चुनिए संसदीय समितिका अध्यक्ष

कर्णाली प्रदेशसभाका संसदीय समितिहरूले दुुई वर्षपछि पूर्णता पाएका छन् । गठन भएको २७ महिनापछि समितिहरूले नेतृत्व पाएका हुन् । समितिका अध्यक्ष निर्विरोध चुनिएका छन् ।

कर्णाली प्रदेशसभामा चार वटा विषयगत समिति छन् । अध्यक्षका लागि चार जनाको मात्रै उम्मेदवारी परेपछि आइतवार निर्विरोध चुनिएको घोषणा गरिएको हो । समितिका चारै जना अध्यक्षले आइतवार नै सपथग्रहण गरेका छन् । सभामुख राजबहादुर शाहीले समितिका अध्यक्षहरूलाई सपथग्रहण गराएका हुन ।

समितिका बैठकको अध्यक्षता ज्येष्ठताका आधारमा गर्ने गरिएको थियो । लामो समयसम्म नेतृत्व चयन नहुँदा समितिका कामहरू प्रभावित भएको भन्दै प्रदेशसभा सदस्यहरूले आवाज उठाउँदै आएका थिए । दलहरूले सर्वसम्मतिले नेतृत्व चयन गरेका छन् ।

अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, सामाजिक विकास समितिको अध्यक्षमा देवी ओली, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षमा दानसिंह परियार र सार्वजनिक लेखा समितिको अध्यक्षमा दिनबन्धु श्रेष्ठ चुनिएका हुन्  ।सिंह, वली र परियार नेकपाका प्रदेशसभा सदस्य हुन् भने श्रेष्ठ नेपाली कांग्रेसका हुन् । संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षलाई लेखा समितिको जिम्मेवारी दिने प्रचलन छ ।

प्रकाशित मितिः   २९ असार २०७७, सोमबार ०९:५८