चार महिनापछि कंकाल फेला

शिकार खेल्न गएका एक जना व्यक्तिको कंकाल भेटिएको छ । बराताल गाउँपालिका–१ समसेलीका ३१ वर्षीय शिवराम रानाको चार महिनापछि कंकाल भेटिएको होे । उनी गएको फागुन १० गते दुई जना साथीसहित बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएदेखि वेपत्ता थिए ।

जिल्ला प्रहरी कार्यालयले राना हराएको चार महिनापछि असार १६ गते बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पाँडेखोलामा उनको कंकाल भेटाएको थियो । आइतवार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत रानाको कंकाल र सामान सार्वजनिक गरेको छ । प्रहरीले उक्त ठाउँबाट एक थान भरुवा बन्दुक, हात खुट्टाको हड्डी र उनले लगाएको कपडा, हँसियालगातका सामग्री फेला पारेको हो । राना वेपत्ता भएपछि उनकी श्रीमती मनरूपा रानाले खोजीदिनका लागि प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । उक्त सामानहरू परिवारलाई देखाउँदा रानाकै भएको पुुष्टी भएको जिल्ला प्रहरी प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । फागुनमै वेपत्ता भएको र खोजीदिनका लागि भनेर निवेदन दिएपछि प्रहरीले खोजी गर्न थालेको चार महिनापछि कंकाल भेटिएको उनले बताए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको जनाए । प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको टोलीले कंकाल र सामान फेला पारेको हो ।

प्रहरीले उनीसँगै शिकार खेल्न गएका दुई जनालाई पक्राउ गरेको छ । मृतकका परिवारले हत्या गरेको आरोपमा दुई जनाविरुद्ध जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । मृतकसँग शिकार खेल्न गएका सोही ठाउँका यामबहादुर समसेली र सूर्यबहादुुर वलीलाई प्रहरीले पक्राउ गरेर अनुुसन्धान थालेको हो । उनीहरू घटना भएको दुई–चार दिनमा बर्दिया हुँदै भारत गएर बसेका थिए । कोरोनाका कारण लकडाउन भएपछि घर फर्किए लगत्तै उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा शिकार खेल्न जाँदा बाघले शिवरामलाई आक्रमण गरेको र आफूहरू भाग्न सफल भएको उनीहरूले बयान दिएका छन् ।

प्रकाशित मितिः   ५ श्रावण २०७७, सोमबार ०६:०३