‘स्वार्थको राजनीति अन्त्य हुनुपर्दछ’

नेपाली कांग्रेसको युवा सङ्गठन तरुण दल सुर्खेतको जिल्ला अधिवेशन सकिएको छ । अधिवेशनबाट नयाँ नेतृत्वसमेत निर्वाचित भएको छ । पछिल्लो समय युवाहरू राजनीतिप्रति निराश बन्दै गएको र दलहरूले पनि केवल युवालाई प्रयोग मात्र गर्ने गरेको गुनासाहरू पनि सुनिन्छन् । युवाहरूलाई राजनीतिको मूल धारमा ल्याउन के गर्न सकिन्छ वा युवाहरूलाई कसरी सामाजिक सेवामा सहभागी गराउन सकिएला ? यस्तै विषयमा केन्द्रित रहेर हामीले तरुण दल सुर्खेतका नवनिर्वाचित अध्यक्ष हरि विष्टसँग कुराकानी गरेका छौं । प्रस्तुhariत छ, विष्टसँग गरिएको कुराकानीको सारांश :

 

निवार्चन जित्नु भयो है ?
 हजुर, निर्वाचनमा सबै साथीहरूको साथ र सहयोगले विजयी हुन सफल भएँ । पार्टी नेताहरूको विश्वास र सम्पूर्ण कार्यकर्ता साथीहरूको सहयोगले मलाई निर्वाचनमा विजय हुने अवसर मिल्यो । सबैले मलाई विश्वास गरेर नै निर्वाचनमा जिताउनु भयो ।

सहमतिबाट पनि नेतृत्व चयन गर्दा हुन्थेन र ?
 त्यो सम्भव नै थियो । हामी उम्मेदवारहरू बीचमा पनि सहमति हुन सक्ने ठाउँ थियो । तर, पार्टीका नेताहरूबीच सहमति हुन सकेन । नेताहरूबीच नै सहमति नहुँदा चुनाव नै गराउनुपर्ने अवस्था आयो । सहमतिको नाममा सबै प्रक्रिया पनि रोक्नु उपयुक्त भएन । सहमतिको नाममा समस्यालाई गाँठो पार्ने भन्दा हामीले लोकतान्त्रिक प्रक्रियामा जाने निर्णय ग¥यौं । एउटै संस्था र सङ्गठनमा पनि प्यानल बनाउनुपर्ने हाम्रो रहर थिएन । सँगै काम गरेका साथीहरूबीच तिक्तता नगराउन सहमति नै उपयुक्त विधि थियो । तर यसपाली त्यस्तो सम्भव भएन । हामीले निर्वाचनमा जानुपर्ने अवस्था आयो । लोकतन्त्रमा यसलाई पनि अन्यथा लिइनु हुँदैन ।

यहाँलाई कार्यकर्ताले त विश्वास गरे, अब कार्यकर्तालाई कसरी विश्वास दिलाउनु हुन्छ ?
 वास्तवमा कार्यकर्ताहरूले मलाई विश्वास गरेर नै मतदान गर्नुभयो । यो उहाँहरूको म प्रतिको विश्वास र अपेक्षा पनि हो । उहाँहरूको सहयोगले नै म आज अध्यक्ष बनेको छु । भनिन्छ, ‘स्वस्थ्य शरीर भए स्वस्थ समाज निर्माण हुन्छ’ त्यसैले अब युवाहरूलाई अतिरिक्त क्रियाकलाप र खेलकुदमा समावेश गर्नेछु । आज धेरै तरुण साथीहरू अर्थात् युवाहरू बेरोजगार बस्नु परेको छ । यसका लागि मैले पर्यटनको क्षेत्रमा युवाहरूलाई आकर्षित गर्नका लागि काम गर्नेछु । युवाहरू देश निर्माणका आधार हुन् । उनीहरूलाई उत्पादनमा संलग्न गर्नुपर्दछ । त्यसका लागि हामीले जिल्ला तहमा केही नयाँ कामको थालनी गर्नेछौं । जसरी साथीहरूले मलाई विश्वास गर्नु भएको छ, त्यसैगरी म उहाँहरूको विश्वास गुम्न दिने छैन । म मेरो आगामी भूमिका र कामले नै पुष्टी गर्नेछु ।

चुनावबाट एउटा पक्ष बाहिरै रह्यो, अब उहाँहरूलाई कसरी समेट्नु हुन्छ नि ?
 चुनाव लोकतन्त्रको अभिन्न अङ्ग हो । चुनावमा कहिल्यै पनि दुवै पक्षको जीत हुँदैन । हामीले पहिला नै सहमति गर्न सक्नु पर्दथ्यो । त्यो सम्भव नभएपछि चुनावमा त हारजीत त हुने नै भयो । यसलाई सबैले स्वीकार गर्नैपर्छ । अर्कोतर्फ यो जीत केवल मेरो मात्र होइन, पार्टी र विशेषगरी तरुण दलकै हो । चुनावको बेलामा हामी आपसमा प्यानल बनाएर सहभागी भयौ होला । तर अबका दिनमा हामीले सङ्गठनको हितमा एकताबद्ध भएर लाग्नुपर्नेछ । निर्वाचनबाट बाहिर रहेका साथीहरूलाई पनि म सँगै लिएर जानेछु । उहाँहरूको अनुभव र क्रियाशिलता सङ्गठनका लागि आवश्यक छ । उहाँहरूको चाहना अनुसार नै म काम गर्ने प्रयत्न गर्नेछु । सबैलाई एकैसाथ समेटेर अघि बढ्ने प्रण समेत गर्दछु ।

यहाँको कार्यकालमा तरुण दल सुर्खेतले के नयाँ काम गर्ला ?
 सुर्खेतमा अहिले लागूऔषध र कुलतको समस्या बढ्दो छ । युवाहरू कुलतमा फसेको अवस्था छ । हामी युवाहरूलाई कुलतबाट मुक्त गर्न चाहन्छौं । मेरो कार्यकालतमा दुव्र्यसनविरुद्ध नयाँ अभियान सञ्चालन हुनेछ । यसका लागि तरुण दलले योजना निर्माण गर्नेछ । युवाहरूलाई सामाजिक सेवामा लाग्नका लागि हामी प्रेरित गर्नेछौं । यस्तै युवाहरूलाई खेलकुदमा लाग्न प्रेरित गर्नेछौं ।

अबको तीन महिनाभित्र यहाँका तरुणहरूले के नयाँ अनुभूति गर्न पाउलान् त ?
 तीन महिना भित्रमा त पहिला कार्यसमिति विस्तारलाई पूर्णता दिनुपर्छ । त्यसपछि युवाहरूमार्फत् सुर्खेतमा रहेका पर्यटकीय स्थलहरू काँक्रेविहार, देउती बज्यै र बुलबुले लगायतका पर्यटकीय क्षेत्रहरूको संरक्षणका लागि हामी काम सुरु गर्नेछौं । साथै नगर विकास समिति र जिल्ला प्रशासनलाई बुलबुले तालको विकासको लागि खबरदारी गर्ने र सुधारको काम नभएमा बुलबुले ताल तरुण दललाई जिम्मा दिन आग्रह गर्नेछौं । हामी बुलबुले ताललाई यथार्थमा जिल्लाको पहिचान हुने खालको बनाउनेछौं । यो नयाँ काम सबैले अनुभूति गर्न पाउनेछन् ।

युवाहरूलाई केवल दलहरूले प्रयोग मात्र गरे, अवसर दिएनन् भन्ने पनि सुनिन्छ । यसमा यहाँको भनाइ के छ ?
 त्यसरी त भन्न मिल्दैन । युवाले अवसर नै नपाएका त होइनन् । नेपाली कांग्रेस भनेको उहिले राणाहरूको कालदेखिको पुरानो पार्टी भएकाले यसमा कार्यकर्ताहरू धेरै छन् । तर लाभको पद भने कम भएकाले पनि सबै युवाहरूले एकैसाथ अवसर नपाएको सत्य नै हो । पार्टीका भ्रातृसङ्गठनहरूको निर्वाचन समयमा नै गराउने हो भने युवाहरूले पनि अवसर पाउँछन् । देशमा स्थानीय निकायको चुनाव हुन सकेको छैन । चुनाव भएमा युवाले त्यहाँ पनि अवसर पाउन सक्छन् । हामीले धैर्य गर्नुपर्छ, निरन्तर काम गर्दा कुनै न कुनै दिन अवसर पनि पाइन्छ ।

अब युवाहरूलाई राजनीतिको मूल नेतृत्वमा ल्याउन के गर्नुपर्ला ?
 युवाहरूलाई राजनीतिको मूल नेतृत्वमा ल्याउन सबैभन्दा पहिले स्वार्थको राजनीति अन्त्य हुनुपर्दछ । यस्तै विलाशितालाई बिर्सनु पर्दछ । यस्तै बाबु नेता भए, छोरो पनि नेता नै बन्नुपर्छ भन्ने मानसिकताले यहाँ समस्या उत्पन्न भएको छ । यसैको परिणाम अन्य युवाहरूले राजनीतिको मूल नेतृत्वमा आउने अवसर नपाएका हुन् । त्यसैले पहिला यो विलाशिताको राजनीति अन्त्य गर्न जरुरी छ । अर्काेतर्फ युवाहरूलाई पनि क्षमता विकास गर्दै राजनीतिमा आकर्षित गर्नेतर्फ हामीले ध्यान दिनुपर्दछ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
 अन्त्यमा, म र मेरो टिमलाई विजयी गराउनुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । हाम्रो टिमलाई मतदान गरी विजयी गराउनु हुने सम्पूर्ण तरूण दलका गाउँ, नगर र जिल्ला प्रतिनिधि साथीहरूलाई धन्यवाद दिन चाहन्छु । साथै यो कसैको हार र जीत नभएर समग्र पार्टीको जीत हो । निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने तीन वटै क्षेत्रका कांग्रेसका सभासद्हरू, पार्टी जिल्ला कार्यसमिति र सम्पूर्ण नेताहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छु ।

प्रकाशित मितिः   २५ कार्तिक २०७३, बिहीबार ०६:४७