असुरक्षित बस्ती

वर्षात्को समयमा बाढी र पहिरोको जोखिम बढी हुन्छ । हरेक वर्ष साना तथा ठूलो बाढी र पहिरोले क्षति पु¥याइरहेकै हुन्छ । त्यसमाथि कर्णालीको भौगोलिक अवस्थाले पनि यहाँका बस्तीहरू असुरक्षित बनाएको छ । यहाँको अधिकांश भू–भाग भिरालो छ । त्यहीँ बस्ती छ । मानिसहरू घर बनाएर बसेका छन् । यस्तो भिरालो भूगोलमा पहिरोको जोखिम बढी हुन्छ । अझ पछिल्लो समय विकासका नाममा भिरपाखाहरूमा डोजर लगाएर सडक निर्माण गर्दा त्यहाँको जमिनमा असन्तुलन पैदा हुने गरेको छ । त्यही असन्तुलित अवस्था वर्षात्को समयमा पहिरो बनेर बस्तीमा झर्ने गर्दछ । जुन श्रृंखला विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि सुरु भइसकेको छ । जाजरकोटको घटना त्यसैको एक दृष्टान्त हो ।

गत बिहीवार राति जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरो गयो । पहिरोले वडा नं. ४ को सार्कीगाउँमा दुई र वडा नं. ६ को धुमगाउँमा एक घर पु¥यो । घरमा सुतिरहेका ११ जनाको मृत्यु भयो तीन जना आइतवारसम्म पनि बेपत्ता छन् । सोही दिन बारेकोट–४ मै पहिरोले अर्को एक घर पुरियो । एक जना घाइते भए । यी त केही प्रतिनिधिमूलक घटनाहरू हुन् । आगामी भदौ र असोजसम्म यस्ता अनेक घटनाहरू हुने सम्भावनालाई नकार्न सकिदैन । विगतका उदाहरण पनि यस्तै छन् ।

उल्लेखित घटनाले मात्रै होइन विभिन्न समयमा गरिएका अध्ययनले पनि कर्णालीका अधिकांश बस्ती जोखिमयुक्त भएको देखाउँछ । जस्तो कि तत्कालीन कर्णाली विकास आयोगले २०७५ मा कर्णालीका जुम्ला, कालिकोट, मुगु र हुम्लामा सुरक्षित बस्ती कति छन् भनेर अध्ययन गरेको थियो । उक्त अध्ययनले कर्णाली प्रदेश बाढी र पहिरोको जोखिममा छ भन्ने देखाएको थियो । भिरालो जमिन र नदी कटानका कारण जोखिममा रहेको अध्ययनको निश्कर्ष थियो । त्यतिबेला चार जिल्लामा एक हजार २५ बस्तीमध्ये तीन सय १८ बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको पाइएको थियो । यो तथ्यांकले पनि कर्णालीका असुरक्षित बस्तीको अवस्था दर्शाउँछ ।

वर्षेनी प्राकृतिक विपद्ले नोक्सान पु¥याउँछ । तर यसबाट जोगिन आवश्यक सतर्कता भने अपनाउने गरिएको छैन । नागरिक पनि सतर्क छैनन् भने राज्यले पनि गम्भीरतापूर्वक लिएको देखिँदैन । जसका कारण हरेक वर्ष भौतिक तथा मानवीय क्षति बेहोर्नुपरिरहेको छ । अर्कोतर्फ घटना भइसकेपछि तत्काल उद्धार र उपचार तथा राहतमा ढिलाइ हुने गरेको छ । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढे पनि कर्णालीमा पूर्वतयारी तथा सतर्कताका उपाय अपनाइएको छैन । भौगोलिक विकटताका कारण उद्धारमा समेत कठिनाइ हुने गरेको छ । प्रदेशका सबै जिल्ला बाढी र पहिरोको जोखिममा रहेका छन् । जोखिमयुक्त स्थानको पहिचान गरी विपद् प्रतिकार्य लागि कस्तो योजना बनाउने भनेबारे पूर्व तयारी नहँुदा वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ । यसरी हुने क्षति रोक्न र नागरिकको असुरक्षित जीवनलाई सुरक्षित बनाउन राज्यले ध्यानै दिनैपर्दछ ।