सुर्खेत भित्रिए सलहका दुई झुण्ड
भारत हुँदै नेपालको तराई तथा पूर्वी क्षेत्रमा देखिएको सलह किरा सुर्खेतमा पनि भित्रिएको छ । सुर्खेतमा बिहीवार दिउँसो सलहका दुुई वटा झुुण्ड भित्रिएका हुन् । सलहका झुण्ड हर्रे–छिन्चुहुँदै वीरेन्द्रनगर उपत्यकातिर भित्रिएको छिन्चुका स्थानीयले बताएका छन् । छिन्चुमा एकै पटक सलहको ठूलो झुण्ड आएपछि त्यहाँका किसानहरूले थाल र ड्रम बजाएर भगाएको भेरीगंगा नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले जानकारी दिए ।
कृषि विकास निर्देशनालयका अनुसार एउटा ठूलो र एउटा सानो झुण्ड हावाको बेगसँगै सुर्खेत भित्रिएका हुन् । निर्देशनालयका सूचना अधिकारी याम रानाले छिन्चुबाट एउटा झुण्ड रामघाट हुँदै उत्तरतर्फ गएको र ठूलो झुण्ड सत्तरी हुँदै रानीघाटतर्फ गएको जानकारी दिए । यसअघि जुम्ला, कालीकोट र जाजरकोटमा पनि फाटफूट सलहको झुण्ड देखिएको उनले बताए ।
‘कर्णालीमा सलह देखिए पनि बालीमा क्षति गरेको छैन । तर किसानहरू सचेत हुनुपर्छ,’ उनले भने, ‘सलह आइहाले थाल, ड्रमलगायतका आवाज दिने सामग्री बजाएर भगाउन सकिन्छ ।’ हावाको बेगसँगै सलहको झुण्ड आकाशमै घुमिरहेकाले बालीमा क्षति नगर्ने अनुमान गरिएको उनले बताए ।
सलह भित्रिएपछि किसानहरू बालीनाली कसरी जोगाउने भन्नेमा चिन्तित छन् । एक पटक हजारौंको संख्यामा आउने सलह किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । कर्णालीमा सलह व्यवस्थापनका लागि कृषि निर्देशनालयका निर्देशकको संयोजकत्वमा समिति बनाइएको छ । उक्त समितिले कर्णालीमा कृषकहरूलाई सलह भगाउने सन्देश सूचना प्रवाह गर्ने र व्यवस्थापनका लागि काम गर्दै आएको जनाइएको छ ।
प्रकाशित मितिः २ श्रावण २०७७, शुक्रबार ०६:०१
साझा बिसौनी ।