हिलाम्मे सडकले सास्ती
जुम्ला : कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधन मात्रै होइन पैदल यात्रुले समेत सकस खेप्दै आएका छन् । जनताको सास्तीमा सरकार भने मुकदर्शक भएको छ ।
सडक स्तरोन्नतिका लागि हरेक वर्ष करोडौं बजेट विनियोजन हुन्छ, तर कामै नभएर फ्रिज हुने गरेको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । उनले भने, ‘यो सडक प्रदेश र संघीय सरकारले निर्माण गर्ने भनिएकाले स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन । बजेट खर्च गरेको खण्डमा बेरुजु हुन्छ ।’
हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीको भनाइ पनि उस्तै छ । ‘गाउँपालिका अघिको जुगाड खण्ड सधैं हिलाम्मे हुन्छ । ग्राभेलका लागि सधैं ठेकेदार पक्षसँग भनेका हुन्छौं, बन्दैन ।’ यसले गर्दा जनप्रतिनिधिले सधैं गाली खाने गरेको अध्यक्ष शाहीले बताए । उनका अनुसार स्थानीय सरकारले बजेट खर्च गर्न मिल्दैन । अघिल्लो वर्ष हिलो पन्छाउनका लागि न्यून रकम खर्च गर्दा महालेखा नियन्त्रक कार्यालयले बेरुजु देखाएको थियो । संघीय सरकारअन्तर्गत सडक ग्राभेलका लागि टेण्डर भएको तीन वर्ष बित्न लाग्दा पनि ग्राभेल हुन सकेको छैन ।
कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडकखण्डको नाग्मदेखि आचार्य लिहीसम्मको १९ किलोमिटर ग्राभेल गर्ने भनिए पनि करिब नौ किलोमिटर मात्रै ग्राभेल हुँदा सडक यात्रा कष्टकर बनेको छ । हिम्दुङथोकर–हिरा–नमिता जेभीले नाग्मबाट बड्कीसम्मको १३ किलोमिटर सडक सात करोड ९० लाख ९५ हजार एक सय ७७ रूपैयाँमा थोदुङ कन्स्ट्रक्सनले ग्राभेल गर्ने जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले दशैंअघि नै काम सम्पन्न गर्नुपर्ने थियो । बड्कीबाट आचार्यलिहीसम्मको साढे चार किलोमिटरको काम भने सम्पन्न भइसकेको छ ।
सडक स्तरोन्नति नहुँदा यात्रुले थप समस्या भोग्दै आउनुपरेको स्थानीय डिल्ली तिवारीले बताए । उनका अनुसार सिंजा क्षेत्रमा दिनभरमा तीन किलोमिटर समेत गाडी गुड्न सक्दैनन् । यातायात समस्याकै कारण माथिल्लो सिंजा र मुगुका यात्रुहरू बीच बाटोमै बास बस्न बाध्य छन् । नाग्म–गमगढी राजमार्गको तल्लो क्षेत्रमा पनि समयमै मापदण्डअनुसारको ग्राभेल नहुँदा यात्रुलाई सास्ती भएको छ ।
प्रकाशित मितिः २४ असार २०७७, बुधबार १०:०२
साझा बिसौनी ।