व्यवसायीहरूको आन्दोलन स्थगित

सुर्खेत: सुर्खेतका व्यवसायीले घोषणा गरेको चरणबद्ध आन्दोलन स्थगित भएको छ । लकडाउन अवधिको ब्याज मिनाहा गर्न, किस्ता तिर्ने अवधि थप्न र बैंकहरूले किस्ता तिर्न गरिरहेको ताकेता रोक्न माग गर्दै आन्दोलित भएका व्यवसायीहरूले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

संघीय सरकारले मौद्रिक नीतिमा व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने आश्वासन दिएपछि तत्कालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको व्यवसायीद्वारा गठित संयुक्त संघर्ष समितिका संयोजक गणेश बस्नेतले जानकारी दिए । उनका अनुसार संघीय सरकारले व्यवसायीहरूको मागलाई मौद्रिक नीतिमा समावेश गर्ने भनेपछि आन्दोलन स्थगित गरिएको हो । सरकारले मौद्रिक नीति साउनको पहिलो हप्ता ल्याउँदैछ ।

संयोजक बस्नेतले सरकारले उद्योगी व्यवसायीहरूको माग मौद्रिक नीतिमा समावेश नगरिए भने कडा आन्दोलनमा जाने बताए । व्यवसायीहरूको माग सम्बोधन नभए कर्णाली प्रदेशका व्यवसायी मात्र नभइ देशभरका व्यवसायीहरू आन्दोलनमा उत्रिने उनको भनाइ छ । यसअघि व्यवसायीहरूले एक दिन बजार बन्द गरेका थिए । उनीहरूले नेपाल राष्ट्र बैंक शाखा सुर्खेत र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २७ बुँदे मागपत्र समेत बुझाएका थिए ।

प्रकाशित मितिः   १ श्रावण २०७७, बिहीबार ०६:०२