विपद्ले वर्षेनी वितण्डा, प्रतिकार्यमा बेवास्ता

कर्णालीमा प्राकृतिक विपद्ले वर्षेनी जनधनको क्षति हुने गरेको छ । मनसुन सुरु भएसँगै बाढीपहिरोजन्य प्रकोपले ठूलो नोक्सानी पुग्ने गरेको हो । हावाहुरी, चट्याङलगायतका अन्य प्राकृतिक विपद्ले पनि कर्णालीमा उत्तिकै जनधनको क्षति हुँदै आएको छ । सम्बन्धित निकायले समयमै पूर्वतयारी र प्रतिकार्य कार्ययोजना नबनाउँदा विपद् जोखिम न्यूनीकरणमा चुनौति थपिने गरेको छ ।
विशेषगरी असारदेखि असोजसम्म कर्णालीमा बाढी पहिरोले क्षति पुर्‍याउँछ । पहाडी भेगमा पहिरो र खोलानालाको आसपासमा बाढीको जोखिम हुन्छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो चार वर्ष (२०७३–२०७७) को यो अवधिमा कर्णालीका विभिन्न जिल्लामा बाढीका कारण ४५ जनाको ज्यान गएको छ । बाढीले मात्रै एक अर्ब ७४ करोड ६७ लाख बराबर भौतिक संरचनालगायतमा नोक्सानी पु¥याएको छ ।

यस्तै पहिरोमा परेर चार वर्षको अवधिमा ३४ जनाको मृत्यु भएको छ भने ६ करोड ४३ लाख ८७ हजार बराबरको क्षति पुगेको छ । चट्याङमा परेर चार वर्षको अवधिमा १५ जना र हावाहुरीका कारण १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो अवधिमा हावाहुरीले तीन करोड ७६ लाख ६२ हजार बराबरको क्षति भएको छ ।

प्राकृतिक विपद्ले मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचना तथा अन्नबालीहरूमा समेत ठूलो क्षति पुग्ने गरेको हो । प्रदेशका उच्च हिमाली जिल्लाहरूमा हिमपहिरोले पनि चार वर्षमा १७ जनाको ज्यान लिएको छ । दुई करोड ६३ लाख बराबरको क्षति पुगेको छ । कर्णालीमा प्राकृतिक विपत्तिसँगै आगलागीले उत्तिकै क्षति पुग्ने गरेको छ । चार वर्ष यताको तथ्याङ्क हेर्दा आगलागीका कारण ३६ जनाको मृत्यु भएको छ । आगलागीले एक अर्ब ६९ करोड ३७ लाख बढी छ क्षति गरेको छ ।

कर्णालीमा चालु आर्थिक वर्षको चैतयता मात्रै प्राकृतिक प्रकोपबाट १७ जनाको मृत्यु भइसकेको छ । बाढी र पहिरोका कारण झण्डै सात करोड रूपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुगेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले बाढीपहिरोले वर्षेनी जनधनको ठूलो क्षति हुने गरेको बताए । बाढीपहिरोको जोखिममा रहेका ठाउँहरूमा सचेत गराउने, संयन्त्रमार्फत सूचना दिने, क्षतिको विवरण संकलन, राहत र उद्धारलगायतका काम प्रहरीले गरीरहेको जनाए । यस पटक पनि विपद्का घटना घट्ने पूर्वानुमान गरेर प्रहरी ‘अलर्ट’ अवस्थामा रहेको उनले जानकारी दिए ।

ठोस योजना छैन

प्रदेशमा प्राकृतिक विपद्का कारण हुन सक्ने क्षति, सम्भावित जोखिमको पूर्वानुमान तथा उद्धार र राहतका लागि ठोस योजना छैन । प्राकृतिक प्रकोपले ठूलो नोक्सानी पु¥याउँदै आए पनि त्यसको प्रतिकार्यका लागि प्रदेश, जिल्ला तथा स्थानीय तहहरूले क्षतिबाट बच्न ठोस योजना बनाउने गरेका छैन ।

कर्णाली प्रदेश सरकारसँग विपद् प्रतिकार्यका लागि पूर्वतयारी योजना छैन । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति छ । यो समितिको काम मातहतका निकायलाई निर्देशन दिनेमा मात्रै सीमित छ । असार सकिनै लाग्दा केही दिन पहिले बसेको समितिको बैठकले मातहतका विपद् व्यवस्थापन कलस्टरहरूलाई प्रतिकार्य योजना बनाउन निर्देशन दिएको छ ।

जिल्ला र स्थानीय तहहरू भर्खरमात्रै प्रतिकार्य योजना बनाउने तयारीमा लागेका छन् । मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले प्रतिकार्य योजना बनाएर पेश गर्न भनिएको बताए । ‘हामीले प्रतिकार्य योजना मागेका छौं,’ उनले भने, ‘केहीले पठाउनु भएको छ । कसैले बनाउँदै हुनुहुन्छ ।’ प्रदेश विपद् व्यवस्थापन समितिले सम्भावित जल तथा मौसमजन्य जोखिम न्यूनीकरणका लागि पूर्वतयारी योजना अद्यावधिक गरी कार्यान्वयन गर्न सबै माहतका कलस्टरहरूलाई भनेको थियो । बाढीपहिरोले क्षति पु¥याउन थालिसक्दा असार मसान्तसम्म जिल्ला तथा स्थानीय तहहरूले प्रतिकार्य योजना नबनाएका हुन् ।

विपद् व्यवस्थापन कार्यकारी समितिका अनुसार पानीको बहाब बढ्ने नदी खोलानालाको मौसम पूर्वानुमानका बारेमा जानकारी गराउन जल तथा मौसम विज्ञान विभाग कार्यालय सुर्खेतलाई जिम्मेवारी दिइएको छ । भेरी र कर्णाली नदी जलाधारका भेरी नदीको रिम्ना, सानोभेरी नदीको सिम्लीघाट, भेरी नदीको सीमा लालीघाट, असारघाट र दैलेखको लोहोरेखोलाको मौसम पूर्वानुमानका विषयमा नागरिकलाई समयमै जानकारी गराइने गरिएको जनाइएको छ ।

पूर्वतयारीमा ढिलाइ

वर्षात् सुरु भएपछि प्राकृतिक प्रकोपका घटनाले जनधनको क्षति हुन थालिसकेको छ । जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहका विपद् व्यवस्थापन समितिहरूले अझै प्रतिकार्यका लागि योजना बनाएका छैनन् । वैशाख–जेठ महिनामै ठोस योजना बनाइसक्नुपर्नेमा स्थानीय तहले प्रतिकार्यका लागि तयारी गर्न निकै ढिलाइ गरेका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले नगरको कुन क्षेत्रमा बाढी आउँदैछ र पानी पर्छ भन्ने पूर्व सूचना दिने प्रणाली जडानका लागि टावर बनाउन लागिएको बताइन् । राजमार्गभन्दा तल्लो भागमा डुुबान पर्ने जोखिम भएकाले रबर बोर्ड व्यवस्थापन गर्न लागिएको उप–प्रमुख भण्डारीले जानकारी दिइन् । वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण अव्यवस्थित बसोबासले दक्षिणतर्फको भू–भागमा डुवान हुने गरेको छ । यसक्षेत्रमा निकास नहुँदा पानी पर्ना साथ डुवानको जोखिम हुने गरेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नागरिकहरूलाई सचेत गराउने, उद्धारका लागि नेपाली सेना, प्रहरी तयारी अवस्थामा राख्ने लगायतका काम भइरहेको जनाए । स्थानीय तहहरूलाई विपद् प्रतिकार्यका लागि विस्तृत योजना बनाएर पठाउन भनेका छौं,’ उनले भने, ‘सोही अनुसार संयुक्त रूपमा प्रतिकार्यमा जुट्ने गरी तयारी भइरहेको छ ।’

यस्तै, पहिरोका कारण कर्णाली राजमार्गलगायत अन्य सडकहरू अवरोध हुने गरेका छन् । पहिरोले अवरोध सडक समयमै खुलाउन नसक्दा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता गोपाल शर्माले मन्त्रालयले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धीका प्रतिकार्य योजना तयार गरे पनि पहिरोले सडकमा हुने अवरोध खुलाउने विषयमा भने कुनै ठोस योजना नबनाएको बताए ।

प्रदेशका प्रमुख तथा सहायक सडकहरूमा वर्षायामको समयमा हुने अवरोध हटाउन आवश्यकपर्ने स्रोत साधनहरू पूर्वतयारी अवस्थामा राख्न मन्त्रालयले मातहतका कार्यालयहरूलाई निर्देशन भने गरिसकेको उनले जानकारी दिए ।

एकैदिन नौ जनाको मृत्युु

जाजरकोट र रुकुम–पश्चिममा पहिरोले पुरिँदा नौ जनाको ज्यान गएको छ । बिहीवार राती गएको पहिरोले जाजरकोटको बारेकोटमा घर पुुरिँदा सात जना र रुकुुम–पश्चिममा पहिरोमा परेर दुुई जनाको मृत्युु भएको हो । बारेकोट पहिरोमा परेका सात जना बेपत्ता छन् ।

रुकुम–पश्चिममा मृत्युु हुनेमा एकै घरका आमा–छोरा हुन् । जिल्ला प्रशासन कार्यालय रुकुुम–पश्चिमका अनुसार आठबिसकोट नगरपालिका–३ का २८ वर्षीया सीता दमाई र उनका ६ वर्षीय छोरा हाविल परियारको पहिरोमा परी ज्यान गएको हो ।

जाजरकोटका सहायक प्रमुुख जिल्ला अधिकारी विष्णुु साहनीका अनुसार बारेकोटमा गाउँपालिका–४ को सार्कीगाउँमा पहिरोले दुई घर पुरेका छन् । कलुु सार्की र गोपाल सार्कीको घर पहिरोले भत्काउँदा १२ जना पुरिएका थिए । जसमध्ये शुक्रवार साँझ यो समाचार तयार गर्दासम्म सात जना मृत फेला परेका छन् । बेपत्ताको खोजीकार्य भइरहेको प्रजिअ साहनीले जनाए । उनका अनुसार बारेकोट–६ स्थित धुमगाउँमा पहिरोले एक घर पुरिँदा दुुई जना बेपत्ता भएका छन् भने एक जना घाइते छन् ।

प्रकाशित मितिः   २७ असार २०७७, शनिबार ०६:०२