाँकी रहेका छन् । घरेलु हिंसाका ६६, किर्ते जालसाजी लगायतका ७५, गाली बेइज्जतीका २१, चेक अनादरका ६१ मुद्दा समेत गएको आर्थिक वर्षमा अदालतमा दर्ता भएका हुन् ।

अदालतमा आउने मुद्दामध्ये सबैभन्दा बढी दुनियाँवादी देवानी अन्तर्गत पारिवारिक विवाद, सम्पत्ति सम्बन्धी, भूमि सम्बन्धी, करार तथा अन्य दायित्व र विविध देवानीका मुद्दा रहेको अदालतको तथ्याङ्कमा छ । सरकारवादी फौजदारी मुद्दा अन्तर्गतका विवाह सम्बन्धी कसूर, ज्यान सम्बन्धी कसूर लगायतका मुद्दा समेत चाप उच्च रहेको अदालतले जनाएको छ । विशेष ऐन अन्तर्गत पर्ने लागूऔषधका घटना पनि अत्याधिक आउने गरेका छन् ।

अधिवक्ता रमा प्याकुरेलले पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्नुका थुप्रै कारणहरू रहेको औंल्याइन् । ‘महिलाहरूले विस्तारै कानुनको उपयोग गर्न थालेका छन्,’ उनले भनिन् ‘आफू अन्यायमा परेको कुरामा महिलाहरू जानकार हुँदैछन् ।’ उनले सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा महिलाहरूको चेतनाको स्तर बढ्नु मुख्य कारण भएको बताइन् । महिलाहरू आत्मनिर्भर हुनु, चेतनाको स्तर वृद्धि हुँदै जानु र अन्याय नसहनुले अदालतसम्म जानेको संख्या बढेको उनको भनाइ छ । ‘पहिले महिलाहरू श्रीमान्बाट धेरै पीडित हुन्थे,’ अधिवक्ता प्याकुरेल भन्छिन्, ‘अब त्यो अवस्था रहेन ।

महिलाहरू सक्षम भएसँग अन्यायसँग जुध्न थालेका हुन् ।’ सम्बन्ध विच्छेदको स्थितिसम्म आउनु भने परिवार र समाजका लागि सुखद नहुने उनले बताइन् । पारिवारिक खटपट भए पनि यसअघि सम्बन्ध विच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो । पछिल्लो समयमा पुरुषहरू पनि सम्बन्ध विच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् । यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो ।

पत्नीसँग सम्बन्ध विच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोक्ने व्यवस्था थियो । तर, पछिल्लो कानुनले प्रक्रियामा सहज बनाएपछि पत्नीपीडित पुरुषहरू सम्बन्ध विच्छेदमा अग्रसर हुने गरेको देखिएको हो । सम्बन्ध विच्छेदपछि उनीहरूका बालबच्चाको विचल्ली हुने तथा परिवार र समाजमा नराम्रो प्रभाव पर्ने भएकाले सकभर यो स्थितिमा नपुगेकै राम्रो हुने समाजशास्त्रीहरूको धारणा छ ।

प्रकाशित मितिः   ७ श्रावण २०७७, बुधबार १५:४७