राजधानीको चर्चाले नयाँ घर निर्माणको होडबाजी

1-surkhettt-vally

गीता थापा
सुर्खेत, २५ कात्तिक । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रूपमा चर्चा भएसँगै वीरेन्द्रनगरमा जग्गा खरिद र नयाँ घर निर्माणको होडबाजी सुरु भएको छ । हाल मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको वीरेन्द्रनगरमा प्रादेशिक राजधानीको चर्चासँगै घडेरी किन्नेहरूको लर्को नै लाग्न थालेको हो । यस्तै पछिल्लो एक वर्षको अवधिमा मात्र वीरेन्द्रनगरमा तीन हजार भन्दा बढी नयाँ घर थपिएका छन् ।

विगतमा कर्णाली अञ्चलबाट बसाइँ सरेर आउनेहरूले मात्र फाटफूट रूपमा वीरेन्द्रनगरमा जग्गा खरिद गर्ने गरेका थिए । तर अघिल्लो वर्ष अखण्ड मध्यपश्चिमको आन्दोलनपछि छैठौं प्रदेश घोषणा भएसँगै वीरेन्द्रनगरमा घरजग्गाको कारोबार एकाएक बढेको हो । वीरेन्द्रनगर नै प्रदेशको राजधानी हुने लगभग पक्का भएपछि सर्वसाधारणले धमाधम नयाँ घर निर्माण गर्न थालेका हुन् । यस्तै अधिकांशले राजधानी घोषणा भएपछि मूल्य बढ्ने आशमा अहिले नै घडेरी खरिद गर्न थालेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । कार्यालयका अनुसार हिजोआज वीरेन्द्रनगरमा दैनिक ५० भन्दा बढी घडेरी किनबेच भइरहेको छ । यस्तै घर निर्माणका लागि नक्सा पास गर्न आउनेहरूको नगरपालिका कार्यालयमा भीड लाग्न थालेको छ ।

जग्गाको कारोबार वृद्धि भएपछि वीरेन्द्रनगरमा जग्गाको मूल्य पनि बढेको छ । नगरपालिका कार्यालयका अनुसार बितेको एक वर्षमा वीरेन्द्रनगरमा तीन हजार तीन सय २६ वटा नयाँ घर थपिएका छन् । कार्यालयको प्रशासन तथा अनुगमन महाशाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेले भने, ‘यो त केवल नक्सा पास भएको तथ्याङ्क हो, कार्यालयबाट नक्सा पास नगरेर पनि घर निर्माण भएका हुन सक्छन् । पहिला भन्दा तेब्बरले वीरेन्द्रनगरमा नयाँ घर निर्माण भएका छन्, जग्गाको कारोबार पनि एकाएक बढेको छ ।’ उनका अनुसार वीरेन्द्रनगरमा राजधानीको चर्चा भएको र विश्वविद्यालय तथा क्षेत्रीय अस्पताल लगायतका भौतिक सुविधाको कारण पनि मानिसहरू बाहिरबाट नगरमा भित्रिएका छन् । एक वर्षको अवधिमा नै वीरेन्द्रनगर घरहरूले भरिएको छ । सबैभन्दा बढी नयाँ घरहरू वीरेन्द्रनगरको उत्तरगंगा र लाटीकोइली क्षेत्रमा बनेका छन् । त्यहाँ घडेरीको कारोबार पनि बढी भइरहेको छ ।

वीरेन्द्रनगरमा कर्णाली अञ्चलका साथै हिजोआज भेरीका पहाडी जिल्ला र राप्तीका सल्यान र रुकुमबाट पनि मानिसहरूले घडेरी खरिद गर्न थालेका छन् । यस्तै अधिकांशले नयाँ घर निर्माणका लागि नक्सासमेत पास गराएर लगेका छन् । नगरपालिकाका अनुसार वीरेन्द्रनगरमा घर निर्माणका लागि आर्थिक वर्ष २०७१÷०७२ मा नौ सय ३४ जनाले नक्सा पास गरेका थिए । तर उक्त संख्या बढेर गएको आर्थिक वर्ष २०७२÷०७३ मा तीन हजार तीन सय २६ पुगेको थियो । नगरपालिकाका सव–इन्जिनियर किशोर कँडेलले भने, ‘विगत भन्दा नयाँ घर निर्माण गर्नेको संख्या बढेको छ, नगरपालिकामा नक्सा पास गर्न आउनेहरूको भीड नै लाग्ने गरेको छ । नगरपालिकाको क्षेत्र विस्तार भएको र राजधानीको चर्चाले घर बनाउनेहरूको संख्या बढेको हुन सक्छ ।’ उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ३२ वटा नयाँ घरको नक्सा पास भएको छ । कतिपयले नक्सा नै पास नगरेर घर बनाउने गरेका छन् । जसले गर्दा सबै तथ्याङ्क नगरपालिकासँग हुँदैन ।

घर निर्माणको क्रम बढेको र घडेरीको रूपमा जग्गा बिक्री हुन थालेपछि वीरेन्द्रनगर उपत्यकामा खेतीयोग्य जमिन घट्दै गएको छ । पछिल्लो समय आफूखुशी बाटो खन्ने र जग्गा प्लटिङ्ग गर्नेक्रम बढेकाले पनि उपत्यका विस्तारै कुरूप हुँदै गएको स्थानीयको गुनासो छ । यसअघि निर्माण भएको उपत्यकाको गुरुयोजना अहिले अलपत्र परेको छ । गुरुयोजना अनुसार काम नहुँदा वीरेन्द्रनगरमा जथाभावी घर निर्माण भएका छन् । यसले नगरको सुन्दरतामा नै कमी आएको स्थानीयको गुनासो रहेको छ । यसैबीच नगरपालिका कार्यालयले वीरेन्द्रनगरमा आफूखुशी नक्सा पासविनै निर्माण गरिएका तीन हजार घरलाई पुनः नक्सा पास गर्न लगाएको छ । प्रादेशिक राजधानीको चर्चासँगै वीरेन्द्रनगरमा थप गाविसहरू पनि भागिएका छन् । यस्तै नगरपालिकालाई अब उपमहानगरपालिका बनाउनका लागि हालै मात्र जिल्ला प्राविधिक सहयोग समितिले केन्द्रमा सिफारिस गरेको छ । पछिल्लो समय जाजरकोट, सल्यान, रुकुम र कर्णालीबाट बढी मानिसले वीरेन्द्रनगरमा घडेरी खरिद गरेका छन् ।