संसदीय समितिले दुई वर्षपछि नेतृत्व पाउँदै

सुर्खेतः कर्णाली प्रदेशका संसदीय समितिहरुले पूर्णता पाउने भएका छन् । ‘मिनी पार्लियामेन्ट’ भनेर चिनिने संसदीय समितिहरु गठन भएको २७ महिनापछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हो । विषयगत समितिको बैठकमा हालसम्म सदस्यमध्येबाट जेष्ठताका आधारमा अध्यक्षता गर्ने गरिएको छ ।  संसदीय समितिहरुको अध्यक्षका लागि यही असार २८ गते निवार्चन गर्न लागिएको हो । बिहीवार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी असार २८ गते दिउँसो १ बजे समितिका अध्यक्षहरुको निर्वाचन हुने जनाएको छ ।

कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसार समितिको अध्यक्ष पदको निर्वाचन गर्न लागिएको सचिवालयले जानकारी दिएको छ । कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ को उपनियम ३ सँग सम्बन्धित अनुसूची ४ बमोजिम ढाँचामा एकजना प्रस्तावक र एक जना समर्थक राखी समितिको अध्यक्ष पदको उम्मेदवारको मनोनयन पत्र र मन्जुरीको हिस्सा असार २७ गते ५ बजेसम्म प्रदेशसभा सचिवसमक्ष बुझाई सक्नुपर्नेछ ।

कर्णाली प्रदेश सभामा चार वटा संसदीय समिति छन् । हाल जेष्ठताको आधारमा अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षता नेकपाका प्रदेशसभा सदस्य अम्मरबहादु थापा, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता नेकपाका पदमबहादुर रोकाय, सामाजिक विकास समितिको अध्यक्षता नेकपाकै सांसद राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्षता नेपाली कांग्रेसका सांसद दीनबन्धु श्रेष्ठले गर्दै आएका छन् । २०७४ चैतमा विषयगत समितिहरु गठन भएका थिए ।

प्रकाशित मितिः   २५ असार २०७७, बिहीबार १८:२८