एमयूको रजिस्ट्रारमा १९ जनाको आवेदन

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिस्ट्रारका लागि १९ जनाले आवेदन दिएका छन् । विश्वविद्यालयले रजिस्ट्रार र डीन नियुक्तिका लागि सिफारिस गर्न खुला आवेदन मागेको थियो । विश्वविद्यालयले पहिलो पटक पदाधिकारीको नियुक्ति प्रक्रियाका लागि खुला विज्ञापन गरेको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन–२०६७ को दफा २५ मा रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपतिबाट हुने प्रावधान छ । सिधै नाम सिफारिस गर्न मिल्ने भए पनि उपकुलपति नन्दबहादुर सिंहले असार २२ गते सात दिने सूचनामार्फत आवेदन मागेका हुन् ।

उपकुलपतिले रजिस्ट्रारका लागि आवेदकमध्येबाट तीन जनाको नाम विश्वविद्यालयका कुलपति (प्रधानमन्त्री) लाई नियुक्तिका लागि सिफारिस गर्नेछन् । हालसम्मको अभ्यासमा रजिस्ट्रार पदका लागि उपकुलपतिको नजरमा परेकालाई सिधै कुलपति समक्ष सिफारिस गर्ने गरिएको थियो । यस पटक पदाधिकारी खुला प्रतिस्पर्धाबाट छनोट गरेर सिफारिस गर्न लागेको हो ।

विश्वविद्यालय स्रोतका अनुसार रजिस्ट्रारका लागि आवेदन दिनेमा एमयूका प्राध्यापकहरू केशरसिंह राना, नारायण पौडेल, दीपबहादुर रावल, इन्जिनियरिङ्ग संकायका डीन अनन्तराज घिमिरे, त्रिभुवन विश्वविद्यालयका बुद्धिप्रसाद सापकोटा, राष्ट्रिय परीक्षा बोर्डका कर्णाली प्रदेश कार्यालय प्रमुख जीतबहादुर शाहलगायत छन् । कर्णाली प्रदेशका र अन्य विश्वविद्यालयका प्राध्यापकहरूले समेत आवेदन दिएको उपकुलपतिको सचिवालयले जनाएको छ ।

एमयूका रजिस्ट्रार महेन्द्रकुमार मल्लको चारवर्षे कार्यकाल आइतवार सकिएको छ । मल्ल निलम्बनमा परेपछि २०७५ मंसिर १९ देखि यामबहादुर कार्की निमित्त रजिस्ट्रारका रूपमा कार्यरत छन् । डीनहरूको नियुक्ति भने कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने व्यवस्था छ । नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन तथा योग्य पदाधिकारी नियुक्त गर्न खुला दरखास्त आह्वान गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयद्वारा प्रकाशित सूचनाअनुसार रजिस्ट्रारका लागि ७ दिन र डीनका लागि १० दिनको दरखास्त दर्ता गर्ने म्याद दिइएको छ ।