विपद् व्यवस्थापनमा प्रदेशको तयारी

बस्ती सार्नेदेखि खाद्यान्नको जोहोसम्म

प्रदेश विपद् व्यवस्थापन केन्द्रको गत सोमवार बसेको बैठक ।

कर्णाली प्रदेशमा प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँमा सार्ने तयारी गरिएको छ । प्रदेश सरकारले विपद् जोखिममा रहेका बस्तीहरूको पहिचान गरेर त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित ठाउँमा राख्ने तयारी गरेको हो । जोखिममा रहेका बस्ती पहिचान गरेर सुरक्षित स्थानमा सार्ने तयारी थालिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

कर्णालीमा अधिकांश जमिन भिरालो भएकाले यहाँ पहिरोको जोखिम छ । प्रदेशमा विपद् न्यूूनीकरणका लागि ठोस योजना नबन्दा वर्षेनी ठूूलो जनधनको क्षति हुुँदै आएको छ । आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले अब जोखिममा परेका नागरिकहरूलाई सुरक्षित ठाउँमा सारिने गृहकार्य थालेको हो । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले तत्कालका लागि अस्थायी रूपमा सुरक्षित ठाउँमा राख्ने निर्णय गरेको छ । तत्कालका लागि अस्थायी रूपमा व्यवस्थापन गर्ने र विस्तारै एकीकृत बस्ती विकास कार्यक्रममार्फत व्यवस्थापन गर्ने सरकारको तयारी छ ।

मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुुख एवम् सूचना अधिकारी कृष्णबहादुर रोकायले बाढी पहिरोको जोखिम रहेका ठाउँहरूका नागरिकहरूलाई सुरक्षित स्थानमा सारिने तयारी थालिएको बताए । यसका लागि विपद्को जोखिममा रहेका ठाउँको नक्साङ्कन तथा पहिचान गरेर तत्काल काम अघि बढाइने उनले जानकारी दिए । उनका अनुसार यसै बर्खामा अस्थायी रूपमा व्यवस्थापन गरिने र आगामी वर्षदेखि स्थायी रूपमा व्यवस्थापन गर्ने तयारी मन्त्रालयको छ । जोखिमयुक्त ठाउँमा रहेका बासिन्दाहरूको उद्धार र राहतका लागि वडास्तरसम्म कार्यदल बनाएर काम गरिने र यसको जिम्मेवारी सुरक्षा निकायलाई दिइने बताइएको छ ।

उद्धारमा हेलिकोप्टर

प्रदेश सरकारले तत्काल राहत र उद्धारका लागि तीन महिनासम्म प्रदेश राजधानी सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राख्ने भएको छ । विपद् व्यवस्थापनका लागि प्रदेशले संघीय सरकारसँगको समन्वयमा हेलिकोप्टर ‘अलर्ट’ अवस्थामा राख्ने भएको हो । प्रदेशका जुनसुकै स्थानमा प्राकृतिक विपद्मा परेका नागरिकको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न लागिएको प्रदेश सरकारले जनाएको छ । दश वटै जिल्ला तथा यातायातको पहुुँचमा रहेका स्थानीय तहहरूमा उद्धार र राहतको काम गर्नुुपरेमा भौतिक पूूर्वाधार मन्त्रालयले प्रत्येक जिल्लामा एक÷एक वटा सवारी साधन राख्ने व्यवस्था गर्ने जनाइएको छ ।

खाद्यान्नको जोहो

प्रदेश सरकारले विपद्का समयमा आवश्यक पर्ने खाद्यान्न तयारी अवस्थामा राख्ने बताएको छ । विपद्मा परेकालाई राहत उपलब्ध गराउन सुुर्खेतमा चार हजार क्वीन्टल चामल र अन्य जिल्लाका खाद्य डिपोमा दुुई हजार क्वीन्टल चामललगायतका खाद्यवस्तु व्यवस्थापन गर्न लागिएको छ । खाद्यान्न व्यवस्थापनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय कर्णालीलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट भुुक्तानी दिइनेछ । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोको कारण विस्थापित परिवारलाई प्रदेश सरकार र डब्लूएफपीले दुुई महिना पुुग्ने गरी खाद्य व्यवस्थापन गर्ने भएको छ । पहिरोबाट विस्थापित पाँच सय परिवारलाई खाद्यान्न उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी रोकायले जानकारी दिए ।

अवरोध खुलाउन डोजर

वर्षात्को समयमा पहिरोका कारण अवरुद्ध सडक खुुलाउनका लागि डोजरको व्यवस्था गरिने भएको छ । प्रदेशका मुख्य सडकमा २० देखि ३० किलोमिटरको दूरीमा एक÷एक वटा डोजर राखिने भएको हो । बाढी र पहिरोका कारण हुने सडक अवरोध हटाउन राजमार्ग तथा अन्य सहायक सडकहरूमा डोजर लगायतका औजारहरू तयारी अवस्थामा राख्न लागिएको छ । त्यसका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तयारी थालेको छ । बर्खामा कर्णालीका अधिकांश सडक पहिरोका कारण अवरोध हुने गरेका छन् । पहिरो पन्छाउने औजार तथा उपकरण तयारी अवस्थामा नराखिँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।

प्रकाशित मितिः   २ श्रावण २०७७, शुक्रबार ०६:०२