कोरोनाबाट ३९ जनाको मृत्यु

सुर्खेत: नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङ्गमा प्रवक्ता जागेश्वर गौतमले मृत्युको औपचारिक रूपमा पुष्टि गरेका हुन् । उनका अनुसार रौतहटको परवा नगरपालिका–७ का ३६ वर्षीय पुरुषको बुधवार दिउँसो कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । नेपालमा बुधवार मात्रै एक सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको छ ।

यस्तै, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार सात सय १४ पुगेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधवार थप २४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये हालसम्म एक हजार चार सय ७५ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसार प्रदेशभर दुई सय ३९ जना कोरोनाका संक्रिय संक्रमित छन् । उनीहरूको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल तथा विभिन्न आइसोलेसन केन्द्रहरूमा उपचार भइरहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः   १ श्रावण २०७७, बिहीबार ०६:०१