११ जनामा कोरोना पुष्टि

सुर्खेत : कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोमवार गरिएको आरटी–पीसीआर परीक्षणमा ६ जिल्लाका ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतको प्रयोगशाला गरिएको परीक्षणमा आठ जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा एक जना र भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा दुई जनामा संक्रमण देखिएको छ ।

प्रदेश अस्पतालमा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका दुई र पञ्चपुरी नगरपालिकाका दुई, सल्यानको कालीमाटी गाउँपालिकाका एक, पलाँता गाउँपालिका कालीकोटका एक, नाम्खा गाउँपालिका हुम्लाका एक र चामुण्डाविन्द्रासैनी नगरपालिकाका एक जना रहेका छन् ।

त्यस्तै दैलेख जिल्ला अस्पतालमा गरिएको कोरोना परीक्षणमा महाबु गाउँपालिकाका एक जना रहेका छन् भने भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा शारदा नगरपालिका सल्यानका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार सात सय ४९ पुगेको छ । जसमध्ये एक हजार पाँच सय १९ संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या दुई सय २४ रहेको छ । हालसम्म ३६ हजार सात सय ७४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मितिः   ६ श्रावण २०७७, मंगलवार ०६:००