चलेनन् सार्वजनिक यातायात

सुर्खेतका यातायात व्यवसायीले तत्काल सवारीसाधन सञ्चालन नगर्ने बताएका छन् । सरकारले लकडाउनका कारण झण्डै चार महिनादेखि बन्द रहेका सार्वजनिक यातायात शुक्रवारदेखि सम्बन्धित जिल्लाभित्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीसँग छलफल नै नगरी सरकारले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै उनीहरूले तत्काल यातायात सञ्चालन गर्ने जनाएका हुन् ।

सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले सरकारले व्यवसायीसँग छलफलनै नगरी निर्णय गरेकाले तत्काल सवारीसाधन सञ्चालन नगरिएको बताए । उनले लकडाउनका कारण यातायात व्यवसायी अहिले किस्ता तिर्न नसक्ने अवस्थामा भएको भन्दै सरकारले त्यसतर्फ ध्यान नदिएको बताए । केही व्यक्ति मात्रै राखेर यातायात सञ्चालन गर भन्नु यातायात व्यवसायीको हितमा नभएको उनको भनाइ छ । ‘सरकारले मापदण्ड अनुुसार यातायात सञ्चालन गर्न भनेको छ । यस्तो बेला सरकारले गरेको निर्णयले व्यवसायीलाई झन् अहित हुने देखिएको छ,’ अध्यक्ष सापकोटाले भने ।

यातायात सञ्चालनका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र यहाँका यातायात व्यवसायीबीच छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार यातायात व्यवसायीले प्रशासनसँगको छलफलमा तत्काल सवारी साधन सञ्चालन गर्न नसकिने बताएका छन् । मध्यपश्चिम यातायात सेवा प्रालिका अध्यक्ष विष्णुु खड्काले सरकारले भने अनुसार अहिले नै यातायात सञ्चालन गर्न सम्भव नभएको बताए ।

सरकारले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको भए पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सञ्चालन गर्ने वातावरण नभएको भन्दै सरकारी निर्णयको अवज्ञा गरेको हो । तत्कालको अवस्थामा सार्वजनिक सवारी सञ्चालन गर्न सम्भव नभएको महासंघले जनाएको छ । बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्था लगायतको माग सम्बोधन नभएकाले तत्कालै कुनै खालका सार्वजनिक सवारी नचलाउने महासंघले जनाएको छ । सरकारले स्वास्थ्य सावधानीसहित तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने र सीट क्षमताको आधा मात्रै यात्रु चढाउन पाउने गरी यातायात सञ्चालन गर्नुपर्ने बताएको छ ।