कोरोनाको घेरा

कोरोना भाइरस (कोभिड–१९)ले समग्र विश्व आक्रान्त छ । नेपालमा संक्रमण बढ्दो ग्राफमै छ । कर्णाली प्रदेशमा पनि हरेक दिनजसो संक्रमित फेला पर्ने क्रम रोकिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा उसैगरी फैलिँदै गएको तथ्याङ्क छ । समुदायस्तरमा समेत संक्रमण पुगिसकेको अवस्थामा यसको जोखिम बढ्दो छ ।

जोखिम रोकथाम तथा न्यूनीकरण गर्न लकडाउन गरिएको छ । तर जेठ अन्तिम सातादेखि खुकुलो गरिएको छ । लकडाउन खुकुलो भएसँगै वीरेन्द्रनगर बजारमा चहलपहल बढ्यो । पछिल्लो समय बजार पूर्ण रूपमा खुलिसकेको छ । बजार खुलेसँगै बजार तथा सार्वजनिक स्थानहरूमा भिडभाड बढेको छ । सरकारी कार्यालय, उद्योग, बैंक तथा वित्तीय संस्था र पसलहरूमा उत्तिकै चाप छ । यही कारण पनि प्रदेश राजधानीे वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरस संक्रमणको जोखिम उच्च देखिएको छ । संक्रमणको जोखिमबाट बच्न भौतिक दूरी र स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । संक्रमण समुदायस्तरमा गइसकेको अवस्थामा पनि यसरी हेलचेक्य्राइँ गर्नुले आगामी दिनमा भयावह स्थिति सिर्जना गर्नेतर्फ चिकित्सकहरूले पनि सचेत गराउँदै आएका छन् । तर स्थानीय प्रशासनले यसतर्फ ध्यान दिएको छैन भने नागरिक स्वयम्ले बेवास्ता गरिरहेका छन् ।

वीरेन्द्रनगरमा संक्रमितको संख्या दिनप्रति दिन बढ्दैछ । नगरमा संक्रमितको कूल संख्या डेढ सय पुग्न थालिसकेको छ । संक्रमितमध्ये अधिकांश समुदायस्तरका नागरिक हुन् । सुरुमा भारतबाट आउनेहरूमा मात्रै देखिएको संक्रमण मानवीय असावधानीका कारण विस्तारै समुदायमा फैलिएको हो । यो क्रम अझै बढ्ने देखिन्छ । नगरका १६ मध्ये १३ वडामा संक्रमण फैलिनुले पनि यही देखाउँछ । वीरेन्द्रनगरका १४, १५ र १६ वडामा मात्रै संक्रमण देखिएको छैन । पछिल्ला १० दिनमा मात्रै समुुदायका ३६ जनामा संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी, प्रहरी, जनप्रतिनिधि, कर्मचारी र उनीहरूका परिवारहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जोखिम बढ्दै गए पनि कोरोना रोकथाम, नियन्त्रण तथा प्रतिकार्यमा स्थानीय तहहरूको बेवास्ता पनि उस्तै छ । वीरेन्द्रनगर नगरपालिकासँग नगर र कुुन वडामा कति संक्रमित छन् भन्ने एकिन तथ्याङ्क समेत छैन । वडा अध्यक्षहरूले समेत आफ्नो वडामा कति संक्रमित छन् भन्ने जानकारी राखेका छैनन् । जिल्ला विपद् व्यवस्थापन समितिले भिडभाडलाई कम गर्ने भन्दै बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मात्रै बजार खोल्ने र हप्तामा एक दिन शनिवार बन्द गर्ने भनेको छ । तर, यसले पनि भिडभाड कम गरेको छैन ।

कोरोनाको सम्भावित जोखिमबाट बच्ने एक मात्र उपाय सावधानी हो । अरु उपचार छैन । त्यसैले आवश्यक सतर्कता अपनाउन नागरिकले हेलचक्य्राइँ गर्नु हुँदैन । हेलचक्य्राइँ गर्नेहरूलाई सतर्क गराउन सम्बन्धित निकायहरूले तदारुकता देखाउनु पर्दछ । तर यी दुवै पक्ष कमजोर देखिँदा भविष्य थप खतराउन्मुख छ । यसतर्फ वीरेन्द्रनगर नगरपालिका, स्थानीय प्रशासन र सम्बन्धित सबै निकायको ध्यान जान जरुरी छ । कोरोनाको घेरा बढ्दै गए नियन्त्रण गर्न थप चुनौती हुनेछ ।

प्रकाशित मितिः   १ श्रावण २०७७, बिहीबार ०६:०६