व्यवसायीद्वारा चरणवद्ध आन्दोलनको घोषणा

सुर्खेतः लकडाउनका कारण व्यवसायीहरुलाई परेको समस्यावारे राज्यका निकायको ध्यानाकर्षण गराउन सुर्खेत उद्योग वाणिज्य संघले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेको हो ।

व्यापार व्यवसाय ठप्प भएको बेला बैंकहरुले किस्ता तिर्न फोन गरिरहँदा तनाव झेल्नुपरेको व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारले निजी क्षेत्रलाई राहतका प्याकेज दिनुपर्नेमा उल्टै निचोरेको आरोप व्यवसायीहरुको छ ।

संघर्ष समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर आज (आइतवार) दिउँसो विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर मागपत्र बुझाइ एक घन्टा धर्ना दिने कार्यक्रम तय गरेको छ । संयोजक बस्नेतले त्यसपछि थप अर्को चरणको आन्दोलन घोषणा गरिने बताए ।

संघका महासचिव एवम् अटोमोबाइल व्यवसायी लक्ष्मण कँडेलले सरकारले लकडाउन केही खुल्ला बनाएदेखि बैंकबाट लिएको ऋणको किस्ता तिर्न तारन्तार फोन आइरहेको बताए । ‘दैनिक २० देखि ३० पटकसम्म बैंकबाट फोन आइरहेको छ,’ उनले भने, ‘लकडाउनका कारण व्यवसाय ठप्प छ, बैंकले किस्ता तिर्न फोन हानिरहेको छ, यस्तो बेला कसरी तिर्ने ?

यस्तै, संघका बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले अरु बेला बैंकलाई समयमा किस्ता तिरिरहेपनि लकडाउनमा व्यवसाय व्यापार ठप्प हुँदा कसरी तिर्ने भन्ने चिन्ता लागेको बताए । उनले व्यवसायीहरुलाई किस्ता तिर्ने कम्तीमा पाँच/छ महिनाको समय दिनुपर्ने माग गरे । कोरोना महामारीबाट आक्रान्त भएर व्यापार व्यवसाय नै ठप्प भएको बेला न्यूनतम मानवीयताको समेत ख्याल नगरी बैंकले व्याज र किस्ता बुझाउन बारम्बार दवाव दिनुले व्यवसायीहरु दुःखी भएको भन्दै निजी क्षेत्रको मागहरुलाई सम्बोधन गर्न व्यवसायीहरुले आग्रह गरेका छन् ।

प्रकाशित मितिः   २७ असार २०७७, शनिबार १८:३७