‘सरकारलाई सही बाटोमा हिँडायौं’

कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई सही बाटोमा हिँडाएको दाबी गरेको छ । कांग्रेसले शुक्रवार पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारले बाटो बिराइरहेका बेला प्रतिपक्षको हैसियतले सही बाटोमा हिँड्न खबरदारी गरेको जनाएको हो ।

दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षको भूमिकामाथि धेरैले आंशका गरे पनि आफूहरूले प्रतिपक्षको धर्म नछोडेको बताए । ‘हामीहरूले सरकारलाई सही बाटोमा लगेका छौं,’ उनले भने ‘प्रतिपक्षको भूमिका देखिएन भन्ने मान्यतालाई हामीले तोडेका छौं ।’ उनले बजेटका बेलामा प्रतिपक्षले संसद अवरुद्ध गर्ने र पछि सेलाउने गरेको भन्ने विषयमा सत्यता नभएको भन्दै सरकारले जनपक्षीय निर्णय गरेर आफूहरूका माग पूरा गरेपछि मात्रै सहमति गर्ने गरेको जिकिर गरे ।

‘बजेटको एउटा मात्रै अक्षर तलमाथि गर्नुप¥यो भने सरकार फेल हुन्छ भन्ने मानसिकता छ,’ नेता शाहीले भने, ‘तर हामीले त सरकारले रातो किताबमा ल्याएका धेरै कुरामा परिवर्तन गराएका छौं ।’ उनका अनुसार आगामी वर्षको बजेटमा सरकारले प्रतिपक्षले माग गरे बमोजिम प्रत्येक मन्त्रालयगत वार्षिक विकास कार्यक्रम ल्याएको बताए ।

साधारण चालु शीर्षक र वित्तीय व्यवस्थामा रहेको बजेट स्पष्टसँंग उल्लेख गरी ल्याएको, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट एकीकृत रूपमा पहिला पेश भएको बजेट बुकमा पूँजीगत कार्यक्रमलाई एकमुष्ठ शीर्षक अन्तर्गत राखिएको र बजेट प्रत्येक मन्त्रालयगत पेश भएको लगायत सबै मागहरू पूरा भएको बताए । विनियोजन विधेयकका यिनै त्रुटि सच्याउन माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्नु परेको उनले उल्लेख गरे ।

सरकारको अपरिपक्वताका कारण प्रत्येक वर्ष बजेट ल्याउने क्रममा किचलो पर्ने गरेको कांग्रेसले जनाएको छ । ब्रेकडाउन नगरेको बजेटलाई आफूहरूले स्वीकार नगर्ने भएका कारण हरेक वर्ष बजेट छलफलका क्रममा संसद् अवरुद्ध गर्नुपर्ने अवस्था आउने गरेको कांग्रेसले प्रष्ट्याएको छ ।

प्रकाशित मितिः   २७ असार २०७७, शनिबार ०५:०१