प्रकाशकीय...

एक दशकको यात्रा

गोपी अधिकारी (अध्यक्ष)

साझा बिसौनी दैनिक आजदेखि सफलतापूर्वक दश वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । अर्थात् एक दशक लामो यात्रा पूरा गरेको छ । यसको प्रकाशन मासिक म्यागजिनको रूपमा सुरु भएको थियो । पाठकको चाहना अनुसार साप्ताहिक हुँदै ६ वर्षअघि आजकै दिनबाट दैनिकमा रूपान्तरण गरेका थियौं । यो यात्रामा आम पाठक, विज्ञापनदाता र शुभचिन्तकहरूको महत्वपूर्ण योगदान छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेर सूचना प्रवाहको भरपर्दो संस्थाका रूपमा हामीले अघि बढाएका कदममा सदैव साथ दिने र हौसला प्रदान गर्ने सम्पूर्णप्रति आभारी छौं । नागरिकलाई सही सूचना दिने र सार्वजनिक निकायहरूमा सुशासन कायम गर्न निगरानी तथा खबरदारी गर्ने आफ्नो जिम्मेवारीबाट हामी कहिल्यै विचलित भएनौं र हुनेछैनौं ।

कर्णाली प्रदेश जो सबैभन्दा पिछडिएको छ । आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा विसंगतियुक्त र विकासमा निकै पछि परेको छ । यो प्रदेशका सामाजिक विकृतिको अन्त्य र पूर्वाधार विकासको पक्षमा हामीले ऐक्यबद्धता जनाउँदै निरन्तर पैरवी गर्दै आएका छौं । आगामी दिनमा पनि हाम्रो प्राथमिकता यही रहनेछ । प्रदेश र स्थानीय सरकार जनताका आँगनमा आइपुगेका छन् । यद्यपि तिनले जनअपेक्षा अनुसार काम गर्न सकिरहेका छैनन् । अनेक विकृति देखापरेका छन् । त्यसैले स्थानीय र प्रदेश सरकारलाई जनभावना अनुसार अगाडि बढ्न निरन्तर खबरदारी र उत्प्रेरित गर्न अबको हाम्रो मुख्य ध्यान हुनेछ । जनप्रतिनिधि तथा स्थानीय र प्रदेश सरकारको निगरानी गर्नु पनि हाम्रो कर्तव्य हुने ठानेका छौं । किनभने लोकतान्त्रिक संघीय गणतन्त्रलाई सफल बनाउन स्थानीय र प्रदेश सरकारको सफलता अपरिहार्य छ । यसका साथै कर्णाली प्रदेशको समृद्धिका लागि सम्भावनाका आधार र उपायहरू पहिचान गर्दै सामग्रीहरू प्रकाशन गर्ने जिम्मेवारी पूरा गर्नेछौं । सत्यको वकालत र नागरिक अधिकारका लागि निरन्तर खबरदारी हाम्रो मूलमन्त्र त छँदैछ ।

मोफसलको पत्रकारिता चुनौतीपूर्ण छ । दशक लामो यात्रा पार गर्दैगर्दा हामीले पनि अनेक आरोह–अवरोह छिचोलेका छौं । चुनौतीका बाबजुद् निरन्तर रूपमा पत्रिका प्रकाशन गर्न सफल भएका छौं । मासिक म्योगजिनमार्फत सुरु भएको यात्रा साप्ताहिक हुँदै दैनिक मात्रै भएन ब्रोडसिट (ठूलो आकार)को रंगिन पत्रिकामा परिणत भइसकेको छ । यद्यपि यतिबेला विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण उत्पन्न प्रतिकूल परिस्थितिले गर्दा केही समयका लागि सानो आकारमै पत्रिका प्रकाशन गर्न हामी बाध्य छौं । महामारीको अवस्था सहज भएसँगै पुनः रंगीन पत्रिका लिएर पाठकको घरदैलोमा आउने प्रतिबद्धता व्यक्त गर्दछौं ।

अन्तमा, साझा बिसौनी प्रकाशनदेखि नै यसलाई माया गर्ने, यसका सामग्रीलाई विश्वास गर्ने पाठक, विज्ञापन दिएर हाम्रो व्यापारिक साख बढाइदिने विज्ञापनदाता, यस पत्रिकालाई जनताको दैलोसम्म पु¥याउने वितरक तथा सधैं सल्लाह र सुझाव दिनुहुने हाम्रा सम्पूर्ण शुभेच्छुकहरूप्रति हामी कृतज्ञ छौं । साथै मेहेनत र कार्यकुशलताका साथ यस दैनिकलाई एघारौं वर्षमा ल्याउने पत्रिकामा आवद्ध पत्रकार र कर्मचारीलाई पनि धन्यवाद दिन चाहन्छौं । हाम्रो आगामी यात्रामा पनि यहाँहरूको यस्तै माया, विश्वास र सद्भाव पाउने अपेक्षा गरेका छौं । र हामी सबै समाचार र सबैका विचार समेट्दै अघि बढ्नेछौं ।

प्रकाशित मितिः   २९ असार २०७७, सोमबार १०:१४