जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिइने

काठमाडौंः झन्डै चार महिनादेखि बन्द रहेका सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् । सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिइने जनाएको हो ।

सरकारले मन्त्रिपरिषदका बैठकका निर्णय बिहीवार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए । अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन । तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सवारी एकअर्का जिल्लामा जान सक्छन् । ‘जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिने । तर अन्तरजिल्ला चल्न पाउँदैनन्,’ उनले भने, ‘काठमाडौं उपत्यकाभित्र र सम्बन्धित जिल्लाभित्र यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ ।’

उनले भाेली (शुक्रवार)देखि सार्वजनिक यातायात चलाउन सकिने पनि बताए । निजी सवारी साधन मोटरसाइकलसमेत जोररबिजोर प्रणालीमा चलाउन सकिने खतिवडाको भनाइ छ । काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनुपर्नेछ । तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने र सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने छ । यात्रुवाहक बसमा सिटको आधा मात्रै यात्रु चढाउन पाइनेछ ।

प्रकाशित मितिः   २५ असार २०७७, बिहीबार १७:५९