प्रदेश अस्पतालमा थपियो पीसीआर मेसिन

कर्णाली प्रदेश अस्पतालमा कोरोना भाइरस ‐कोभिड–१९) परीक्षणका लागि पीसीआर मेसिन थपिएको छ । प्रदेश अस्पतालले सोमवारदेखि नयाँ पीसीआर मेसिन सञ्चालनमा ल्याएको हो । यसअघि सञ्चालनमा रहेको मेसिन बिग्रदा डेढ सातादेखि सुर्खेतमा कोरोना परीक्षण हुन सकेको थिएन ।

यहाँ परीक्षण बन्द भएपछि सुर्खेतबाट दैलेख, जुम्ला र नेपालगञ्ज परीक्षणका लागि पठाउनुु परेको थियो । नयाँ मेसिन जडान गरेसँगै अबदेखि सुर्खेतमै निरन्तर परीक्षण हुनेछ । पछिल्लो पटक ल्याइएको मेसिनले एक पटकमा ९६ वटा नमुना स्वाब परीक्षण गर्न सक्छ । उक्त मेसिन २४ लाख ९० हजार रूपैयाँमा खरिद गरिएको हो । प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले नयाँ मेसिन जडान गरेर परीक्षण सुुरु गरिएको जानकारी दिए । उनले भने, ‘मेसिन बिग्रिदा परीक्षण प्रभावित भएको थियो । अब नियमित परीक्षण हुन्छ ।’

प्रदेश अस्पतालमा यसअघि प्रयोग गरिँदै आएको पीसीआर मेसिन अझै बनिसकेको छैन । डा. खड्काले मेसिन मर्मतका लागि पहल गरिरहेको बताए  । सुर्खेतको प्रयोगशालाबाट विशेष गरेर सुर्खेतसहित सल्यान, जाजरकोट, दैलेख र रूकुम–पश्चिमबाट सङ्कलन गरिएका स्वाब परीक्षण गर्ने गरिएको थियो । अहिले सोही क्षमताका मेसिन दैलेख र रूकुम–पश्चिमा पनि एक–एक वटा थपेर परीक्षण थालिएको छ ।

प्रकाशित मितिः   २४ असार २०७७, बुधबार ०९:४९