जरायो संरक्षण गर्न काँक्रेविहारमा रोपियो घाँस

सुर्खेत: विश्वसम्पदा सूचीमा सूचीकृत नेपालको एक मात्र संरक्षित क्षेत्र काँक्रेविहारमा सुपर नेपियर घाँस रोपिएको छ । जरायोको आहाराका लागि वीरेन्द्रनगर–९ लाटीकोइलीका युवाहरूको सक्रियतामा काँक्रेविहारको जन्तीसाल क्षेत्रमा एक हजार पाँच सय सुपर नेपियर घाँसका बिरुवा रोपिएको हो ।

काँक्रेविहारको चारैतिर आवादी क्षेत्र भएकाले यहाँ रहेका वन्यजन्तुलाई चरिचरणको अभाव छ । वन्यजन्तुलाई लक्षित गरी घाँस रोपिएको स्थानीय युवाहरूले बताएका छन् । यस बिरुवाको अन्यत्र पनि माग भएकाले यसलाई व्यावसायिक रूपमा नै गर्न सकिने युवाहरूले जनाएका छन् । स्थानीय युवा नारायण जिसीले पहिलो चरणमा परीक्षणको रूपमा सुपर नेपियर जातको घाँस रोपिएको जानकारी दिए । उनले दोस्रो चरणमा अन्य प्रजातिका बिरुवा पनि रोप्ने योजना रहेको बताए । तीन महिनाभित्र यो बिरुवा जरायोको लागि खान उपयुक्त हुने बताइएको छ ।

बुधवार रोपिएका बिरुवा रेडियो भेरी एफएमका प्रबन्ध निर्देशक केशव कोइराला र सुगारिका कृषि फर्मका सुशील केसीले सहयोग गरेका हुन् । वृक्षारोपणका लागि कोइरालाले एक हजार र केसीले पाँच सय बिरुवा सहयोग गरेको स्थानीय युवा सनम गिरीले जानकारी दिए । उक्त घाँस चरिचरणका लागि जरायो लगायतका वन्यजन्तुका लागि निकै प्रभावकारी हुने विश्वास गरिएको वीरेन्द्रनगर–९ का वडाअध्यक्ष सुरेश मानन्धरले बताए । वृक्षारोपणमा काँक्रेविहार संरक्षण समितिका अध्यक्ष चन्द्रा श्रेष्ठसहित स्थानीय जनप्रतिनिधि र युवाहरूको सहभागिता थियो ।

प्रकाशित मितिः   १ श्रावण २०७७, बिहीबार ०६:००