शिक्षा मन्त्रालयको प्रस्तावः साउन १ देखि भर्ना

काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण अन्योलमा रहेको शैक्षिक गतिविधिको गाँठो फुकाउने गरी शिक्षा मन्त्रालयले प्रस्ताव तयार पारेको छ । मन्त्रिपरिषद्मा पठाइएको उक्त तीन बुँदे प्रस्तावमा साउन १ गतेदेखि विद्यार्थी भर्ना गर्ने, शिक्षकहरूलाई साउन ८ गतेदेखि १५ गतेसम्म विद्यालयमा पुग्ने वातावरण तयार पार्ने, साउन ७ गतेभित्र मन्त्रालयले विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने र विद्यालयमा रहेका क्वारेन्टाइन तथा आइसोलेसन हटाएर निर्मलीकरण गरी पठनपाठन सुरु गर्ने वातावरण स्थानीय सरकारले तयार गर्ने भनिएको ।

गत सोमवारको मन्त्रिपरिषद् बैठकमा लगिएको उक्त प्रस्तावको औपचारिक निर्णय भने सार्वजनिक भएको छैन । उक्त निर्णय सम्भवतः बिहीवार (आज) सार्वजनिक गरिनेछ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय हरेक बिहीवार सार्वजनिक गर्ने प्रचलन रहेको छ । शिक्षा मन्त्रालयले लगेको सो प्रस्तावमा शैक्षिक सत्र २०७६ को नतिजा सार्वजनिक गर्न बाँकी रहेको भए उक्त नतिजा प्रकाशन गर्ने विषय पनि उल्लेख छ । साउन १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गरी शैक्षिक सत्र २०७७ मा अध्ययन गर्ने विद्यार्थीको कक्षागत तथ्याङ्क भर्ने शिक्षा मन्त्रालयको प्रस्ताव छ ।

पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने विषयलाई पनि उक्त प्रस्तावमा समेटिएको छ । वैकल्पिक प्रणालीबाट सुरु विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका अनुसार कार्य गर्न विद्यालय बाहिर रहेका सबै शिक्षकहरू साउन ८ देखि १५ गतेभित्र विद्यालयमा पुग्नुपर्ने छ । यसको लागि जिल्ला प्रशासन कार्यालयहरूबाट आवश्यक सहजीकरण गर्ने व्यवस्था गर्न मन्त्रालयको प्रस्ताव छ ।

विद्यालय परिसर तथा भवनमा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन नगर्ने गरी वैकल्पिक व्यवस्था गर्ने, उक्त कार्यका लागि प्रयोग भएका र अहिले खाली भएका विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्थानीय सरकारले निर्मलीकरण गरी पठनपाठनको व्यवस्था मिलाउने मन्त्रालयको प्रस्ताव छ ।