कर्णालीमा बाढी पहिरोमा परी २५ जनाको मृत्यु

प्राकृतिक विपद्मा परी कर्णालीमा तीन महिनाको अवधिमा ठूलो जनधनको क्षति भएको छ । प्रदेशका १० जिल्लामा वैशाख १ गतेदेखि साउन ६ गतेसम्म बाढी, पहिरोमा परी २५ जनाले ज्यान गुमाए भने २३ जना घाइते भएका हुन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी राजेशनाथ बास्तोलाका अनुसार बाढी पहिरोमा परी सबैभन्दा धेरै जाजरकोटमा १३ जनाको मृत्यु भएको छ । सल्यान र रुकुम–पश्चिममा चार–चार जना तथा कालीकोट र सुर्खेतमा दुई–दुई जनाको मृत्यु भएको हो ।

त्यस्तै, घाइते हुनेहरूमा रुकुम–पश्चिम र सल्यानका ६–६ जना, दैलेख र जाजरकोटका तीन–तीन जना, डोल्पाका दुई जना, कालीकोट र हुम्लाका एक–एक जना रहेका छन् । एसएसपी बास्तोलाका अनुसार प्राकृतिक विपद्का कारण हालसम्म प्रदेशमा दुई सय ८४ वटा घरमा क्षति पुगेको छ ।

वैशाखयता विपद्मा परेर ५९ वटा पशुचौपाया मरेका छन् भने चार वटा वेपत्ता भएका छन् । विपद्का कारण करिब ६ करोड ६५ लाख ५३ हजार सात सय ९० रूपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढी र पहिरोले अहिले पनि कर्णालीका विभिन्न ठाउँका सडकहरू अवरुद्ध भएका छन् ।

प्रकाशित मितिः   ७ श्रावण २०७७, बुधबार १५:४४