मास्क नलगाउनेलाई कारबाही गर्दा एक लाख राजस्व

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाइ हिँड्नेहरूलाई कारबाही गर्दा एक लाख रूपैयाँ भन्दा बढी राजस्व उठेको छ । प्रशासन कार्यालयले दुई सातामा एक हजार ५९ जनालाई कारवाही गरी एक लाख पाँच हजार नौ सय राजस्व संकलन गरेको हो ।

गृह मन्त्रालयको असार २२ गतेको निर्देशन अनुसार प्रशासन कार्यालयले मास्क नलगाई बाहिर निस्कनेलाई एक सय रूपैयाँ जरिवाना तिराउने गरिएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाहीस्वरूप जरिवाना तिराइएको बताए ।

लकडाउनको अवधिमा अन्य जिल्लामा भन्दा सुर्खेतमा कडाइ गरे पनि नागरिकहरूमा अटेरी गर्ने प्रवृत्ति भने बढेको बताए । उनका अनुसार कार्यालयले मास्क नलगाई बाहिर निस्केका एक हजार ६३ जनालाई सम्झाइ–बुझाइ गरी पठाएको छ ।

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउनको उल्लंघन गर्ने पाँच सय ८३ सवारी साधन नियन्त्रणमा लिएर सवारीधनीलाई कारबाही गरेको छ । जसबाट पाँच लाख ८९ हजार पाँच सय रूपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ६ श्रावण २०७७, मंगलवार ०६:०३