सडक दुर्घटनामा १४ जनाको मृत्यु

कर्णाली प्रदेशमा लकडाउन अवधिभर सवारी दुर्घटनामा परेर १४ जनाको ज्यान गएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको बन्दाबन्दीमा फाटफूट मात्र यातायात सञ्चालन भए पनि प्रदेशमा ठूलो संख्याले सडक दुर्घटनाबाट ज्यान गुमाएका हुन् । सरकारले चैत ११ गतेदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको थियो । जुन केही फितलो गरिए पनि हालसम्म जारी नै छ । प्रदेश प्रहरी कार्यालयले सोही अवधिमा सवारी दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको जनाएको छ ।

लकडाउन अवधिमा कम सवारी साधन सञ्चालन गर्दागर्दै पनि दुर्घटनामा भने कमी नआएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) लोकनाथ तिम्सिनाले लकडाउन अवधिमा कम सवारी सञ्चालन भए पनि ४५ वटा सवारी साधन दुर्घटनामा परेको बताए । उनका अनुसार उक्त दुर्घटनामा कालीकोटमा ६ जना, सुर्खेत, सल्यान, दैलेखमा दुई/दुइ जना, रुकुम–पश्चिम र जुम्लामा एक÷एक जनाको मृत्यु भएको हो । दुर्घटना हुनेमा बस, ट्रक जीप, टिप्पर, मोटरसाइकल लगायतका सवारी साधन छन् ।

यस्तै सवारी दुर्घटनामा परेर एक सय २३ जना घाइते भएका छन् । जसमध्ये ३५ जना गम्भीर घाइते भएका हुन् । अधिकांश घटना ट्राफिक नियमको उल्लंघन गर्दा भएको प्रहरीले जनाएको छ । कच्ची तथा जीर्ण सडक, क्षमताभन्दा बढी यात्रु, मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा बढी दुर्घटना भएको प्रहरीको ठहर छ । यो अवधिमा प्रदेशका हुुम्ला, मुगुु, डोल्पा, जाजरकोट जिल्लामा भने सडक दुर्घटनाबाट मुत्यु भएको छैन ।

प्रकाशित मितिः   ५ श्रावण २०७७, सोमबार ०६:०३