प्रदेश राजधानीमा कोरोनाको जालो

सुर्खेत: लकडाउन खुकुलो भएसँगै बजार तथा सार्वजनिक स्थानहरूमा भिडभाड बढेको छ । सरकारी कार्यालय, उद्योग, बैंक तथा वित्तीय संस्था र पसलहरू खुुलेका छन् । विशेष गरेर कर्णाली प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम उच्च देखिएको छ । कोरोना संक्रमणबाट बच्न भौतिक दूरी र स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । जसका कारण संक्रमणको जोखिम पनि दिन प्रतिदिन बढ्दै गएको हो । संक्रमण समुदायस्तरमा गइसकेकाले व्यक्तिहरूमा भौतिक दूरी कायम नहुुँदा प्रदेश राजधानी संक्रमणको उच्च जोखिममा रहेको चिकित्सकहरूले आंैल्याएका छन् ।

पछिल्ला दुुई दिनमा मात्रै वीरेन्द्रनगरमा २३ जनामा कोरोना संक्रमण देखिएको छ । वीरेन्द्रनगरमा संक्रमितको संख्या एक सय २० पुगेको छ । यीमध्ये अधिकांश समुदायस्तरका नागरिक हुन् । त्यसमध्ये ५६ जना संक्रमणमुक्त भएका छन् भने अझै ६४ जना संक्रिय संक्रमित छन् । सुरुमा भारतबाट आउनेहरूमा मात्रै देखिएको संक्रमण मानवीय असावधानीका कारण विस्तारै समुदायमा फैलिएको हो । नगरका १६ मध्ये १३ वडामा संक्रमण फैलिएको छ । वीरेन्द्रनगरका १४, १५ र १६ वडामा मात्रै संक्रमण देखिएको छैन । पछिल्ला १० दिनमा मात्रै समुुदायका ३६ जनामा संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी, प्रहरी, जनप्रतिनिधि, कर्मचारी र उनीहरूका परिवारहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जोखिम बढ्दै गए पनि कोरोना रोकथाम, नियन्त्रण तथा प्रतिकार्यमा स्थानीय तहहरूको बेवास्ता पनि उस्तै छ । वीरेन्द्रनगर नगरपालिकासँग नगर र कुुन वडामा कति संक्रमित छन् भन्ने एकिन तथ्याङ्क समेत छैन । वडा अध्यक्षहरूले समेत आफ्नो वडामा कति संक्रमित छन् भन्ने जानकारी राखेका छैनन् । वीरेन्द्रनगर–७ का अध्यक्ष ध्रुुवकुमार चपाईंले वडामा कति संक्रमित छन् भन्ने आफूलाई जानकारी नभएको बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले भिडभाडलाई कम गर्ने भन्दै बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मात्रै बजार खोल्ने र हप्तामा एक दिन शनिवार बन्द गर्ने भनेको छ । तर, यसले पनि भिडभाड कम गरेको छैन । मंगलवार बिहान साढे ११ बजे वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा पुुग्दा बाक्लो भिड थियो । लाइनमा बसेका सेवाग्राहीले न भौतिक दूरी कायम गरेका थिए न त स्वास्थ्य सावधानी नै अपनाएको देखिन्थ्यो । असार मसान्तका कारण पनि बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरूमा सेवाग्राहीको चाप अत्याधिक छ । वीरेन्द्रनगर–१६ गर्पनका याम सारुले चेक साट्न आउनैपर्ने बाध्यता भएर बैंकमा जोखिम मोलेर भिडमा मिसिएको सुनाए ।

यातायात व्यवस्था कार्यालयमा पनि उस्तै भिडभाड हुुने गरेको छ । कर तिर्नै पर्ने दबाबले पनि जोखिम मोलेर आउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले बताउने गरेका छन् । वीरेन्द्रनगर–३ का रमा आचार्यले भिडभाड भए पनि सरकारले समयभित्रै कर बुझाउन भनेकाले बाध्यताले कर तिर्न आएको बताइन् । उनले व्यस्त रहने कार्यालयमा स्वास्थ्य सुरक्षाका उपायहरू नअपनाइएको भन्दै यसतर्फ सेवाप्रदायक निकायहरू पनि गम्भीर हुनुपर्ने औंल्याइन् ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुुख चेतननिधि वाग्लेले भौतिक दूरी कायम नगरिँदा जोखिम बढेको बताए । उनले भने, ‘सामाजिक दूरी कायम गरिएको पाइँदैन । कोरोना सामान्य भइसक्यो भनेजसरी हल्का रूपमा लिइएको पाइन्छ । समुुदायमा नै फैलिसकेकाले यो झनै सचेत हुुनुपर्ने बेला हो ।’

प्रमुुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रशासनले बजार व्यवस्थित गर्नेदेखि स्वास्थ्य सावधानी नअपनाएर हिँड्नेसम्मलाई कारबाही गर्ने गरिएको बताए । ‘मास्क नलगाउने र भौतिक दूरी कायम नगर्नेलाई हामीले कारबाही समेत गर्ने गरेका छौं,’ प्रजिअ रेग्मीले भने । वीरेन्द्रनगरमा मास्क नलगाएर हिँड्ने ७० जनालाई कारबाही गरिएको उनले जनाए । उनले विशेष गरेर वीरेन्द्रनगर बजार क्षेत्र र बढी सेवाग्राही आउने कार्यालयमा भिड हुन थालेपछि सेवा प्रवाहमा कटौती गर्नेगरी छलफल भइरहेको जानकारी दिए । साउन एक÷दुुई दिनभित्र भिडभाड व्यवस्थापनका लागि थप निर्णय गरिने उनको भनाइ छ ।

पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा एक हजार ६ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । मंगलवार मात्रै प्रदेशका विभिन्न जिल्लाका २७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म एक हजार चार सय ६२ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । कर्णालीमा हालसम्म भेटिएका कोरोना संक्रमितमध्ये अधिकांशमा लक्षण भने देखिने गरेको छैन । शंकाको आधारमा जाँच गराउँदा मात्रै संक्रमण पुष्टि हुने गरेको छ । लक्षण नै नदेखिनु र एक पछि अर्को संक्रमित थपिँदा जानुले झनै खतरा अवस्था पनि आउन सक्ने चिकित्सकहरूले बताउने गरेका छन् ।

प्रदेशसभा सदस्यलाई संक्रमण

कर्णाली प्रदेशका एक जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्यलाई संक्रमण देखिएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुुख डा. लक्ष्मीनारायण तिवारीले प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गरेर कोरोना परीक्षण गर्ने काम भइरहेको डा. तिवारीले बताए । उनका अनुसार ती प्रदेशसभा सदस्यको कन्ट्रयाक टे«सिङका आधारमा मंगलवार एक सय २४ जनाको स्वाब संकलन गरिएको छ । संक्रमित प्रदेशसभा सदस्य होम आइसोलेसनमै रहेको जनाइएको छ ।

प्रकाशित मितिः   ३१ असार २०७७, बुधबार ०६:०८