वैकल्पिक पठनपाठन पनि बन्द

शिक्षक कर्मचारीलाई बेतलबी बिदा

सुर्खेत: निजी विद्यालय सञ्चालकहरूले साउन १ गते ‐आज) देखि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप बन्द गर्ने भएका छन् । निजी विद्यालयहरूले अनलाइन र दूर शिक्षाको पठनपाठन रोक्ने भएका हुन् ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैत १ गते लकडाउन गरेपछि शैक्षिक संस्था बन्द थिए । सरकारले असार १ गतेदेखि वैकल्पिक माध्यमबाट पढाउने भनेपछि सामुदायिक तथा निजी विद्यालयहरूले पहुँचमा रहेका विद्यार्थीलाई अनलाइन, रेडियो र टिभीबाट पढाइरहेका थिए ।

उनीहरूले तत्काल विद्यालयमा उपस्थित गराएर पढाइ सञ्चालन गर्न नसके पनि साउन १ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थीको रजिष्ट्रेशन गर्नेलगायतका प्रशासनिक काम गर्न पाउनुपर्ने माग सरकारसँग राखेका थिए । कोरोनाका कारण समस्यामा परेका विद्यालयलाई सहुलियतमा ऋण दिनुपर्ने तथा अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर विद्यार्थीबाट निश्चित शुल्क उठाउन पाउनुपर्ने उनीहरूको माग थियो । तर सरकारले अभिभावकसँग शुल्क उठाउन पाउनुपर्ने लगायतका आफूहरूको माग सम्बोधन नगरेकोले यस्तो निर्णय लिन बाध्य भएको निजी विद्यालय सञ्चालकहरूले जनाएका छन् ।

आफूहरूको माग पूरा गर्नेतर्फ सरकार गम्भीर नभएको भन्दै देशैभर सुरु गरिएका भर्चूअल कक्षा बन्द गर्ने निर्णय निजी विद्यालय सञ्चालकहरूले गरेका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले सबै किसिमका वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप रोकेर विद्यालय बन्द गर्ने बताएका छन् ।

कर्णालीमा झण्डै चार सय निजी विद्यालय छन् । ती विद्यालयमा करिब दुई लाख विद्यार्थी अध्ययनरत छन् भने सात हजार शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालय सञ्चालनका लागि ४० देखि ४५ अर्ब रूपैयाँको हाराहारीमा निजी क्षेत्रले लगानी गरेको छ । निजी विद्यालयले वार्षिक झण्डै १५ देखि २० करोड रूपैयाँ राज्यलाई कर बुझाउँदै आएका छन् ।

 

निजी विद्यालयले शिक्षक–कर्मचारीहरूलाई अर्को व्यवस्था नहुञ्जेलको लागि बेतलबी बिदा दिने निर्णय समेत गरेका छन् । शिक्षक तथा कर्मचारीको वैशाखदेखि असारसम्मको तलब सुविधा विद्यालय खुलेर अवस्था सहज भएपछि भुक्तानी गर्ने र साउन १ गतेदेखि बेतलबी बिदा दिने उनीहरूको भनाइ छ । कोरोनाका कारण निजी स्कुलहरूमा चरम आर्थिक संकटमा परेको उनीहरूको गुनासो छ । शैक्षिक गतिविधि सञ्चालन गर्न नपाउँदा शिक्षक कर्मचारीलाई तलब खुवाउन नसकेको, ऋणको ब्याज तथा किस्ता तिर्न र घर भाडा तिर्न नसकेको लगायतका समस्या आफूहरूले बेहोर्नु परेको निजी विद्यालयहरूले जनाएका छन् ।

प्याब्सन कर्णाली प्रदेश अध्यक्ष नैनसिंह खत्रीले केन्द्रकै निर्णयलाई आत्मसात् गर्दै कर्णालीमा पनि सबै विद्यालयले पठनपाठन बन्द गर्ने बताए । सरकारले निजी विद्यालयलाई सम्बोधन गरी कुनै पनि ठोस योजना नल्याएकाले यस्तो निर्णय गर्न बाध्य भएको उनले बताए । कर्णालीमा झण्डै चार सय निजी विद्यालय छन् । ती विद्यालयमा करिब दुई लाख विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारीको संख्या सात हजार छ । सबै विद्यालयले केन्द्रकै निर्णयअनुसार पठनपाठन बन्द गर्ने र सरकारले माग सम्बोधन नगरे आन्दोलनको अर्को चरणमा जाने अध्यक्ष खत्रीले बताए ।

प्याब्सन अध्यक्ष खत्रीका अनुसार कर्णालीमा निजी क्षेत्रले विद्यालय सञ्चालनका लागि ४० देखि ४५ अर्ब रूपैयाँको हाराहारीमा लगानी गरेको छ । ती विद्यालयहरूले वार्षिक झण्डै १५ देखि २० करोड राज्यलाई कर तिर्दै आएका छन् ।

वीरेन्द्रनगरस्थित सुर्खेत होराइजन एकेडेमीका प्रिन्सिपल घनश्याम खड्काले विद्यालय कर्मचारीहरूको बैठक बसी यस विषयमा निर्णय गरिने बताए । उनले अहिले विद्यार्थीहरूलाई जूम र म्यासेन्जरबाट पढाइरहेको जानकारी दिए । ‘पठपाठन बन्द गर्ने संगठनले निर्णय गरेको छ । आज एक दिन (साउन १ गते) हामी पढाउँछौं । भोलि बैठक बसेपछि यस विषयमा निर्णय गर्छौं,’ उनले भने ।

देशैभर अनलाइन कक्षा रोक्ने र शिक्षकलाई बेतलबी घर बिदामा राख्ने निर्णय गरिएको निजी विद्यालयले जनाएका छन् । आर्थिक समस्याका कारणले शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन नसकेको उनीहरूको भनाइ छ । ‘आर्थिक तथा व्यावसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो,’ प्याब्सन, एनप्याब्सनद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘साउन १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरू स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं ।’

सामुदायिक विद्यालयहरूले भने वैकल्पिक माध्यमको पठनपाठनलाई निरन्तरता दिने बताएका छन् । वीरेन्द्रनगरस्थित अमरज्योति नमूना माध्यमिक विद्यालय नेवारेले विद्यार्थीहरूलाई भौतिक दूरी कायम गरेर विद्यालयमै र अनलाइनमार्फत पनि पढाउने गरेको छ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले वैकल्पिक माध्यमअन्तर्गत अनलाइन, रेडियो, टेलिभिजन र विद्यालयमै स्वास्थ्य सतर्कता अपनाएर कक्षा सञ्चालन भइरहेको जानकारी दिए ।

प्रकाशित मितिः   १ श्रावण २०७७, बिहीबार ०६:०६