रानीघाटमा प्रहरीचौकीको भवन उद्घाटन


सुर्खेत: बराहताल गाउँपालिका–२ रानीघाटमा दुई करोड ८० लाख लागतमा प्रहरीचौकीको भवन निर्माण गरिएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार पन्तले मंगलवार उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । सोही अवसरमा बोल्दै उनले भवनको जगेर्ना गर्न स्थानीय तह तथा नागरिकलाई अनुरोध गरे ।

‘प्रहरी कर्मचारीले आफ्नो भवनलाई केही भए मर्मत सम्भार गर्नुपर्छ ।’ उनले भने, ‘जनप्रतिनिधि र स्थानीय नागरिकले समेत यसलाई आफ्नै सम्पत्तिको रूपमा हेर्नुपर्छ ।’ आठ कोठे भवन २०७५ साल कार्तिक २६ गतेदेखि निर्माण थालिएको थियो । उक्त भवन डीएफआईडी (यूएनओपीएस) को आर्थिक सहयोगमा निर्माण भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रानीघाटचौकीमा हाल १० जना प्रहरी कार्यरत छन् ।