प्रतिकार्यमा पूर्वतयारी

प्राकृतिक विपद्ले वर्षेनी क्षति पुर्‍याइरहेको हुन्छ । बाढी–पहिरो, आगलागी, चट्याङ्ग होस् या भूकम्प लगायतका प्रकोप । जसले दोहोरो नोक्सान पु¥याउने गर्दछ । एकातर्फ आर्थिक नोक्सानी गरिरहेको हुन्छ भने अर्कोतर्फ मानवीय क्षति पनि पु¥याइरहेको हुन्छ । प्रकृतिमा हुने असन्तुलन नै विपद्को मुख्य कारण । हो जसलाई पूर्ण रूपमा रोक्न वा हुनै नदिन सम्भव छैन । तर पूर्वतयारी गरेर आवश्यक सतर्कता अपनाउन र हुनसक्ने क्षति न्यूनीकरण गर्न भने सकिन्छ । गर्ने पनि त्यही हो । तर यही आवश्यक तयारी नगर्दा कर्णाली प्रदेशले हरेक वर्ष समस्या बेहोर्ने गरेको छ ।

समयमै पूर्वतयारी र प्रतिकार्य कार्ययोजना नबनाउँदा विपद् जोखिम न्यूनीकरणमा चुनौति थपिने गरेको छ । विशेषगरी असारदेखि असोजसम्म कर्णालीमा बाढी पहिरोले क्षति पु¥याउँछ । पहाडी भेगमा पहिरो र खोलानालाको आसपासमा बाढीको जोखिम हुन्छ । यस्ता विपद्बाट हुने क्षतिको तथ्यांक सामान्य छैन । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो चार वर्ष (२०७३–२०७७) को यो अवधिमा कर्णालीका विभिन्न जिल्लामा बाढीका कारण ४५ जनाको ज्यान गएको छ । बाढीले मात्रै एक अर्ब ७४ करोड ६७ लाख बराबर भौतिक संरचनालगायतमा नोक्सानी पु¥याएको छ ।

यस्तै पहिरोमा परेर चार वर्षको अवधिमा ३४ जनाको मृत्यु भएको छ भने ६ करोड ४३ लाख ८७ हजार बराबरको क्षति पुगेको छ । चट्याङ्गमा परेर चार वर्षको अवधिमा १५ जना र हावाहुरीका कारण १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो अवधिमा हावाहुरीले तीन करोड ७६ लाख ६२ हजार बराबरको क्षति भएको छ । प्राकृतिक विपद्ले मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचना तथा अन्नबालीहरूमा समेत ठूलो क्षति पुग्ने गरेको हो । प्रदेशका उच्च हिमाली जिल्लाहरूमा हिमपहिरोले पनि चार वर्षमा १७ जनाको ज्यान लिएको छ । दुई करोड ६३ लाख बराबरको क्षति पुगेको छ । कर्णालीमा प्राकृतिक विपत्तिसँगै आगलागीले उत्तिकै क्षति पुग्ने गरेको छ । चार वर्ष यताको तथ्याङ्क हेर्दा आगलागीका कारण ३६ जनाको मृत्यु भएको छ । आगलागीले एक अर्ब ६९ करोड ३७ लाख बढी छ क्षति गरेको छ । कर्णालीमा चालु आर्थिक वर्षको चैतयता मात्रै प्राकृतिक प्रकोपबाट १७ जनाको मृत्यु भइसकेको छ । बाढी र पहिरोका कारण झण्डै सात करोड रूपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुगेको छ ।

विपद्सँग जुध्न ठोस योजना अपरिहार्य छ । तर प्रदेशमा त्यसैको अभाव छ । प्राकृतिक विपद्का कारण हुन सक्ने क्षति, सम्भावित जोखिमको पूर्वानुमान तथा उद्धार र राहतका लागि ठोस योजना छैन । प्रकोप प्रतिकार्यका लागि राज्यको गम्भीरता नै देखिदैंन । न प्रतिकार्यका लागि पूर्वतयारीको योजना छ, न प्रकोपपछि उद्धार, राहत र व्यवस्थापनको दीर्घकालीन सोच । जसले गर्दा वर्षेनी विपद् आउने र नागरिकले ज्यान गुमाउने घटना दोहोरिन्छन् । यसलाई रोक्न पूर्वतयारी प्रभावकारी बनाउनु अपरिहार्य छ ।

प्रकाशित मितिः   २८ असार २०७७, आईतवार ०६:००