दैलेखमा ५१ शैयाको आइसोलेसन अस्पताल सञ्चालनमा

दैलेख: दैलेखमा कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन अस्पताल सञ्चालमा आएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको ७१ लाख रकम खर्च गरी निर्माण गरिएको आइसोलेसन अस्पताल बुधवारदेखि सञ्चालनमा ल्याइएको हो ।

दैलेखमा कोरोना संक्रमण तीव्र रूपमा बढेपछि कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले आफ्नो विर्नाचन क्षेत्रको बजेटले १५ दिनभित्र ५१ शैयाको अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए । आइसोलेसन अस्पताल निर्माण सम्पन्न भए पश्चात सरस्वती माध्यमिक विद्यालय तर्ताङमा उपचाररत पाँच जना संक्रमितलाई ल्याएर राखिएको छ ।

आइसोलेसन अस्पताल उद्घाटनका लागि दैलेख पुगेका प्रदेशसभा सदस्य थापाले कोरोना संक्रमितहरूको उपचार सहज होस् भन्ने उद्देश्यले आइसोलेसन अस्पताल निर्माण गरेको बताए । उनले आइसोलेसन अस्पताल निर्माण गर्ने क्रममा सहयोग गर्ने सबै निकायलाई धन्यवाद ज्ञापन गरे । उक्त आइसोलेसन अस्पतालमा आवश्यक पर्ने उपकरण र चिकित्सकको व्यवस्था प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको उनले जानकारी दिए ।

निर्माणको जिम्मा पाएको जेसिका निर्माण सेवाले १५ दिनभित्र अस्पताल निर्माण गर्ने भने पनि लकडाउनका कारण सामग्री खरिदमा समस्या भएका कारण केही दिन ढिला गरी निर्माण सम्पन्न गरेको हो । दैलेखमा कोरोना संक्रमितको संख्या आठ सय ४३ पुगेको छ । तीमध्ये ५० जना जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा उपचाररत छन् ।

प्रकाशित मितिः   १ श्रावण २०७७, बिहीबार ०६:०७